कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा एसियाली स्रष्टा

कान्तिपुर संवाददाता

काठमाडौँ — एसियाली मुलुकहरूबीच संस्कृति र सभ्यताको पुल कसरी निर्माण गर्न सकिन्छ ? कला, साहित्य र लेखनका अन्य विधा एवं विषयमा के कस्ता समानताहरू छन् ? मंगलबारदेखि राजधानीमा बहस सुरु भएको छ । रबहसमा नेपाली विद्वान् मात्रै हैन, चीनसँगै दक्षिण एसियाली मुलुकका साहित्यकारहरूसमेतले भाग लिइरहेका छन् ।



साझा सांस्कृतिक भावहरू खोतल्दै अन्तर–हिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धन गर्ने ध्येयले ‘चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन’ मंगलबारदेखि सुरु भएको हो । दुई वर्षअघि चीनको छेन्दुमा सम्पन्न सम्मेलनको दोस्रो संस्करण काठमाठौंमा सुरु भएको हो ।


भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समेत सहभागिता रहेको पाँचदिने सम्मलेनको पहिलो दिन नेपालका तर्फबाट कार्यपत्र पेस गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली साहित्यमा लामो समयदेखि तिब्बत तथा चीनका विषयहरू आएको र कैयौं कृति त्यतैको यात्राबाट सिर्जना भएको’ बताए । लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ को चर्चा गर्दै उनले अहिले खाडी मुलुकमा झैं कुनै बेला रोजगारीका लागि नेपाली युवाहरू ल्हासा जानुपर्ने अवस्थालाई खण्डकाव्यले चित्रण गरेको बताए । त्यस्तै डोरबहादुर विष्टको उपन्यास ‘सोताला’ गंगाप्रसाद उप्रेतीको ‘तिब्बतमा दस दिन’ जस्ता थुप्रै कृतिमा तिब्बतको बयान र विषय आएको बताए । उनले तुलसी भट्टराईको ‘संसारको छानामा महाकवि’ लगायतका कृतिहरूले पनि दुईदेशीय सम्बन्धलाई बजबुत पारेको दाबी गरे ।


बंगलादेशका अनुवादक मेहबुबा रहमानले भने साहित्यमा अन्तरक्रियात्मक कार्यलाई अगाडि बढाउन एक–अर्काको साहित्य विभिन्न भाषामा अनुवाद हुनुपर्ने बताइन् । ‘अनुवाद नै सञ्चारको कला हो’ उनले भनिन्, ‘यसले अनेक भाषा र संस्कृति आधारित समाजलाई जोडिदिन्छ ।’ चीनका उपन्यासकार ली सिआयोतोङले ‘अन्तरहिमाली संस्कृति र साहित्यको प्रवर्द्धनका लागि आधुनिकता र विकासलाई जोड दिनुपर्ने औंल्याए भने पाकिस्तानका लेखक तथा कवि खालिद मसुद खानले ‘मुलुकहरूबीच साहित्य र संस्कृतिको आदानप्रदानमा लोक साहित्य र भाषाजस्ता संवेदनशील पक्षलाई जोड दिनुपर्ने’ औंल्याए ।


प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीन र दक्षिण एसियाली मुलुकमा समान साहित्यिक र सांस्कृतिक आधारहरू खोज्न सम्मेलनले सघाउने दाबी गरे । मंगलबार साँझ पाहुनाहरूको स्वागतमा प्रतिष्ठानले विभिन्न

नेपाली समुदायको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिसमेत दिएको थियो ।


झाँगड, स्याब्र, कौरा, साकेला, हुड्केलीजस्ता नृत्यमा पाहुनाहरू रमाएका थिए । सम्मलेनको दास्रो दिन बुधबार प्रतिष्ठानको हलमा नै विभिन्न मुलुकका साहित्यकारहरूले आधा दर्जन कार्यपत्र प्रस्तुत गर्नेछन् ।


न्युटनभन्दा पहिले भाष्कराचार्यले पत्ता लगाएका थिए गुरूत्वाकर्षण


सम्मेलन उद्घाटन क्रममा प्रधानमन्त्री केपी ओलीले ‘एसिया सभ्यता विकासको जननी’ दावी गर्दै पूर्वीय दर्शन खुसीको आधार रहेको बताए । ‘ज्योतिष विज्ञान, औषधि विज्ञानदेखि छन्द र संगीतको सिर्जना यतै भए,’ उनले भने, ‘अहिलेका ठूला र समृद्ध देशका मान्छे ढुंगा बोकेर सिकार खेल्दै गर्दा हाम्रा साहित्यकारहरू वेदको रचना गरिरहेका थिए, नाटक लेख्दै थिए, उपनिषद्को रचना गर्दै थिए । हामी बाजा बजाइराख्या हुन्थ्यौं । चीनको सिल्क रोड निर्माण उतिबेलै भएको हो ।’


