म्यान्मारबाट आइपुग्यो ‘तनक्खा’

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यान्मार (बर्मा) का युवतीहरू सौन्दर्य प्रसाधनको रूपमा चन्दनको लेप प्रयोग गर्छन्, जसलाई भनिन्छ ‘तनक्खा’ । पुरानो सहर माण्डले होस् या यांगुन, दुवै गालामा चिटिक्क तनक्खा पोतेर हिँड्नेहरूको पंक्तिले सबैलाई तान्छ । नियात्राकार युवराज नयाँघरेले यही तनक्खालाई प्रतीक बनाएर नियात्रा कृति निकालेका छन् ।

उनको १६ औं नियात्रा कृति ‘तनक्खा’ को राजधानीमा नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरे, उपाध्यक्ष देवेन्द्र अधिकारी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष राधेश्याम लेकाली लगायतले लोकार्पण गरे ।

अध्यक्ष घिमिरेले नयाँघरेको नयाँ कृतिले नेपाल र म्यान्मार (बर्मा) मा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने दाबी गरे । ‘कुनै समय नेपालीहरू रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरूले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन्,’ उनले भने, ‘पुस्तकमा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ ।’ कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै युवा समालोचक महेश पौडेलले भने, ‘देश छाडे पनि नेपालीको हृदय आफ्नै माटोसित गाँसिएको हुन्छ । यो कृतिले उक्त भावनालाई बलियोसित उठाएको पाएँ । नेपाली साहित्यमा यस्ता कृतिको निकै खाँचो छ ।’ पौडेलले ‘तनक्खा’ लाई नेपाली यात्रा साहित्यको अब्बल कृतिको रूपमा प्रशंसा गर्दै यसले बर्मा र नेपाली समाजको सम्बन्ध अझ गहकिलो पारेको दाबी गरे ।

केही वर्षअघि बर्माको यात्रा गरेर फर्केकी साहित्यकार मोमिला जोशीले पुस्तक पढ्दा फेरि उतै पुगेको अनुभूति भएको बताइन् । ‘यो नयाँघरेको लेखकीय सफलता पनि हो । उहाँको प्रस्तुति शैली एकदमै मनछुने हुन्छ,’ उनले भनिन्, ‘म्यान्मारका नेपालीहरूको जीवनशैली, संस्कृति र सभ्यताको शल्यक्रिया पुस्तकमा छ ।’ निबन्ध कृतिकै लागि मदन पुरस्कार पाइसकेका नयाँघरेले ‘आफ्नो मूलथलो छोडेर म्यान्मार पुगे पनि मौलिक सांस्कृतिक पहिचान जोगाइरहेको नेपाली समुदायले आफूलाई भावुक बनाएको र त्यही भावुकताले पुस्तक जन्माएको’ बताए ।

‘आफ्नो मौलिक पहिचानको भोक कस्तो हुन्छ, त्यो बुझ्न म्यान्मार काफी छ,’ उनले भने, ‘त्यहाँको नेपालीको इतिहास र वर्तमानको वर्णनसँगै भविष्यमा परिचय के हुन सक्छ भन्ने विवेचना गरेको छु पुस्तकमा ।’

उनले ‘बर्मामा नेपालीले कृपा होइन, कदर पाएका छन्, दया होइन, सम्मान पाएका छन्’ भन्दै बर्मामा नेपालीको पहिचान ज्यादै सम्मानित पाएको पनि बताए । ‘हिजो गाई पाल्न गएकाहरू आज ठूला व्यवसायी बनेका छन्,’ उनले भने, ‘पुस्तकमा त्यहाँका नेपालीको सबै पुस्तालाई समेटेको छु ।’ कार्यक्रममा अनेसास अध्यक्ष राधेश्याम लेकाली, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका महासचिव तुलसी ज्ञवालीलगायतले पनि पुस्तकको प्रशंसा गरे । ‘तनक्खा’ भने रत्न पुस्तक भण्डारले छापेको हो ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्

मुस्कानलाई अमिताभको सन्देश

कान्तिपुर संवाददाता

काठमाडौँ — गत भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । हाल कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको स्वास्थ्यलाभको कामना गर्दै अमिताभले उनलाई ‘हिम्मतवाली बालिका’ का रूपमा चित्रण गरेका छन् ।

अमिताभको भिडियो सन्देशका लागि खातुनको उपचारमा सघाइरहेका उज्ज्वल विक्रम थापाले भूमिका खेलेका हुन् । उनले बुधबार अपराह्न अस्पतालमा मुस्कानलाई सन्देश सुनाइरहेको भिडियो आफ्नो फेसबुकमा अपलोड गरेका छन् ।

भिडियोमा अमिताभले मुस्कानमाथि भएको घटना थापामार्फत् थाए पाएको र त्यसले आफूलाई दु:खी तुल्याएको बताएका छन् । ‘तपाईंलाई जे भयो, त्यो निकै दर्दनाक भयो,’ उनले भिडियोमा भनेका छन्, ‘यस्तो घटना थाहा पाएर निकै दु:ख लाग्यो ।’ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अमिताभले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने आशासहित अन्य बालबालिका पनि त्यस्तो नहोस् भन्ने कामना गरेका छन् । उनले मुस्कानको नामको समेत प्रशंसा गर्दै हौसला दिएका छन्, ‘तपार्इंको मुहारमा सँधै मुस्कान छाइरहोस् ।’

खातुनलाई तीन साताअघि वीरगन्जमा दुई जना युवाले पानी भनेर झुक्याउँदै एसिड पिलाउने प्रयास गरेका थिए । उनले पिउन नमानेपछि उनीहरूले अनुहारमा छ्यापेका थिए । नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनको थप उपचार अहिले कीर्तिपुर अस्पतालमा भइरहेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्