खलंगामा साहित्यिक मेला 

एलपी देवकोटा

(जुम्ला) — चन्दननाथ–५, खलंगाका कवि बैरागी बाबु देशका चर्चित साहित्यकारकै अगाडि आफ्नो कविता ‘रेडियो बैरागी’ वाचन गर्न पाउँदा मख्ख देखिन्थे । उनी मात्र होइन, जुम्लाका अधिकांश लेखक/साहित्यकार प्रख्यात साहित्यकारकै अघि आफ्ना सिर्जना प्रस्तुत गर्न पाउँदा दंगिए । 

खलंगामा साहित्यिक मेला 

खस भाषा प्रवद्र्धनका लागि पहिलोपटक खलंगामा शनिबार सम्पन्न कार्यक्रममा नवसर्जकदेखि साहित्यमै दशकौं बिताएका साहित्यकारका दुई दर्जनभन्दा बढी रचना वाचन भए । प्राकृतिक सिर्जना उत्सवले खलंगालाई दिनभर साहित्यमय बनायो । साहित्यकार सरुभक्तको नजिकै बसेकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पनि ‘म गाउँ फर्केको छु’ शीर्षकको कविता सुनाइन् ।


कार्यक्रमका सहभागीले जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर बुढाको समेत कविता सुने ।

‘सद्भाव र सिर्जनाको मूलमन्त्र’ भन्ने मान्यतासहित आयोजना गरिएको कार्यक्रमले सबै साहित्यकारलाई उत्साही बनाएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले बताइन् । ‘जुम्ला नेपाली भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको उद्गमथलो हो, यसैको प्रवद्र्धनका लागि उत्सव आयोजना गरेका हौं,’ उनले भनिन्, ‘उत्सवले सभ्य एवं समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरेको छ ।’ जुम्लालाई साहित्यमार्फत विश्वसामु चिनाउन जरुरी रहेको उनी बताउँछिन् ।


ग्रामीण क्षेत्रका स्रष्टाका प्रतिभा अझै पनि लुकेर बस्न बाध्य भएको संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले बताए । ‘कर्णालीको इतिहास खोजी गर्ने कर्णालीका पुत्रले कहिल्यै स्याबासी पाउन सकेनन्,’ उनले भने, ‘जुम्ला आउने चाहना वर्षौंपछि पूरा भएको छ, सिञ्जा क्षेत्र हुँदै रारा पुगेर फर्कने हाम्रो योजना छ ।’


प्रकृति सिर्जना उत्सवमा कर्णालीका साहित्यकारको प्रतिभा पहिचान भएको आयोजक खस साहित्य समाजका अध्यक्ष रामकृष्ण बुढथापाले बताए । ‘अहिलेसम्म जुम्लाका ३९ जनाले साहित्यिक कृति प्रकाशन गरिसकेका छन् तर मूलधारको साहित्यमा अझै जोडिन सकेका छैनन्,’ उनले भने, ‘यो कार्यक्रमले जुम्लासँग काठमाडौंको साहित्यिक सम्पर्क स्थापित गरेको छ ।’ प्रकृति उत्सवमा राष्ट्रको साझा सवाल र गौरव, नेपाली भाषा, साहित्य, कला, संगीत, इतिहास, दर्शन र संस्कृतिका बारेमा साहित्यकारले चर्चा गरे ।


दुई साहित्यकार पुरस्कृत

उत्सवमा वितरण गरिएका दुई पुरस्कारबाट जुम्लाका दुई साहित्यकारलाई पुरस्कृत गरिएको छ । अमेरिकी नागरिक प्राडा ग्रगरी जी मास्कारिनेकले स्थापना गरेको २० हजार रुपैयाँ राशिको ग्रगरी कला संस्कृति पुरस्कारबाट खडानन्द चौलागाई र योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले पिता योगेश्वर कार्कीको नाममा स्थापना गरेको २५ हजार राशिको योगेश्वर वाङमय पुरस्कारबाट पुरिचन्द्र देवकाटा सम्मानित भएका हुन् ।


चौलागाईका आधा दर्जन र देवकोटाका दुई पुस्तक प्रकाशित छन् । पुस्तकमार्फत कर्णालीको साहित्य, भाषा, संस्कृति, रीतिरिवाज र पर्यटनलाई प्रवद्र्धन गरिएको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।


प्रकाशित : कार्तिक ४, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?