न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुअघि नै भाष्कराचार्यले यो नियम पत्ता लगाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उनीहरूले प्रचार–प्रसार गरेर हाम्रा पुर्खाको पत्ता लगाएको ज्ञान ओझेल पारे ।’ पुर्खाहरूले आफ्नो अनुभूतिलाई ज्ञानको रूपमा विकास गर्न हजारौं वर्षअघि योगदान गरेको पनि प्रधानमन्त्रीले बताए ।


प्रधानमन्त्री ओलीले ‘अहिले हामी पुर्खाहरूले निर्माण गरेको गौरवपूर्ण ज्ञान र सभ्यता बिर्सिंदै अघि बढिरहेको’ भन्दै चिन्ता प्रकट गरे । पूर्वीय सभ्यताको विकास र आविस्कारले विश्वलाई लोभलाग्दो बाटो देखाएको बताउँदै सामाजिक सञ्जाल र पश्चिमी संस्कृतिको प्रभावले मौलिक सभ्यता संकटमा परेको उनले जनाए । पत्रकारहरूले अंग्रेजी ‘यु’ (तिमी) को सिको गर्दै ‘बाउलाई पनि तिमी सम्बोधन गर्ने’ भाषा सिकाइरहेको भन्दै प्रधानमन्त्रीले आक्रोश पनि पोखे । प्रकाशित : आश्विन २९, २०७६ ०९:४२

प्रतिक्रिया
पठाउनुहोस्

नि:शुल्क सदस्यता दिन्छु : कुमार पन्त

कान्तिपुर संवाददाता

८१ देशमा शाखा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चुन्दैछ । घोषणा भएअनुसार अध्यक्षका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । पन्त जर्मनीमा बसेर व्यवसाय गरिरहेका छन् भने आचार्य बेलायतका व्यवसायी हुन् ।


मंगलबार सुरु सम्मेलनमा सहभागी करिब २५ सय प्रतिनिधिले सम्भवतः बुधबार साँझसम्म उनीहरुमध्ये एकलाई अध्यक्षमा निर्वाचित गर्नेछन् । विभिन्न एजेन्डासहित निर्वाचन प्रचार–प्रसार, छलफल तथा सहमतिको प्रयासमा व्यस्त पन्त कान्तिपुरका कृष्ण आचार्यविजय तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

एनआरएनए अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) २००३ मा स्थापना भयो, १७ वर्ष लागेको छ । स्थापनादेखि नै हामीले गैरआवासीय नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालको समृद्धिका लागि लिएर आउँछौं भनेका थियौं । पुँजी ल्याउन महत्त्वपूर्ण सफलता हासिल गरिसक्यौं । व्यक्तिगत तथा सामूहिक रूपमा गैरआवासीय नेपाली साथीहरूले नेपालमा लगानीको वातावरण छ र प्रसस्त मुनाफा आर्जन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरिराख्नुभएको छ । लगानी पनि ल्याउनुभएको छ । ज्ञान, सीप र प्रविधि पुँजीभन्दा बढी महत्त्वपूर्ण हुनसक्छ । २५–३० वर्षयता धेरै मानिस बाहिर जानथालेका छन् । धेरै त ज्ञान, सीप र प्रविधि सिकेर पेन्सन हुने अवस्थामा पुगिसक्नुभएको छ । उहाँहरू आफूले सिकेका ज्ञान, सीप र प्रविधि नेपालको हितमन निम्ति नि:शुल्क दिन चाहनुहुन्छ ।

यसैलाई ध्यानमा राखेर एक वर्षअघि हामीले काठमाडौंमा विज्ञहरूको सम्मेलन गर्‍यौं । सम्मेलनमा संसारभर छरिएका नेपाली साथीहरू प्रविधि नेपाल भित्र्याउन तयार हुनुभएको पाइयो । कृषि, पूर्वाधार, स्वास्थ्य क्षेत्रमा के–के गर्न सक्छौं भनेर हामीले श्वेतपत्र जारी गरेर सरकारलाई बुझाइसकेका छौं । त्यसलाई एउटा कार्यदल बनाएर कार्यान्वयनमा लैजाने चरणमा छौं । म त्यसको नेतृत्व गर्छु ।

