नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — आइएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ । सन् २०११ मा सुरू भएको देशको पहिलो र एक्लो अन्तर्राष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।

जनकपुर संस्करणबारे जानकारी दिने उद्देश्यले शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिभल सुरू गरेको केही वर्षदेखि नै आफूहरुलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताए ।

‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवद्र्धन गर्ने र ज्ञान उत्पादन एवम् प्रसारणमा पनि महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौं । अहिले आएर फेस्टिभलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुसी लागेको छ ।’ लामो समय बौद्धिक एवं राजनीतिक जागरणको केन्द्र रहेको तर अहिले त्यो छवि गुमाउँदै गएको जनकपुरमा साहित्य महोत्सव आयोजना गरेर यसको पुनरूत्थानमा सहयोग पुर्‍याउनु आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ ।

नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए । ‘त्यही पाटोलाई उजागर गर्न फेस्टिभल आयोजना गर्न लागिएको हो । विगतको राजनीतिक अन्योलता एवं अस्थिरताका कारण जनकपुरको नकारात्मक छवि स्थापित भएको थियो,’ उनले भने, ‘तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन् । ती परिवर्तनलाई हामी यसै फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’ साथै साहित्यक पर्यटनमार्फत जनकपुरको प्रवद्र्धन गरी आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु पनि फेस्टिभलको उद्देश्य रहेको उनको भनाइ छ ।

तीन दिन चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन कांग्रेस नेता एंव सांसद प्रदीप गिरीले दिनेछन् । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले जनकनन्दिनी सीतामाथि विचार राख्नेछन् ।

‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक तथा पत्रकार सुधीर शर्मासँग बहस गर्नेछन् । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले उक्त सत्र सञ्चालन गर्नेछन् । ‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महङ्खवपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चापरिचर्चा हुनेछ ।

प्रकाशित : कार्तिक १५, २०७६ १३:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तस्बिरमा हेरौं, उत्तरी सीमाको विकास

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — रसुवागढी नाकालाई चीनको संघीय सरकारले दक्षिण एशिया प्रवेश गर्ने मूलद्वार मानेको छ । त्यसैले भूकम्पपछि चीनतर्फको रसुवागढी नाका र केरुङमा भौतिक पूर्वाधारको विकास गरेको छ ।

नाकाभन्दा पारिपट्टि चिनियाँ भू-भागमा आधुनिक भवन बनेको छ । अध्यागमन र भन्सारका भवनहरूमा आधुनिक उपकरण जडान भएका छन् । नाकाबाट केरुङ बजारसम्म पुग्न दुई लेनको चिल्लो कालोपत्रे सडक निर्माण गरेको छ । केरुङसम्म पुग्ने सडकमा पहिरो छल्नका लागि ठाउँ ठाउँमा सुरुङ र आकाशे पुल हालिएको छ । सडक भित्ताबाट झर्ने ढुङ्गा रोक्नको लागि तारजाली लगाइएको छ ।

यस नाकालाई चीन सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गरिरहेको छ । त्यसैले आफ्नो भूभागतर्फ तीव्र रूपमा भौतिक विकास गरिरहेको छ ।रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि नेपालतर्फ सीमामा भौतिक पूर्वधारको अवस्था नाजुक छ । पानी पर्दा पहिरो, घाम लाग्दा धूलो उड्छ । हावा चल्दा माथिबाट ढुंगा खस्छ । नाकामा प्रहरीले टहराबाट सुरक्षा जाँच गर्ने गरेका छन् ।

केरुङ भूकम्प अघिसम्म सामान्य बजार मात्र थियो । अहिले निकै अग्ला–अग्ला आधुनिक घरहरु निर्माण भएका छन् । सरकारी कार्यालय थपिएका छन् । सामान गोदाम गर्नको लागि ठूला–ठूला ड्राइर्पोट निर्माण भइरहेको छ । सडक सफा राख्नुको साथै जेब्रा क्रस ट्राफिक लाइट राखिएको छ । सुविधा सम्पन्न होटलहरु निर्माण भएका छन् भने हुनेक्रम जारी छ । नेपालको रसुवागढी नाकाबाट केरुङसम्मको दुरी २४ किलोमिटर छ ।


प्रकाशित : कार्तिक १५, २०७६ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT