साहित्यमा प्रवासी स्वर

कान्तिपुर संवाददाता

काठमाडौँ — नौ वर्षदेखि कतारमा रहेका नेपाली स्रष्टाहरूले ‘अनेसास–नवोदित साहित्य शृंखला’ चलाउँदै आएका छन् । कविता, गीत र गजलको माध्यमबाट मुलुकको सम्झना, पहिचान र प्रवासको पीडा व्यक्त गर्दै आएका ती स्रष्टाहरू शुक्रबार राजधानीमा प्रस्तुत भए । उनीहरूले नेपाली समाजका समसामयिक समस्यादेखि माया–प्रेमसम्मका सन्दर्भलाई विषय बनाए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले गर्दै आएको शृंखलाको ९७ औं संस्करण नेपालमा गरिएको हो । संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार तीर्थ संगम राईका अनुसार २० औं पनि नेपालमा गरिएको थियो ।

कवि एवं आख्यानकार राजन मुकारुङले संयोजन गरेको कार्यक्रममा प्रवासी स्रष्टालाई मुलुकभित्रकै स्रष्टाले पनि साथ दिएका थिए । कतारबाटै हालै मुलुक आएका कवि महेन्द्र अदृश्य राईले ‘ए रात हामीलाई बलात्कार गर’ शीर्षकमा युद्ध, भौतिक विकास र अनैतिक क्रियाकलापको चेपुवामा पर्दै गएको मानव सभ्यताको सन्दर्भ उठाए । बिमला तुम्खेवा, रुद्र अधिकारी, दीप्स शाहलगायतका कविहरूले असन्तुलित र अमानवीयतातिर लम्किरहेको अस्तव्यस्त समयलाई सिर्जनामा उतारे ।

विशेष श्रोताका रूपमा रहेका कविहरू आहुति र श्रवण मुकारुङले भने गीत सुनाए । मुकारुङले प्रवासमा पनि नेपालीहरूको विशाल आर्थिक, सामाजिक, साहित्यिक सञ्जालको विकास भएको उल्लेख गरे । कवि जसराज किरातीले प्रवासमा बसेर पनि नेपाली साहित्यलाई माथि उठाउने स्रष्टाहरूको प्रशंसा गरे । कार्यक्रममा बाबु त्रिपाठी, छम गरुङ, स्वप्नील स्मृति, रामगोपाल आशुतोष, सुविद गुरागाईं, नवीन प्यासी, टीका खड्का, महेन्द्र अदृश्य राई, लीला घिमिरे, तिरन नेपाललगायतले सिर्जना सुनाए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०९:१७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘आइन ग आनी हाङ पारे’

चन्द्र कार्की

(तेह्रथुम) — किरात समुदायका लिम्बूहरूले गाउने हाक्पारे साम्लो पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । लिम्बू समुदायमा अति नै लोकप्रिय मानिने यो गीत गाउन युवा पुस्ताले चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको हो । एकल, दोहोरी र सामूहिक रूपमा गाइने यो गीत सुख र दु:ख दुवै अवस्थामा गाउने गरिन्छ । हाक्पारे साम्लोको उद्गम स्थल मानिने छथर गाउँपालिका ४ फाक्चामाराको हाक्पारा बस्तीमा पनि यो गीत हिजोआज उतिसारो सुनिँदैन ।

सुख–दु:ख दुवै समयको अनुभूति दिन सुरिलो भाकामा लय हालेर हाक्पारे साम्लो गाइने गरिएको हाक्पाराका ७७ वर्षीय भैरुप सिंह लिम्बूले बताए । पूर्वका लिम्बू समुदायमा निकै लोकप्रिय हाक्पारे लयको थालनी गर्दा श्रोता र दर्शकबाट गाउने अनुमति लिएर अन्त्यमा गीतबाट नै बिदा माग्ने गरिन्छ । लिम्बू समुदायले यही गीतको भाका र शैलीमा मुन्धुम पनि वाचन गर्छन् । गीत गाउन भेला भएकाहरू बीच बोलीचाली र सोधनी पनि यही भाकामा गरिन्छ । यो हाक्पारे साम्लोको उत्पत्ति कहाँ र कसरी सुरुवात भयो भन्ने फरक किम्बदन्तीहरू लिम्बू समुदायमा प्रशस्तै सुन्न पाइन्छन् ।

