राष्ट्रकविलाई मदन–शिला

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषा–साहित्यको प्रवर्द्धनमा योगदान पुर्‍याएबापत् राष्ट्रकवि माधव घिमिरेलाई बिहीबार मदन–शिला प्रतिष्ठानले यस वर्षको ‘मदन–शिला स्रष्टा सम्मान’ प्रदान गरेको छ । ‘मदन–शिला साहित्यिक पत्रकारिता पुरस्कार’ भने चन्द्रकुमार राई र अच्युतरमण अधिकारीले पाए । 

वाङ्मय शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले बिहीबार लैनचौरस्थित राष्ट्रकवि निवासमा घिमिरेलाई १ लाख १ हजार रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गरे । त्यस्तै राई र अधिकारीलाई जनही ५० हजार ५ सय रुपैयाँ र सम्मानपत्र प्रदान गरे । संस्कृतिविद् जोशीले नेपाली साहित्यको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान स्वर्ण अक्षरले लेखेजस्तै रहेको दाबी गरे । खण्डकाव्य, गीत, गीतिनाटक, निबन्धजस्ता विधामा राष्ट्रकविले योगदान दिएका छन् ।

त्यस्तै, पत्रकार अधिकारीले नेपाली भाषा साहित्यको समुन्नतिमा ‘उन्नयन’ त्रैमासिकमार्फत् योगदान दिँदै आएका छन् भने अर्का पत्रकार राई दार्जिलिङबाट प्रकाशित ‘दियालो’ सँग सम्बद्ध छन् । घिमिरे, अधिकारी र राईको योगदानबारे प्रा.डा. वासुदेव त्रिपाठी, महेश प्रसार्इँ, प्रतिष्ठानका मणिदेव भट्टराईलगायतले पनि चर्चा गरेका थिए । ७ वर्षदेखि मदन–शिला प्रतिष्ठानले नेपाली भाषा–साहित्य प्रवर्द्धनमा योगदान दिने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ ।

प्रकाशित : कार्तिक ८, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गायक हेमन्त शर्माको फ्लास ब्याक : ‘गायनको पहिलो खुड्किलो तिहार’

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल्यकालमा सबै भन्दा प्रिय लाग्ने चाड तिहार हो । प्रिय लाग्नुमा देउसीभैलो एउटा हो । दसैं दक्षिणा पाइन्छ भनेर मन परे पनि केटा मान्छे भएकाले धेरै दक्षिणा पाइँदैन थियो । त्यसका लागि मामा घर नै जानुपर्थ्यो । 

दिदीबैनीको दक्षिणा गन्दैमा र ईर्ष्या गर्दैमा ठिक्क हुन्थ्यो । तिहार किन पनि बढी मन पर्ने भने छुट्टी तीन दिन हुन्थ्यो । देउसीभैलो खेल्दा हरेकबाट सुका, मोहर अलिपछि विद्यालय पढ्दा एक रुपैयाँ, पाँच रुपैयाँ हाराहारीसम्म पाइयो । त्यो बाँडफाँड गरिन्थ्यो । रातिसम्म सबैजना मिलेर देउसीभैलो खेलेर रमाइलो गरिन्थ्यो । रमाइलो के भने यसमा जाति धर्म भन्ने हुँदैन थियो । यो कारणले तिहार बाल्यकालमा अति मन पर्थ्यो ।

देउसीभैलोको महत्त्व धेरै हदसम्म कलाकारलाई कलाकार बनाउने एउटा खुड्किलो अवश्य हो । जो बाल्यकालमा देउसी खेल्दाखेल्दै गीत गाइरहेको छैन, नाचिरहेको छैन भने ऊ पछि आएर कलाकार बनेको न्यून भेटिन्छ । कलाकार बनेका जोसुकै पनि बाल्यकालमा देउसीभैलो खेल्दा नाचेको, गाएको पाइन्छ । म पनि देउसीभैलो खुबै खेल्थे । म भट्याउँथेँ ।

त्यतिबेला गीत गाउनेभन्दा पनि बढी भट्याइन्थ्यो । भट्याउनेको बेग्लै मनितो हुन्थ्यो । ११ वर्षको उमेर हुँदा जन्मघर नवलपरासीको त्रिवेणीमा देउसी खेल्ने गर्थे । १२ वर्षको उमेरमा भैरहवा सिफ्ट भइयो ।