अर्को एजेन्डा रेमिटान्स हो । गैरआवासीय नेपालीले पठाएको रेमिटान्सले मुलुकको अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा ओगटेको छ । त्यो पैसा घरजग्गा लगायत अनुत्पादनक क्षेत्रमा बसिराखेको छ, रोजगारीका अवसर सिर्जना गर्नुको साटो बेरोजगारीको समस्या बढाइराखेको छ । त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउन पूर्वाधार, कृषिजस्ता क्षेत्रमा लगानी गरियो भने नेपालमा रोजगारीका अवसर सिर्जना हुन सक्छन् । रेमिटान्स सदुपयोग हुन्छ भनेर नेपाल सरकारसँग कम्तीमा १० अर्ब रुपैयाँ बराबरको कोष ल्याउँछौं भनेर सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौं । कोष ल्याउन गुरुयोजना तयार पार्ने समितिको संयोजक मै थिएँ । आगामी दिनमा कोषलाई व्यवहारमा उतार्न म प्रतिबद्ध छु ।

अहिले मनग्ये आयस्रोत भएका नेपाली बाहिर छन् । ८० लाख नेपाली बाहिर बस्छन् । मिनी नेपालै बाहिर छ भन्दा हुन्छ । बाहिर बसेका नेपालीलाई परोपकारी कामका लागि परिचालन गर्ने हो भने नेपालमा ठूलो कार्य हुन सक्छ । कुनै परोपकारी संस्थामार्फत नेपालमा पैसा पठाउन चाहँदा फाउन्डेसन छैन । मैले संसारका विभिन्न देशमा परोपकारी फाउन्डेसनहरू दर्ता गरेर नेपालमा परोपकारी कामको लागि प्रेरित गर्नुपर्ने योजना सार्वजनिक गरेको छु ।

३० लाख हाराहारीमा श्रमिकहरू बाहिर छन् । उनीहरूको अंगभंग, मृत्युसमेत भइराखेको छ । ती साथीहरूको उद्धारका लागि श्रमिक कल्याणकारी कोष स्थापना गरेका थियौं । त्यसमा खासै ठूलो पैसा छैन । अहिले ५ करोड हाराहारी छ । ठूलो संख्याको हितमा प्रयोग गर्न त्यो रकम केही पनि होइन । ५ अर्ब बनाउने हाम्रो योजना छ ।

राष्ट्र बैंकले १ डलर रेमिटान्स ल्याए बापत बैंकहरूलाई ३० पैसा कमिसन दिन्छ । त्यो कमिसनको ५ पैसामात्रै कल्याणकारी कोषमा लगाउन सकियो भने साथीहरू लाभान्वित हुनेछन् । अर्बौं रुपैयांँ कल्याणकारी कोषमा जम्मा हुन्छ । यस निम्ति राष्ट्र बैंक, सरकारसँग कुरा गर्दा सकारात्मक देखिएको छ ।

संगठन संरचना पनि परिवर्तन गर्नुपर्ने देखेको छु । विकृति पनि छन् । जस्तै– गैरआवासीय नेपाली संघको पञ्जीकृत सदस्य बनेबापत ५ डलर नेपालमा ल्याउनुपर्छ । त्यो ५ डलरको नाममा हुने विकृतिले चुनावमा नराम्रो प्रभाव पारेको छ । म ५ डलर लिने व्यवस्था हटाएर संसारको जुनसुकै कुनामा बसेर आफ्नो प्रतिनिधि छान्न घर–घरबाट भोट दिन पाउने व्यवस्था गर्नेछु । अहिले निश्चित प्रतिनिधिले मात्र भोट हाल्न आउन पाउने स्थिति छ । सबै पञ्जीकृत सदस्यहरूले भोट हाल्न पाउने व्यवस्था गर्छु ।