पहिलो किम्बदन्तीअनुसार, उहिले जब गाउँघरमा बाटाघाटा राम्ररी खनिएका थिएनन् । एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा प्राय: गाउँमा खनिएको गोरेटो बाटो भएर जानुपर्थ्यो । हाक्पारा गाउँको फेदी तमोर किनार भएर तेह्रथुम र पाँचथरका युवा देश परदेश गरिरहन्थे । परदेश लाग्दा अथवा फर्कंदा बास बस्ने स्थलको रूपमा रहेको हाक्पारामा लिम्बू युवाहरू आपसमा हाँसोठट्टा गर्दै दिनभरि हिँडाइको थकान मेटाउँथे । बोलचाल र हाँसोठट्टा गर्दै उनीहरू सुरिलो भाकामा पालाम गाउँदै दोहोरी सावाल जवाफ गर्दथे । यही हाक्पारा गाउँबाट नै विभिन्न जिल्लाका परदेशीहरू भेट भई गीत गाउन थालेपछि नै हाक्पारे साम्लो (लय) को उत्पत्ति भएको लिम्बू बूढापाकाहरू बताउँछन् । तर किरात साम्बाहरू (धामीझाँक्री) भने हाक्पारा गाउँबाट यो गीतको नाम राखिएको भन्ने मतमा समर्थन गर्दैनन् । उहिले नै ‘येहाङ’ भन्ने राजाको शासनकालमा यो गीतको सुरुवात भएको पनि उनीहरूको दाबी छ । दुई राजा दाजुभाइमध्ये जेठा राजा सोदोङहाङको एक मात्र छोरी ‘इधुकहाङमा’ परम सुन्दरी थिइन् ।

यौवन अवस्थामै सुन्दरी छोरीको निधन भएपछि राजा सोदोङहाङ शोकमा डुबे । वियोगको पीडा खप्न नसकी मनलाई शान्त पार्न राजा डाँको छोडेर रोइरहेको प्रजाहरूले देखे । राजा शोकमा डुबेर कसैसित नबोली दरबारभित्र नै धेरै दिनसम्म चुपचाप बसिरहे । निकै समयपछि मात्र राजा बोले । राजा बोलेको थाहा पाएपछि प्रजाहरू खुसी हुँदै ‘आइन ग आनी हाङ पारे’ (आज हाम्रो राजा बोले) भन्दै उल्लास मनाए । लिम्बू भाषामा हाङ भनेको राजा र पारे भनेको बोल्नु हुन्छ । लिम्बू भाषाको ‘हाङ’ र ‘पारे’ यो दुई शब्द मिलेर उनै पुत्री शोकमा विह्वल भएका राजा बोलेको सम्झनामा गीत गाउँदा यसको नाम हाङ पारे भएको लिम्बू बूढापाकाहरूको भनाइ छ । पछि नेपाली भाषामा गीत गाउँदै आउँदा अपभ्रंश भई हाक्पारे भएको साम्बाहरूको दाबी छ ।

मायापिरतीका शब्दहरू बुनेर, सुखदु:खका दोहोरी प्रश्न र उत्तरहरू हाक्पारे मुन्धुममा लयात्मक भाकामा गाउँदा निकै आनन्द आउने वडा अध्यक्ष उपेन्द्र लिम्बू बताउँछन् । मायापिरतीका भावनाहरू मनभित्रबाट ओकल्ने सुखदु:खका साथै वियोगमा आँसुको भेललाई सुकाउने यो हाक्पारे साम्लो लिम्बू र नेपाली दुवै भाषामा गाउने गरिन्छ ।


प्रकाशित : कार्तिक ३, २०७६ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT