३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘तेस्रो आयाम बेठिक थिएन’

पर्वत पोर्तेल

(दार्जिलिङ) — सन् साठीको दशकमा दार्जिलिङमा तेस्रो आयाम सुरु भयो । साहित्यप्रतिको फरक बुझाइ र लेखाइका रूपमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काइँलाले साहित्यको नयाँ शैलीका रूपमा यसलाई अघि बढाए । तेस्रो आयाम थालनीको झन्डै ६ दशकपछि बैरागी काइँलालाई लागेको छ, ‘हामीले भनेको बेठिक रहेनछ ।’ तेस्रो आयामका प्रवर्तकमध्येका एक इन्द्रबहादुर राईको स्मृतिग्रन्थ ‘इन्द्राख्यान’ सार्वजनिक गर्न दार्जिलिङ आइपुगेका काइँला भन्दै थिए, ‘हामीले त्यो बेला कल्पना गरेका कुरा अहिलेको साहित्यमा प्रयोग हुन थालेको छ ।’ 

‘तेस्रो आयाम बेठिक थिएन’

८ सय ८८ पृष्ठको स्मृति ग्रन्थमा करिब असी बढी स्रष्टाका सिर्जना समेटिएका छन् । राईको करिब डेढ वर्षअघि दार्जिलिङमा निधन भएको थियो । काइँलाले दार्जिलिङमा तेस्रो आयामका सुरुवाती दिनहरू सम्झिए । आफ्ना सहयोद्धा र ती दिनहरू सम्झिएर नोस्टाल्जिक पनि बने । उतिबेला प्रवर्तकहरूले ‘तेस्रो आयाम’ पत्रिकासमेत प्रकाशित गरेका थिए । तेस्रो आयाम नामचाहिँ काइँलाले जुराएका थिए । ‘हामी के लेख्नेभन्दा पनि कसरी लेख्ने भनेर गयौं,’ उनले थपे, ‘कसरी लेख्ने भन्ने कुरा नै हाम्रा लागि जीवनको दर्शन बन्यो ।’


उनका अनुसार ‘त्यो बेला खोजेको चिज ‘वस्तुता’ रहेछ । वस्तुको सार–तत्त्वचाहिँ के हो ? त्यो खोज्या रहेछ । लेखिसकेको कविताको आफ्नै अस्तित्व हुन्छ र त्यसलाई वस्तुताभन्दा रहेछौं हामी त्यतिबेला ।’ इन्द्रबहादुर राईले चाहिँ उतिबेला नेपाली साहित्यिक चिन्तनको नेतृत्व गरेको उनले सुनाए । उनका अनुसार राईले नेपाली साहित्यको सैद्धान्तीकरण गर्ने प्रयत्न गरेका थिए । यसलाई आउँदो पिँढीले निरन्तरता दिन जरुरी छ । तेस्रो आयामपछि राईले लीला लेखन नामको नयाँ साहित्यिक आन्दोलन सुरु गरेका थिए । यसलाई कृष्ण धरावासी, कृष्ण बराल, रत्नमणि नेपालले अनुसरण गर्दै आएका छन् । ‘तेस्रो आयामपछि लीला लेखन पनि दार्जिलिङबाटै सुरु भयो,’ काइँलाले सुनाए, ‘दार्जिलिङमा रोपिएको यो बीउ, झापामा उम्रियो ।’


लीला लेखन सुरु भएपछि नेपाल तथा भारतीय नेपाली साहित्यिक वृत्तमा ठूलो तरंग प्रदान भएको स्मरण गर्दै काइँला थपे, ‘खासगरी प्रगतिवादी साहित्यकारहरूले यसलाई एक आँखाले हेर्न सक्दैनन् ।’ सन् १९६३ ताका समालोचक गणेशबहादुर प्रसाईंले दार्जिलिङमा भेट गराइदिएका थिए, राई, काइँला र ईश्वर वल्लभको । यी तीन हस्तिबीचको भेटबाटै तेस्रो आयाम जन्मियो । साठीको दशकमा यसले नेपाली साहित्यमा एउटा ठूलो आन्दोलनको रूप लियो । तेस्रो आयामको उद्देश्य लेखाइमा लम्बाइ, चौडाइ, मोटाइ र गहनता हुनुपर्छ भन्ने थियो ।


प्रकाशित : कार्तिक १, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?