नेपालमा पुँजी भित्र्याउने, कोष खडा गर्ने भनेर चुनावी एजेन्डा बनाउने, तर निर्वाचित भइसकेपछि ठोस परिणाम नदिने प्रवृत्ति देखिन्छ नि ?
नेतृत्वमा आउनु मात्रै ठूलो कुरा होइन । कस्तो काम गर्‍यो भनेर भोलि सम्झिराख्ने आधार बनाउनुपर्छ । कतिपय अवस्थामा त्यो मान्छे पनि नेतृत्वमा आएको थियो र भन्ने अवस्था पनि हुनसक्छ । त्यो अवस्थाबाट म मुक्त हुन चाहन्छु । मैले अघि पनि भनेँ, १० अर्ब रुपैयाँको कोष नेपालमा ल्याउँछौं भनेका छौं । त्यसलाई राम्रोसँग परिचालन गर्न चाहन्छु । त्यो कोषमार्फत साना लगानीकर्तालाई केन्द्रित गर्ने योजना छ । यहाँ कोष भन्ने बित्तिकै ठूला लगानीकर्ता लक्षित हो कि भन्ने बुझिन्छ । कोष स्थापना भइसकेपछि यसलाई सेयर बजारमा लैजाने र घरबाटै ५ डलर, १० डलर, १५ डलरजस्तो थोरै लगानी गर्न चाहनेले पनि लगानी गर्नसक्ने वातावरण बनाइनेछ । नेपाल सरकारले अहिले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको छ । भ्रमण वर्षमा धेरैभन्दा धेरै विदेशी नेपाल ल्याउन सक्रिय रहनेछु ।

अहिले पनि विश्व श्रम बजारमा नेपाल असाध्यै सस्तो कामदार निर्यात गर्ने मुलुक भनिन्छ । नेपालको विभिन्न निकायसँग छलफल गरेर कमसेकम साथीहरूलाई केही व्यावसायिक तालिम दिएर बाहिर पठाउने वातावरण बनाउनुछ । यसो गर्ने बित्तिकै उनीहरूले पाउने तलब बढी भइहाल्छ । साना–ठूला लगानीकर्तालाई नेपालमा जलविद्युत, पूर्वाधारमा लगाउनी गराउन विदेशमा सक्रिय रहनेछु ।

पैसा हुनेले मात्रै एनआरएनएको चुनावमा सहभागी हुने भन्ने आम बुझाइ छ । तपाईंले कति खर्च गर्दै हुनुहुन्छ ?
८३ देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद् छन् । त्यहाँ जानुपर्छ । साथीभाइहरूसँग भेटघाट गर्नुपर्छ । होटलमा बस्नुपर्छ । भेटघाट गर्ने टेबल पनि चाहिन्छ । खाना पनि खानुपर्‍यो । त्यसकारण खर्च नै हुँदैन भनेँ भने झुटो हुन्छ । तर यति नै भइसक्यो भनेर निकालेको छैन ।

मतदाता आउने–जाने हवाई भाडा, खाने/बस्ने होटल खर्च र भोट किन्नेजस्ता विकृति धेरै सुनिएका हुन् । त्यसकारण तपाईंको पनि खर्च त धेरै होला नि ?
त्यस्तो हल्ला पनि सुनेको छु । चुनावमा खर्च हुन्छ, नहुने होइन । एउटा फोहोर पोखरी हामीले सफा गर्नु पर्नेछ, त्यसका लागि त्यही पोखरीभित्र छिर्नुपर्छ, आफूलाई पनि फोहोर लाग्छ । सफा गरिसके पछाडिको सुन्दर र सफा पोखरीको परिदृश्य मैले क्षितिजमा देखिराखेको छु । त्यसको लागि मैले योजना सार्वजनिक गरेको छु । पञ्जीकृत सदस्य बन्न कसैले पनि पैसा तिर्नु नपर्ने, जोसँग भिजन छ, जो सक्रिय छ, ऊ सदस्य बन्न सक्ने हुनुपर्छ ।

धेरै चलखेल काठमाडौं आउने प्रतिनिधिहरूमा हुने रहेछ । घर–घर बसेर भोट हाल्न पाउने भएपछि कसैले पैसा खर्च गरिराख्नु पर्दैन । अहिले हामीले २५ सय सहभागीलाई काठमाडौं बोलाएर भोटिङ गराइराखेका छौं । अबको २/३ वर्षमा न्यूनतम ४/५ लाख सदस्य हुन्छन् । तिनलाई कुनै स्रोत परिचालन गर्नु पर्दैन र सम्भव पनि हुन्न । त्यो भइसकेपछि सबै विकृति हट्छन् ।