त्यसपछि देउसीभैलो भैरहवामा खेल्न थालियो, जहाँ भट्याउने काम थोरै हुन्थ्यो । गीत गाउनेभन्दा नाच्ने बढी हुन्थ्यो । क्यासेट बजाएर नाचिन्थ्यो । १२ देखि १६ वर्षको उमेरसम्म यसरी नै देउसीभैलो खेलियो । गीत थोरै गाइयो । बाजा हुँदैन थिए ।

भैरहवामा कमै मादल प्रयोग गरिन्थ्यो । १६ देखि २०/२१ वर्ष उमेरको देउसी रमाइलो हुन्थ्यो । यो बेलाको देउसी सुन्ने हेर्नेलाई पनि मज्जा हुन्थ्यो । देउसीभैलो पनि आकर्षक र व्यावसायिक हुन थाल्यो । गितार, ड्रम सेट हुन्थ्यो । हाम्रो ‘अंकुरण’ समूह पनि थियो । यो ब्यान्डजस्तै हो । यसमा सबै प्रमुखजस्तै थियौं । यो टिममा सुरेश पौडेल बेस्ट गितारिस्ट थिए । ‘चरी भरर...’ गीत गाउने मनोज श्रेष्ठ उतिबेला पनि गाउँथे ।

हेमन्त कार्कीले पनि राम्रो गाउनुहुन्थ्यो । तर अहिले उहाँ हामीमाझ हुनुहुन्न । सानो ट्रक हुन्थ्यो । त्यसमा ड्रम सेट, गितार, ढोलक हुन्थ्यो । म गीत गाउँथेँ । भट्याउँथेँ । मलाई लोक गीतसंगीत अरू साथीहरूभन्दा अली बढी मन पर्थ्यो । भट्याएर एकछिनपछि हिन्दी गीत पनि गाउँथ्यौं ।

कुन–कुन घरमा देउसीभैलो खेल्ने भनेर पूर्वसूचना दिन्थ्यौं । त्यहीअनुसार देउसीभैलो खेल्थ्यौं । यो ०५०/०५१ सालतिरको सम्झना हो । यो बेला भैरहवामा नेपाली गीत गाउँछन् भन्दा सबै छक्क पर्थे ।

बढी नै हिन्दी गीत बज्थे यहाँ । हामीले नेपाली र हिन्दी गर्दा गर्दै पूरै नेपाली गीत बज्ने वातावरण बनायौं । अंकुरणको देउसीबारे तिहारमा चर्चा गर्नेहरू धेरै नै हुन्थे ।

तिहार आउनु झन्डै महिना दिनअघिबाट देउसी खेल्नेबारे अभ्यास गरिन्थ्यो । १५ जनाको टिममा ५ जनाजति गीत गाउने थियौं । दक्षिणा ५ सय पाउँदा दंग हुन्थ्यौं । त्यतिबेला त्यो ठूलै रकम जस्तो लाग्थ्यो । दिलदारहरूले चाहिँ १ हजारसम्म दक्षिणा दिन्थे ।

नाङ्लामा सजाएर दान दिँदा आकर्षक लाग्थ्यो । त्यसमा पनि नयाँ नोट सजाएर राखेको सारै मन पर्थ्यो । हामीले सबैभन्दा बढी एकपटक २७ हजार रुपैयाँसम्म जम्मा गरेका थियौं । यो म्युजिकल सामग्री किन्न खर्च गर्‍यौं ।

हामीले अंकुरण समूहबाट १० वटा गीत राखेर जीवन शैली भन्ने गीतिसंग्रह नै तयार पार्‍यौं । जसमा २ वटा गीत मैले पनि गाएको थिएँ ।त्यति बेलाको देउसी भैलोको ठूलो महत्त्व हुन्थ्यो । मेरो गायक बन्ने एक खुड्किलो भनेको तिहार पनि हो ।

अहिले पछिल्लो ३/४ वर्षयता देउसीभैलोमा त्यति गाँसिएको छैन । स्कुल कलेज पढ्दा देउसीभैलो खेलेको पैसाले पिकनिक गइन्थ्यो । पछि समूह बनाएर देउसी खेल्दा जम्मा गरेको पैसा समूहमै सामान जोड्न थाल्यौं ।

अहिले पहिलाको जस्तो देउसीभैलो छैन । संस्कृति हराउँदै गएको छ । अहिलेको पुस्ताले जे सुन्यो । उनीहरूका लागि यो कल्चर हो । कल्चर हराउनु विडम्बना हो ।
प्रस्तुति : विमल खतिवडा

प्रकाशित : कार्तिक ८, २०७६ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT