कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रयोग हुनै छाडे धर्मशाला

‘ऐतिहासिक स्थल, कला र संस्कृति तथा सम्पदाको जगेर्ना गर्नुपर्ने दायित्व लिएका स्थानीय तहहरुले पनि वास्ता गरेनन्’
तृप्ति शाही

(बैतडी) — दशरथचन्द नगरपालिका ४ का वीरबहादुर चन्द पूर्व प्रहरी हुन् । ८० वर्षको उमेरमा पनि फुर्तिला देखिने उनले जागिरको दौरान जिल्लाजिल्लामा जाने क्रममा कैयौं पटक धर्मशालाहरूमा बसेको अनुभव सुनाए । 

प्रयोग हुनै छाडे धर्मशाला

चन्दको पालामा अहिलेको जस्तो सडक सुविधा, ठाउँठाउँमा बास बस्ने होटलहरू थिएनन् । ‘टाढाटाढाको गन्तब्यमा पुग्ने क्रममा धर्मशालाहरूमै बास हुन्थ्यो’ उनले भने ‘त्यस बेला बाटोमा बस्नुपर्ने धर्मशालाको विकल्प हुन्थेन ।’


एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दा धर्मशालामा रात विताएका सम्झनाहरू यहाँका बुढापाकाहरू अहिले पनि सुनाउँछन् । ‘आफुलाई आवश्यक पर्ने दालचामल पकाउने भाँडाहरू साथैमा बोकेर लैजाने चलन हुन्थ्यो’ जहाँ रात पर्‍यो त्यहीँ नजिकको धर्मशालामा गएर बस्ने चलन हुथ्यो’ उनले भने । डोटीको तेले लेकमा रहेको धर्मशाला कहिल्यै खाली हुन्थेन । पत्थरले छाएर बनाइएको धर्मशालामा काठलगायत अरु कुनै सामानको प्रयोग गरिएको हुन्थेन ।


ती धर्मशालाको संरक्षण पनि भइरहन्थ्यो । ‘विभिन्न जिल्लाका यात्रीहरूबीच धर्मशालामै भेट हुँदा चिनापरिचय हुन्थ्यो’ उनले सम्झिँदै भने ‘एकआपसमा सम्बन्ध पनि बन्थ्यो ।’


दशरथचन्द नगरपालिका ४ कै गणेश भण्डारी पनि धेरै पटक तेलेको धर्मशालामा बास बसेको सुनाउँछन् । घरको लागि चाहिने सामान ल्याउन हाट जाने बेला धर्मशालामामा बास बसेको उनले सुनाए ।


अहिले ती धर्मशालाहरू लोप हुने अवस्थामा पुगेका छन् । कतिपय संरक्षणको अभावमा जीर्ण भएर भत्किने अवस्थामा छन् । उपयोग हुन छाडेपछि संरक्षणमा कसैको चासो छैन । सरकारी निकायलेसमेत ऐतिहासिक स्थलहरूको संरक्षणका लागि कुनै पहल गरेको पाइँदैन । आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक स्थल, कला र संस्कृति तथा सम्पदाको जर्गेना गर्नुपर्ने दायित्व लिएका स्थानीय तहहरूले पनि यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाहरू बताउँछन् ।


बैतडी सदरमुकाम खलंगा आसपासमै ५ वटा धर्मशाला रहेको बताउँदै चन्दले जिल्लाभर ८० बढी रहेको अनुमान लगाए । ‘कतिपय भत्किसके, कतिपय भत्किने क्रममा छन्’ उनले भने ‘ऐतिहासिक महत्वका संरचनालाई जोगाउनु युवा पुस्ताको दायित्व हो ।’ संरक्षण गरे यस्ता स्थलहरूले पर्यटक आकर्षक गर्न सक्ने उनी औल्याउँछन् ।


पहिलेपहिले धर्मकर्म गर्नेहरूले धर्मशालाहरू बनाउने गर्थे । कतिपयले आफन्तको स्मृतिमा धर्मशाला निर्माण गर्थे । जिल्लामा कतिपय ठाँउमा महिलाहरूले आफ्ना मृत्यु भएका श्रीमान्हरूको नाममा पनि धर्मशालाहरू बनाएको उनले बताए । ‘अहिले त धर्मशाला भत्काएर कार्यालय, विद्यालय बनाउन थालिएको देखिन्छ’ उनले भने ।


आफ्ना बुवाहरूले धर्मशालामा बसेका कुराहरू गर्ने गरेको बताउँदै स्थानीय शुसीला चन्दले पुराना सम्पदा जोगाएर राखेमा राम्रो हुने बताइन् । उनले भनिन्, ‘बुवाहरू सामान ल्याउन भारतको टनकपुर जाँदा धर्मशालामा बास बसेको सुनाउनु हुन्थ्यो’ हिँड्दाहिँड्दै कैयौ पटक अकस्मात हिउँ परेपछि धर्मशालाकै आश्रय लिएको बुवाले सुनाउनु हुन्थ्यो ।’


धर्मशाला जोगाउन कुनै काम गर्न नसकेको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले बताए । उनले भने, ‘अहिले गाउँगाउँमा सडक यातायात पुगेपछि धर्मशालाको औचित्य समाप्त भएको हो’ उनले भने ‘केहीलाई ऐतिहासिक स्थलका रुपमा जोगाएर राख्न सके राम्रै हुन्छ ।’

प्रकाशित : कार्तिक ५, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?