कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पितृलाई ८४ व्यञ्जन

कान्तिपुर संवाददाता

बर्दिया — दुना र टपरीभरि एकसेएक परिकार राखिएका छन् । सिद्रा, आलो माछा, सुंगुर, कुखुराको मासु र आलुका मात्रै अनेक परिकार छन् । ८४ व्यञ्जनजस्तै परिकार थारू समुदायमा वर्षको एक दिन पाक्छ । दसैंको नवमीको दिन गाउँभरिका महिलाले एकसेएक परिकार पकाएर एक ठाउँमा जम्मा गर्ने चलन छ । 

ती परिकार आफ्ना लागि भने होइन । आफ्ना दिवंगत पितृ/पुर्खाका लागि ८४ व्यञ्जन परिकार बनाइएका हुन् । पिट्टरवा अर्थात् नवमीका दिन साँझ नाचगान गर्दै महिला र पुरुष नदी वा खोला पुग्छन् । भएभरको परिकार र छाकी मृत्यु भइसकेका पुर्खाका नाममा चढाउँछन् । पुर्खा सम्झेपछि नाचगान गर्दै बचेखुचेको परिकार आफूले खाने चलन छ ।


‘हामी बाँचिरहेकाहरू दैनिक अनेक परिकार खान सक्छौं । तर, एक दिन मरिसकेका हाम्रा पुर्खाको सम्झनामा मिठो परिकार चढाउने चलन छ,’ बर्दिया ठाकुरबाबा नगरपालिका-३, मिर्चैयाकी लक्षनिया चौधरीले भनिन्, ‘पितृलाई सम्झिएर परिकार चढाए उहाँहरूको आत्माले शान्ति पाउने जनविश्वास छ ।’


फरक संस्कृति र रहनसहनमा रमाउने पश्चिम तराईका थारू समुदायले मनाउने दसंैं फरक तरिकाको छ । अन्य समुदायले नवरात्रको पूजा गर्छन् । तर, यहाँका थारू समुदायले भने कुलदेउताको पूजा गर्छन् । अन्य समुदायले दूध र फलफूल चढाउँछन् । थारू समुदायले भने कुलदेउता र पुर्खाका नाममा छाकी दिने चलन छ ।


‘दसैंको एक दिन मात्रै बलि दिने चलन छ । घटस्थापनादेखि भने कुलदेउताको पूजा सुरु हुन्छ । अष्टमी र नवमी रातदिन पुर्खालाई सम्झिँदै पूजा हुन्छ,’ थारू युवा राजकुमार चौधरीले भने, ‘थारू संस्कृति निकै वैज्ञानिक छ । वर्षको एक दिन भए पनि पुर्खाहरूलाई सम्झिने गरिन्छ ।’


थारू समुदाय बढीजसो खेतीपातीमा व्यस्त रहन्छ । त्यसैले पनि दसैं पर्वले उनीहरूका लागि बढी महत्त्व राख्छ । घटस्थापनाका दिनलाई स्थानिय भाषामा दिटिया भनिन्छ । छैटौं दिन (झोल झर्ना) घर सरसफाइ गर्ने, सप्तमीका दिन घर लिपपोत गर्ने चलन छ । अष्टमीका दिन ढिक्रहवा (कुलदेउतालाई ढिक्री) चढाइन्छ । ढिक्री चामलको पिठोलाई बफ्याएर बनाइएको मौलिक थारू परिकार हो । ‘पितृलाई पुज्ने चलन आजको होइन । पुस्तौंदेखि चलेको चलनलाई हामीले पनि निरन्तरता दिई आएका छौं,’ उनले भनिन् ।


प्रकाशित : आश्विन २७, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?