१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याई

प्रमिता ढकाल

भरतपुर — बडादसैंको नवरात्र आइतबारदेखि सुरु भयो । चितवनको खैरहनी नगरपालिका—१ का बोधराज डल्लाकोटीलाई नवरात्रका लागि दुर्गाका मूर्ति बनाउन यतिबेला भ्याइनभ्याई छ ।

दुर्गा मूर्ति बनाउन भ्याइनभ्याई

बिहानदेखि बेलुका अबेरसम्म उनी मूर्ति निर्माणमा खटिएका छन् । बडादसैंको नवरात्रभरि दुर्गापूजा गरिन्छ । ९ दिनसम्म पूजा गरिएको देवीको मूर्तिलाई नदीमा सेलाउने परम्परागत प्रचलन छ । विभिन्न टोल विकास समिति, मन्दिर व्यवस्थापन समितिले सामूहिक पूजनका लागि दुर्गा मूर्ति लैजान्छन् । घटस्थापनाको दिन उनकोबाट मूर्ति लैजानेहरू थुप्रै थिए ।


दुर्गा पुजनका लागि आवश्यक एक सेटमा देवी दुर्गासहित ६ वटा देवदेवीको मूर्ति आवश्यक पर्छ । देवी, दानव, गणेश, कुमार, लक्ष्मी र सरस्वतीको मूर्ति तयार भएपछि मात्रै दुर्गा पूजाका लागि मूर्ति तयार हुन्छ । माटो र परालको प्रयोग गरेर बोधराज आफ्नै हातले मूर्ति बनाउँछन् । माटो र परालले बनेको मूर्तिलाई कपडा, शृंगार, मुकुटले सजाएपछि देवीको शक्ति स्वरूप तयार हुन्छ । एक सेट मूर्ति बनाउन करिब २५ हजार खर्च हुन्छ । करिब एक महिनाअघिदेखि नै बोधराजले मूर्ति बनाउन सुरु गरेका हुन् । ‘अर्डर आउनुअघि नै बनाउन थालेको थिएँ,’ बोधराजले भने, ‘अर्डर आउला र बनाउला भन्दा त भ्याइँदै भ्याइन्न ।’


दक्ष कामदार नहुँदा सबै काम आफैंले गर्नुपर्ने भएकाले एक महिनाअघिबाटै मूर्ति निर्माण सुरु गरेको उनी बताउँछन् । धेरैपटक काम सिकाउने गरी सहयोगी राखेका उनले निरन्तरता कसैबाट पाएनन् । अधिकांश युवाको रोजाइमा वैदेशिक रोजगार पर्ने भएकाले यहाँ सीपको काम गर्ने जाँगर नदेखाउने उनको अनुभव छ । ‘मूर्तिकलामा सीपसँगै एकाग्रता चाहिन्छ,’ उनले भने, ‘आजकालका युवामा एकाग्रता निकै कम पाउँछु ।’ यस पटक पनि मूर्ति निर्माणपछि रंगरोगनका लागि एक जना सहयोगी राखेका छन् । दैनिक ज्यालामा काम गर्ने गरी आवद्ध भएका नवलपरासीका तुलबहादुर दुर्लामी पनि वैदेशिक रोजगारका लागि पासपोर्ट तयार गरेर बसेका छन् ।


उद्योग दर्ता गरी व्यवस्थित रूपमा अघि बढेका बोधराजलाई यो समयमा अर्को समस्या पनि छ । प्रत्येक वर्ष विश्वकर्मा पूजादेखि नवरात्रसम्मका लागि आउने छिमेकी मुलुकका घुमन्ते व्यापारीसँग अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता उनलाई छ । ‘हामीले माटो र परालबाहेक सबै सामान महँगोमा किन्नुपर्छ,’ उनले भने, ‘उनीहरूको प्रतिस्पर्धामा जाँदा लागत मूल्यभन्दा पनि कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।’ साजसजावटका कच्चा सामग्रीसहित बन्दोबस्तीले आएका उनीहरूले सस्तोमा मूर्ति बिक्री गर्दा ग्राहकको रोजाइमा पर्ने उनले बताए । फर्माको प्रयोग गरी छिटोछिटो ठूलो संख्यामा निर्माण गरिएका सस्ता मूर्तिको तुलनामा एक महिनाको आफ्नो लगन बिक्री गर्नुपर्दा खिन्न मान्छन् ।


सरकारलाई कर तिरेर व्यवसाय दर्ता गरी उद्यम गरिरहँदा पनि सरकारले आफ्नो समस्यालाई बुझ्ने कोसिससम्म नगरेको उनको भनाइ छ । एकातर्फ अस्वस्थ्य प्रतिस्पर्धा, अर्कोतर्फ कामदारको अभाव झेल्दै आएका बोधराजले दसैंका लागि तयार गरिएका मूर्तिमा नाफाभन्दा पनि धर्मको आस्था र सन्तुष्टि खोज्ने गरेको बताए । अन्य समयमा उनी सिमेन्ट, बालुवा, रड, फाइबर, मार्बल प्रयोग गरी मूर्ति निर्माण गर्छन् । अरू बेला शिव, पार्वती, गणेश तथा बुद्ध मूर्तिको माग बढी आउने उनले बताए ।


भगवान्का मूर्तिबाहेक मेला महोत्सवलाई आवश्यक पर्ने कलात्मक मूर्ति, हात्ती, गैंडाका मूर्तिहरू तयार गर्छन् । उनले बनाएका मूर्तिहरू काठमाडौं, बुटवल, गाईघाट, सुनसरी, मोरङ, झापा, पर्वतसम्म पुगेका छन् । मूर्तिकलामा रमाइरहेका बोधराज यसअघि पोट्रेट चित्र कोर्ने गर्थे । २०५० सालदेखि सुरु गरेको पोट्रेट चित्रकला उनले २०६५ सालमा छोडेका हुन् ।


‘चित्रकलाबाट जीवनयापन सहज हुन छाडेपछि मूर्तिमा रमाउन चाहेँ,’ उनले भने, ‘धेरै प्रतिस्पर्धी नहुँदा यसमा राम्रै आम्दानी छ ।’ उनले बनाएका मूर्तिहरू न्यूनतम २५ सय देखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर मासिक एक लाख रुपैयाँ आम्दानी हुन्छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?