अब आउने नेतृत्वले संसारभर डुलिराख्नुपर्ने अवस्था हुन्न । आज प्रविधिको जमाना छ, आफ्नो भिजन सोसल मिडियामार्फत राख्न सकिन्छ । यसो भइसकेपछि र संस्थाको संरचनालाई परिवर्तन गरिसकेपछि विकृति स्वत: हट्छन् । म एकदम चोखो छु, पैसा खर्च नगरी चुनाव उठिराखेको छु म भन्दिन । विकृति छ । झुटो बोल्यौं भने हामीले समस्याको समाधान गर्न सक्दैनौं ।

चुनावमा उठ्ने उम्मेदवार कुनै पार्टीले निर्णय गर्ने, अधिक राजनीतीकरणजस्ता विकृति पनि पछिल्लो समय बढिरहेको छ नि ?
आर्थिक र राजनीतीकरण दुवै विकृति हटाउन नै संरचनागत परिवर्तनको कुरा गरेको हुँ । राजनीतीकरण कुनै पार्टीको नेताले होइन, हाम्रै साथीहरूले गरेका हुन् । नेताको ढोका–ढोका चहार्नुहुन्छ, होटलमा ल्याएर ढोका–ढोकामा घुमाउनुहुन्छ । रेष्टुरेन्टहरूमा भेटघाट गराउनुहुन्छ । पार्टीको कार्यकर्ता भेला गराउनुहुन्छ । त्यसले गर्दा हाम्रो संस्थामा राजनीतीकरण भइरहेको छ ।

विकृति स्वीकार गर्नुभयो । तर तपाईंलाई पनि कुनै कित्ताको भन्ने आरोप छ नि ?
राजनीतिक समूह मेरो रहँदैन । मलाई कुनै राजनीतिक दलको उम्मेदवार नबुझिदिनुहोला । मलाई हरेक पार्टीले समर्थन र विश्वास गर्न सक्नुहुन्छ । म न कुनै पार्टीको ढोकामा जान्छु न उहाँहरूले भनेर मान्छु । म कुनै पनि पार्टीमा केन्द्रित हुन चाहन्न । यो विशुद्ध सामाजिक संस्था हो । सबै विचार भएकाहरूलाई समेट्ने सामाजिक संस्थाको रूपमा यसलाई विकास गर्न चाहन्छु । यो सबै भाषा, धर्म र सबै क्षेत्रमा बस्ने नेपालीको साझा मञ्च हो ।

एनआरएनएभित्र तपाईं त सत्तानिकट अर्थात नेकपाको उम्मेदवार भन्छन् नि ?
मनिसको विभिन्न खाले व्यक्तिगत सम्बन्ध हुन्छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मेरो राम्रो चिनजान छ । व्यक्तिगत सम्बन्धको आधारमा मानिसले सत्तानिकट भन्नुभएको होला । त्यसो हो भने त मलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यत्तिकै माया गर्नुहुन्छ । उहाँसँग भेट्दा हार्दिकता देखाउनुहुन्छ । जर्मनीमा पनि उहाँ आउँदा हामीसँग भेटघाट गरेर जानुभएको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि मेरो राम्रो सम्बन्ध हो । पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग त्यस्तै राम्रो सम्बन्ध थियो । उहाँ त मेरै घरमा बस्नुभएको थियो । उहाँ आज बाँचिरहेको भए मलाई उहाँ नजिक मान्छे भन्थे होलान् ।

एनआरएनएहरूको अर्को विकृतिको कुरा गरौं । नेतृत्वमा आउने र आफ्नै व्यपार, व्यवसाय बढाउन यहाँको राजनीतिक र प्रशासनिक तहसँग फाइदा लिने आरोप छ नि ?
हो, मलाई पनि त्यही आरोप लाग्न सक्छ भनेर मैले नेपालमा आफ्नो छुट्टै व्यावसायिक गृह स्थापना गरेको छैन । म सेयर किन्ने, अरु साथीहरूले लगानी गरेको ठाउँमा लगानी जोड्ने गरिराखेको छु । अहिलेसम्म आफ्नो व्यक्तिगत फाइदाको लागि यहाँको राजनीतिक नेतृत्व समक्ष म पुगेको छैन । भविष्यमा पनि व्यक्तिगत व्यापार प्रबर्द्धननिम्ति राजनीतिक र सरकारी निकायमा जान्न भन्ने प्रण गरेको छु ।

