गलैंचा सजाउने कला

कान्तिपुर संवाददाता

काठमाडौँ — सामान्यत:हामी घरमा भुइँमा बिछ्याउन गलैंचाको प्रयोग गर्ने गर्छौं । तर त्यही गलैंचा कलाका लागि माध्यम पनि बन्न सक्दो रहेछ । सूर्य कार्पेटले ८० वटा गलैंचामा विभिन्न चित्रकला भरेर प्रदर्शनी नै गर्‍यो ।

कलाको विकास र महत्त्व बढाउने उद्देश्यले हातले नै बुनेका नेपाली गलैंचालाई नयाँ स्वरूप दिइएको सूर्य कार्पेटले जनाएको छ । कालिन ब्रान्ड नाम राखेर दोस्रो पटक यस्तो प्रदर्शनी गरिएको कम्पनीका सञ्चालक तथा चित्रकार नुरा श्रेष्ठले बताइन् ।

प्रदर्शनीमा रहेका सबै गलैंचाहरूमा मूर्त र अमूर्त कलाहरू समावेश थिए । आफ्नो सानैदेखिको चित्रकला प्रतिको झुकावका कारण दैनिक प्रयोगमा आउने गलैंचामा किन नगरौं भन्ने सोचाइले नै यतातिर लागेको श्रेष्ठले बताइन् । गलैंचाहरूमा पानी, आगो, पहाड र समुद्री सतहमा देखिने छालजस्ता पक्षहरूलाई चित्रण गरिएका छन् ।

गलैंचाहरूमा अधिकांश उज्यालो रंगको प्रयोग बढी गरिएको छ । फूलको आकृति होस् या पहाडको सबै उज्याला नै देखिन्छन् । बाघ, घोडाको शरीरको रूप देखाउन खोजेको गलैंचाहरूमा सामान्य रंगभन्दा केही गाढा उज्याला रंगका छन् । घरका भित्तामा झुन्ड्याएर राख्न बनाएका मण्डला, ‘थर्ड आई’ शीर्षकमा राखिएको महिलाको चित्रमा प्रयोग गरिएको रंगहरूको सन्तुलन संयोजन निकै कलात्मक लाग्छ । चित्रकार एरिना ताम्राकारको चित्र थर्ड आईलाई नै गलैंचामा प्रस्तुत गरिएको श्रेष्ठले खुलाइन् ।

बालबालिकालाई नै भनेर नेपाली गलैंचाहरू नभएकोले उनीहरूलाई नै लक्षित गरेर तयार पारिएका गलैंचाहरू पनि निकै सुन्दर छन् । ‘नेपाली कला र सीप हाम्रो लागि महत्त्वपूर्ण छन्,’ त्रिपुरेश्वरस्थित भगैन भिल्लामा भएको प्रदर्शनीबारे श्रेष्ठ भन्छिन्, ‘नेपाली हातले बनाएका नेपाली गलैंचाको साथै हाम्रो नेपाली चित्रकलाको प्रवर्द्धन गर्न यो प्रदर्शनीले सघाउ पुर्‍याउन सक्छ ।’ उनका अनुसार घरको सौन्दर्य बढाउन र कलाप्रेमीका लागि पनि यो दोहोरो काममा प्रयोग हुन्छ ।

कला र हातको काम भएकोले मूल्यको हिसाबले विदेशी गलैंचाभन्दा अलि महंगो पर्ने हुँदा बजारमा प्रतिस्पर्धा गर्न खासै नसकेको गलैंचा संस्थामा नै आवद्ध इन्द्रजित श्रेष्ठ बताउँछन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मनिषा कोइरालाले भनिन् - ‘शय्यामा छँदा स्वास्थ्यको महत्त्व बुझें’

अतुल मिश्र

काठमाडौँ — बलिउड अभिनेत्री मनीषा कोइरालाले आफू अस्पतालको शय्यामा रहँदा स्वास्थ्यको महत्त्वबारे थाहा पाएको बताएकी छन् । उनी आफूलाई क्यान्सर रोग लागेको पहिचान भइसकेपछि स्वास्थ्यको महत्त्व थाहा पाएको जनाइन् ।

भाष्कर तेजश्री स्मृति प्रतिष्ठानद्वारा बुधबार मुटु रोगको जोखिमपूर्ण व्यवहार न्यूनीकरणसम्बन्धी अध्ययन सार्वजनिकीकरण समारोहमा उनले उक्त कुरा बताएकी हुन् ।

‘यो मेरो जीवनको दोस्रो मौका हो,’ कोइरालाले भनिन्,‘म बलिउडको एक्ट्रेसभएकोले मेरो जीवनशैली सामान्य थिएन ।’

स्वस्थ नहुँदा जतिसुकै पैसा भए पनि आनन्द नमिल्ने औंल्याउँदै मनीषाले सकारात्मक जीवनशैलीको उपयोग गरेर आफूलाई स्वस्थ राख्नतर्फ समय दिनुपर्ने बताइन् । आफूलाई स्वस्थ राख्न शिक्षा, जानकारीसँगै स्वस्थकर जीवनशैली अपनाउनुपर्ने औंल्याउँदै उनले भनिन्, ‘यो हामी कसरी गर्न सक्छौं ठूलो प्रश्न हो ?’

स्वस्थकर जीवनशैली शरीरसँग सम्बन्धित मात्र नभई मन मस्तिष्क, भावनात्मक, मनोवैज्ञानिक पक्षसमेत रहेको उनले औंल्याइन् । आहारसमेत स्वस्थतातर्फ जाने बाटो रहेको जनाउँदै मनीषाले भनिन्, ‘कस्तो आहार, कस्तो भोजन छ, धेरै सोच्नुपर्छ । अर्ग्यानिक, साकाहारी उपयुक्त हो ।’

जीवनले मानवलाई शरीर दिएको र त्यसलाई हामीले सकारात्मक उपयोग गर्नुपर्ने भन्दै उनले दिनहुँ ८–९ घन्टा निदाउनुपर्ने, तनाव कम गर्नु, व्यायाम, स्वस्थकर खानपानमा समेत ध्यान पुर्‍याउनुपर्ने बताइन् । यसका लागि योग, ध्यान, तनाव कम गर्ने उपाय आदि अंगिकार गर्न सकिन्छ ।

मनुष्य भएकैले हामी सबैलाई थुप्रै चुनौती, बाधा, अवरोध आउने गरेको जनाउँदै मनीषाले भनिन्, ‘योसँग जुध्ने, यसलाई पराजित गर्ने शक्ति पनिहामीसँगै छ ।’

उनले ग्लास आधा खाली भएको नहेरी आधा भरेको हेर्ने दृष्टिकोणसहित आफूलाई बलियो र सकारात्मक बनाउनुपर्नेसमेत बताइन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT