सरुभक्तको प्रतिगन्ध

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली साहित्यका बहुविधामा विशेष दख्खल राख्ने साहित्यकार सरुभक्तको नयाँ उपन्यास ‘प्रतिगन्ध’ दसैंको संघारमा उनकै जन्मस्थल पोखराबाट सार्वजनिक हुने भएको छ  । १२ वर्षपछि आउन लागेको यो उपन्यासबारे उनी भन्छन्, ‘पृथ्वीमा मानवेतरका प्राणीहरू प्राकृत गन्धले चिनिन्छन् भने मानवहरू आत्मिक गन्धले  ।

यसक‍ो पछाडि निश्चय पनि सभ्यताको इतिहास जिम्मेवार हुन्छ । तर समकालीन विश्वपरिवेश बदलिएको छ । यस बदलिएको परिवेशमा नेपाली आख्यान विधाको एक भिन्न चित्रण प्रतिगन्ध हो ।’

‘पागलबस्ती’ उपन्यासका लागि ०४८ को मदन पुरस्कार प्राप्त गरेका सरुभक्तका समय त्रासदी, तरुनी खेती र चुली उपन्यास चर्चित छन् ।

कृति प्रकाशनबारे बुक–हिलका अध्यक्ष भूपेन्द्र खड्काले लामो समयको मौनतापछि सरुभक्तको यस उपन्यास नेपाली डायस्पोरा र विश्वपरिवेशको एक अर्थगर्भित महागाथा हुने दाबी गरे ।

प्रकाशित : आश्विन ९, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

टेक्सचर विधिमा अमूर्त कला

सुशीला तामा‌ङ

(काठमाडौं) — घरको माथिल्लो तलामा रहेको कोठामा पुग्नेबित्तिकै भित्ताभरि अरुपण अर्थात् रूप नभएका थुप्रै टेक्सचर विधि (खस्रो सतह) प्रयोग गरेर बनाइएका अमूर्त कलाहरू छन्  । विभिन्न रंगहरूको संयोजन गरी तयार पारिएका कतै पहाड, कतै बादल, कतै चरा उडेजस्तो देखिने चित्रहरू मनमोहक देखिन्छन्  ।

नेपालमा किरण मानन्धर, मुकेश श्रेष्ठ, शंकरराज सुवालजस्ता चित्रकारहरूले टेक्सचर विधि प्रयोग गरी बनाएका चित्रहरू फाट्टफुट्ट कहीँकतै देखिए पनि यसै विधिलाई मात्र अनुसरण गर्दै गरिएका एकल चित्रकला प्रदर्शनी भने विरलै छन् । चित्रकार एवं कला समीक्षक रमेश खनालले भने सबै अमूर्त चित्रहरूमा टेक्सचर विधि नै अपनाएर एकल प्रदर्शनी गरेका छन् ।

विभिन्न टेक्सचरहरू प्रयोग गरी बनाएका खनालका २८ वटा चित्रहरू भाद्र २८ गतेदेखि लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । झन्डै पाँच दशक चित्रकलामा नै आफ्नो समय बिताइसकेका खनालले सबै चित्रहरूमा टेक्सचरलाई प्रयोग गरिएको एकल प्रदर्शनी सम्भवतः पहिलो नै रहेको दाबी गर्छन् ।

करिब दुई वर्षअघि अमेरिका जाँदा खनालले त्यहाँ यस विधिलाई प्रयोग गरी आयोजित पाँच/छ दिनको कार्यशालाबाट प्रभावित भएर नै आफ्नो सिर्जनाहरूमा टेक्सचर विधिलाई पनि सँगसँगै लिएर जान थालेको बताउँछन् । उनका अनुसार चित्रकलालाई गुणात्मक र सौन्दर्य प्रदान गर्न आधुनिक समयमा प्रयोगमा आएको यो नौलो विधि हो । जसमा चित्रकलाको भुइँ (सतह) खस्रो वा चिल्लो बनाई सुन्दर बनाइन्छ । यस्ता चित्रहरूले अवलोकन कर्ताहरूलाई मोहित पार्न सक्छ । खनालले अमूर्त कलामा बालुवा, फेबिकल लगायतका वस्तुहरू प्रयोग गरी विभिन्न आकार र रंगमा आकर्षक देखिने गरी टेक्सचर विधिमा ढालेका छन् । प्रायः सुनौला रंगहरू प्रयोग गरिएका चित्रहरूमा राउन्ड, स्ट्राइबजस्ता टेक्सचरहरू छन् ।

चित्रहरूमा खनालले नीलो, सेतो, खैरो, पहेँलो, कालो, रातो रंगहरूलाई पनि सन्तुलित ढंगले प्रयोगमा ल्याएका छन् । चित्रकलाको सतहमा होस् या चित्रमाथि नै टाँसिएका टेक्सचर विधिका चित्रहरू निकै नै आकर्षक छन् । स्वतन्त्र अभिव्यक्ति, रंगको सन्तुलन, सौन्दर्यगत हिसाबले अमूर्त चित्रकलाको आफ्नै महिमा र अस्तित्व छ ।

अमूर्त चित्रको महत्त्व दर्साउँदै उनी भन्छन्, ‘चित्रलाई सिंगारयुक्त बनाई सौन्दर्य दिन र हेर्नेहरूलाई मनोवैज्ञानिक रूपमा नै सकारात्मक भाव पैदा गर्न टेक्सचर विधि अत्यन्तै आवश्यक छ ।’ अमूर्त कलासँगै यस किसिमको प्रयोगले चित्रकलाको क्षेत्रमा चित्रकारको स्तरसमेत निर्धारण हुने भएकोले यसै विधामा केही नयाँ गर्ने सोच बनाएका सबै चित्रकारहरूलाई यस विधि उपयोगी हुने उनको मत छ ।

चित्रमा प्रयोग भएको सुनौला रंगलाई खुसी र प्रफुल्ल मुद्राका रूपमा विम्ब बनाउँदै अनेक रंगहरूसँग आफूलाई तुलना गरेर चित्रमा रोमान्टिक मुडलाई उनले प्रस्तुत गरे पनि यस्ता खाले चित्रमा सबैको आ–आफ्नो अवधारणाहरू रहने खनालको धारणा छ । ‘चित्र हेरेर मलाई लागेको विचार अरूलाई नलाग्न सक्छ,’ उनी भन्छन्, ‘यसमा कुनै देखिने यथार्थपरक वस्तुको दृश्य छैनन् ।’

अमूर्त चित्र अवलोकन गरेको आधारमा नै सबैले आफ्नै अभिव्यक्ति दिन सक्छन् । यसबाट चित्रकला बनाउने व्यक्तिको अलवा हेर्नेलाई पनि चित्रबारे अर्थ्याउँदै जाँदा मानसिक अभ्यास हुन्छ । भावनात्मक रूपमा नै कुनै वस्तुप्रति प्रत्येक व्यक्तिको छुट्टाछुट्टै धारणाहरू निर्माण गरी चित्रमा स्वच्छन्दतावादी शैली, सकारात्मक भावको विकासका लागि पनि यथार्तवादी चित्रभन्दा अमूर्त चित्रकला सिर्जनामा जोड दिनुपर्ने विचार खनाल व्यक्त गर्छन् । उनको ३४ औं एकल प्रदर्शनी आगामी असोज २८ गतेसम्म जारी रहने छ ।

प्रकाशित : आश्विन ९, २०७६ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्