तपाईंका एनआरएनए संगठन संरचना परिवर्तन गर्ने अरू भिजन पनि केही छन् ?
अहिले नेतृत्वमा सय जनाजति केन्द्रीय सदस्य र २२–२५ जनाको कार्यकारी सचिवालय हुने जुन संरचना छ, यसमा खासै परिवर्तन गर्नुपर्ला जस्तो लग्दैन । कस्ता मानिस छान्ने भन्ने हाम्रालागि महत्त्वपूर्ण हो । संगठनको अरु संरचना परिवर्तन गर्नुपर्ने आवश्यकता मैले देखेको छैन ।

यस अघि एउटा कार्यकारी निकाय रहने र सचिवालयलाई प्रभावकारी संरचना बनाउने कुरा थियो नि ?
छलफलको रूपमा आएको थियो । सचिवालयलाई बलियो बनाउने र कर्मचारीमार्फत धेरै काम गर्ने र संयुक्त राष्ट्रसंघको शैलीमा काम गर्ने कि भन्ने थियो । तर त्यो छलफलको रूपमा मात्रै आयो । यो स्वयम्सेवी संगठन हो र यसमा स्वयम्सेवी साथीहरू नै सक्रिय हुनुपर्छ ।

कार्यसमितिको कार्यकाल अवधि बढाउनेबारे केही सोच्नुभएको छ ?
धेरै साथीहरूले २ वर्षे अवधि धेरै कम भयो, बढाउनुपर्‍यो भनिराख्नुभएको छ । मलाई पनि यो कम नै हो जस्तो लाग्छ । तर अब मेरै कार्यकालमा नबढ्नेगरी म पछाडि आउने नेतृत्वको अवधि बढाउनुपर्छ भन्ने विषयमा सहमत छु ।

केही समयअघि एनआरएनए सचिवालय चलाउन नै खर्च अभाव भयो, चन्दा उठाउनुपर्‍यो भन्ने कुरा आएको थियो । के हो ?
गैरआवासीय नेपाली संघले तीनवटा ठूला परियोजना सञ्चालन गरेको थियो । इतिहासमै त्यत्रा ठूला परियोजना हामीले कहिल्यै सञ्चालन गरेका थिएनौं । गोरखा जिल्लाको लाप्राकमा हामीले नमुना गाउँ बनाइराखेका छौं । जसको निर्माण प्रक्रिया सम्पन्न हुने अवस्थामा पुगेको छ । संघले आफ्नै भवन बनाउन करोडौंको लगानी छ । हामीले शंखमूलमा पार्क बनायौं । यही कारणले संगठनमा आर्थिक अभाव देखिएको हो ।

एनआरएनए सचिवालय भवनको जग्गाबारे पनि विवादास्पद कुरा आयो । खास के हो ?
हामी पनि भूमाफियाको जालोमा फँस्यौं कि भन्ने लाग्छ । हामी सामाजिक संस्था हौं । मुनाफा कमाउन बनेको संस्था होइन । यो नेपालको समृद्धिनिम्ति बनेको संस्था हो । सामाजिक संस्था भएकाले राज्यले भोलि तपाईंहरू छाडेर जानुस् भन्ने अवस्था आउला जस्तो लाग्दैन । हाम्रो संस्था परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता भएको छ । हाम्रा सदस्यबाट १/१ डलर उठाएर बनाएको भवन हो । त्यो जग्गा सरकारकै भए पनि केही फरक परेन । कमसेकम ५०–१०० वर्षका लागि प्रयोग गर्न दिए भइहाल्छ । कार्यालय छाडेर जानुपर्ने स्थिति आउँंछ जस्तो लाग्दैन ।

लामो समय एउटै कार्यसमितिमा रहेर काम गर्नुभएकाहरूबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । प्रतिस्पर्धीलाई केही भन्न चाहनुहुन्छ ?
मनोनयन दर्ता क–कसको हुन्छ, मलाई थाहा छैन । पत्रपत्रिकामा आएको भरमा सबैको मनोनयन दर्ता हुन्छ भन्ने छैन । पत्रपत्रिकामा नआएकाहरूले पनि मनोनयन दर्ता गरेको इतिहास छ । सामाजिक संस्था हो, यसमा सबैले मिलेर जानुपर्छ, सहमतिको वातावरण बनाउन म लचक छु । मसँग प्रतिस्पर्धा गर्ने साथीहरूलाई पनि म त्यही भन्न चाहन्छु । यो लिन आउने होइन, दिन आउने ठाउँ हो ।

प्रकाशित : आश्विन २९, २०७६ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×