नेपाली खाना खोज्न टुर

कान्तिपुर संवाददाता

काठमाडौँ — बजारमा अनेक मेनु उपलब्ध छन् । बर्गर, पिज्जाजस्ता पश्चिमा स्वाददेखि चिनियाँ र पन्जाबीजस्ता छिमेकी खानेकुरासम्म । नेपाली रेसिपी भने विस्तारै लोप हुँदै गइरहेको छ । यस्तोमा नेपाली खाना संस्कृति प्रवर्द्धनको ध्येयले ग्लोबल नेप्लिज सेफ फेडेरेसनले पूर्वदेखि पश्चिमसम्म ‘फुड टुर’ सुरु गरेको छ । सोमबारदेखि सुरु टुरमा सेफ प्रेमलाल घिसिङ र उनको टोली छ ।

टुर थाल्नुभन्दा अघि राजधानीको पर्यटन बोर्डमा सेफ घिसिङले लोप भइसकेको नेपाली मौलिक खानाको खोजी गर्न एक सय एक दिनको अभियानमा लागि परेको बताए । उनीसहितको पाँच जनाको टोलीले झापा हुँदै पश्चिममा कैलाली, कञ्चनपुरसम्म नेपाली खाना खोजी गर्ने छ । टुरको क्रममा टोलीले तराइमा थारू खाना, हिमालमा शेर्पा खाना, पूर्वमा राजवंशीका खाना, थकाली खाना, तामाङ खाना, नेवारीको खानाहरूको खोजी गर्ने छ । ‘उपत्यकामा मात्र प्रचलित नेवारी खानालाई अन्य नेवार बस्तीमा बनाउन सिकाउने छौं,’ तामाङले भने ।

सेफ फेडेरेसनका महासचिव मोहन गजुरेलले बाहिरिया स्वादको प्रवेशसँगै बजारको चर्को दबदबाका कारण पुवा, चाम्रेजस्ता नेपाली मौलिक खानाको आधुनिकीकरण हुन नसकेको र अहिले ती हराइसकेको दाबी गरे । ‘पहिलेको चाम्रे अहिले पुलाउमा रूपान्तरण भइसकेको छ,’ उनले भने, ‘अब बजारमा नेपाली खानालाई पनि प्रवर्द्धन गर्नुपर्छ । सांस्कृतिक विविधता भएको हाम्रो मुलुकमा खानामा पनि थुप्रै विविधता छन् । फुड टुरले खानाको विविधता खोज्ने छ ।’

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर सेफ फेडेरेसन नेपालले मुलुककै सबैभन्दा होचो स्थान र पहिलोपटक सूर्योदय हुने इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुमा पनि मौलिक खाना महोत्सव गर्ने जनाएको छ । ‘भ्रमण वर्षभित्र पर्यटन बोर्ड तथा विभिन्न सरोकारवालासँग सहकार्य गरेर फेडेरेसनले अग्ला स्थान अर्थात् अन्नपूर्ण बेस क्याम्पमा समेत खाना महोत्सव गर्ने योजना बनाइरहेका छौं,’ गजुरेलले भने । सेफ प्रेमलालले चाहिँ पहिले गाउँमा खाइने खाना अहिले नपाउने हुँदा यो अभियान सुरु गरेको बताए । ‘सेफले भान्से भएर खाना पकाउने मात्र होइन, त्यो भन्दा माथि उठेर लोप भएका खाना पनि खोज्नुपर्छ,’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डाजाङमा गायक बम्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्य नेपालको महाभारत पर्वतमा प्रचलित लोक लय टिपेर गीत गाउँदै र लेख्दै आएका छन् फूलकुमार बम्जन । थुप्रै गीति सिर्जना धनी यी गायकले हालै सेलो आधारित ‘जन्मदिनको गीत’ पनि सार्वजनिक गरेका थिए । उनै बम्जन साहित्यिक संस्था तामाङ डाजाङको अध्यक्ष चुनिएका छन् ।

डाजाङको १० औं अधिवेशनले बम्जनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा साहित्यकार मणिकलाल घिसिङ, सचिवमा रंगकर्मी निकिता लामा, सहसचिवमा साम्देन दोङ र कोषाध्यक्षमा फूलमाया लामा ‘प्रयत्ना’ निर्विरोध भएका छन् ।

सदस्यमा कवि ईश्वर थोकर, कविराज काल्तान, हीरामाया घिसिङ, दाम्जेदोर्जे मोक्तान, शान्ति लामा, वाङ्छु पासाङ तामाङ, तेज योञ्जन, स्वयम्बरसिंह लामा, रचना मोक्तान, हीरामाया घिसिङ ‘कुसुम’ र मानकाजी तामाङ चयन भएका छन् ।

डाजाङले तामाङ साहित्य लेखन, पत्रिका तथा साहित्यिक पुस्तक प्रकाशन तथा नियमित साहित्यिक शृंखला चलाउँदै आएको छ ।

प्रकाशित : आश्विन १५, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्