कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कलिला चित्रकारको पाको कला

ललितपुर — कोठाका भित्तातिर हाँसिरहेकी हजुरआमा, मधुर मुस्कानमा रहेका हजुरबुबाले जोकोहीलाई आफ्नै घरका अग्रज सदस्यको याद दिलाउँछ । यी पुराना पुस्ताका हजुरबुबा र हजुरआमालाई वास्तविक नभएर पोट्रेट शैलीमा पानीमा रङ प्रयोग गरी साना चित्रकारले चित्रमा उतारेका हुन् ।

कलिला चित्रकारको पाको कला

पाटनढोकास्थित क्लासिक ग्यालरीमा कम्युनिटी चिल्ड्रेन आर्ट स्कुलले शनिबारदेखि सुरु गरेको प्रदर्शनीमा आर्ट स्कुलका १२ देखि १७ वर्षसम्मका १२ प्रशिक्षार्थी चित्रकारले मानिस, प्रकृति र जीवलाई ४३ वटा चित्रमा सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।


‘टुएल्भ थट्स’ शीर्षक दिइएको प्रदर्शनीका चित्रमा विषयवस्तु तथा रङ संयोजनको सन्तुलित प्रयोगले विभिन्न भाव दर्साइएको चित्रकार सरीता डंगोलले बताइन् । ‘सिक्दै गरेको अवस्थामा यतिको चित्र बनाउन सक्नु ठूलो कुरा हो,’ उनले भनिन्, ‘प्रत्येकले आफूलाई मनमा लागेका कुरा चित्रमा व्यक्त गर्न सकेका छन् ।’


१४ वर्षका आर्जन तन्डुकारले बनाएको हजुरआमा र हजुरबुबाका पोट्रेट चित्र निकै सुन्दर छन् । १७ वर्षकी सुदीक्षा डंगोलले अक्रेलिक माध्यममा बनाएको ढोकामा चिहाइरहेका ३ आनीहरूको चित्र उत्तिकै लोभलाग्दो देखिन्छ । १४ वर्षका प्रनिक श्रेष्ठले पेन कलर, १३ वर्षका अग्रिम श्रेष्ठ, १२ वर्षका अंशुल श्रेष्ठ, स्वस्ती बज्राचार्यले पानी रङमा पोट्रेट शैलीका चित्र तयार पारेका छन् ।


१५ वर्षका अग्रिम रानाले पेपरमा बल पेनको सहायताले तयार गरेको निराश र सोचमग्न मुद्रामा रहेकी वृद्धाका चित्र अर्थपूर्ण छन् । अनुहारमा खुम्चिएका रेखासँगै एकनासले हेरिरहेको चित्रले जोकोहीलाई सोचमग्न बनाउँछ । स्वस्तीले नै पानी रङका माध्यममा बनाएको दौडिरहेको गैंडाको चित्रको वेग, प्रयोग गरिएको रङले जंगली जनावरको चित्रण गरेको छ ।


१६ वर्षका सकुल कालिराजले अक्रेलिक माध्यममै बनाएका ल्यान्डस्केप शैलीको चित्र पनि अग्रज कलाकारको झैं लाग्छ । हराभरा खेत, पहाड, सेता हिमाल, पहाडमुनिको घरहरू, खेतमा थुपारिएका परालका थाँक्राले नेपालको पहाडी भेगको सम्झना गराउँछ ।


१२ वर्षका विशेष्ट बज्राचार्यले चित्रमा पानी रङमा बच्चा बोकिरहेकी महिलालाई उतारेका छन् । प्रदर्शनीमा प्रायः मूर्त शैलीकै चित्र भए पनि १७ वर्षका मनस्वी बुढाथोकीले भने अमूर्त शैलीमा घना बस्ती र जंगलजस्तो देखिने चित्र बनाएका छन् ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?