जगदम्बा–श्री र मदन दिइयो

(ललितपुर) — मञ्चमा बीचमा दौरा, सुरुवाल र ढाका टोपीमा चिटिक्क सजिएर बसेका थिए, बैरागी काइँला । काइँलासँगै थिए, सर्ट–पाइन्टमा योगेश राज । झन्डै पाँच सयको हाराहारीमा आमन्त्रित साहित्यकारहरू । 

जगदम्बा–श्री र मदन दिइयो

शुक्रबार पाटनस्थित रातो बंगला स्कुलको कमलमणि थिएटरमा आयोजित जगदम्बा–श्री र मदन पुरस्कार समर्पण समारोहका पुरस्कृतद्वय बैरागी काइँला र योगेश राजलाई आयोजकले सुरुवातमै फूलको माला र दुबोको माला पहिराएर बेहुलाजस्तै सजाइदिए । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बेहुलाद्वयलाई नगदसहित पुरस्कार समर्पण गरे । गुठीले गतवर्षका प्रकाशित पुस्तकमध्ये पुरस्कारका लागि प्रतिस्पर्धामा आएकाबाट छानेर कवि काइँलालाई जगदम्बा–श्री र योगेश राजको कृति ‘रणहार’ लाई चार–चार लाख रुपैयाँसहितको मदन पुरस्कार दिइएको हो ।


‘बैरागी काइँलाज्यू, यहाँसँग धेरै लामो भेटघाट नभए पनि यहाँको लोकप्रिय कविता ‘मातेको मान्छेको भाषण’ ले धेरैपटक भेट गराएको छ,’ आफ्नो लिखित मन्तव्यमा गुठी अध्यक्ष दीक्षितले यसो भनिरहँदा काइँलालाई जगदम्बाश्री भने लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन, अनुसन्धान अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा योगदान गरेबापत् दिइएको हो ।


बैरागी काइँलाको उपनामले चर्चित तीलविक्रम नेम्बाङ तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता पनि हुन् ।


‘मुन्धुमप्रति मेरो चासो आरम्भमा साहित्यकारको हैसियतमा बढ्यो । निकै पछि मात्र मैले मुन्धुमभित्रको लिम्बू जीवन दर्शनलाई हेर्न थालेको हुँ,’ जगदम्बा–श्री ग्रहणपछि कवि काइँलाले मन्तव्य दिँदै भने, ‘मुन्धुमप्रतिको मेरो झुकाव मानवशास्त्रझैं ज्ञानका अनुशासनमा आधारित नभई मुन्धुमभित्रको सुन्दर र प्रभावशाली काव्यात्मकताले वशीभूत भएर तथा लोपोन्मुख मुन्धुमको संरक्षण र सम्वर्द्धनका हेतुले हो ।’ उनले मुन्धुमको संकलन, सम्पादन र नेपाली भाषामा अनुवादका लागि आफूले जीवनका महत्त्वपूर्ण वर्षहरू खर्चिएको बताए ।


आख्यान ‘रणहार’ मार्फत् समाजले इतिहासलाई हेर्ने र बुझ्ने फरक आँखा भेट्टाएको दाबी गर्दै मदन पुरस्कार गुठीका अध्यक्ष दीक्षितले यस्ता कामले पुर्खा र हामीले टेकेको धर्ती, देखेको र महसुस गरेको कला, संस्कृति, वास्तुकला र समग्र मध्यकालीन समाज र भूगोललाई बुझ्न सघाएको तर्क गरेका थिए ।


‘रणहार’ लेखक योगेश राजले रित्ता ठाउँको इतिहास विषयमा मन्तव्य दिँदै थपे, ‘सबै ठाउँले हामीलाई सहेको हुन्छ । हामीमध्ये थोरै मात्र केही ठाउँको इतिहास वा उपन्यास लेख्न अभिशप्त हुन्छौं ।’


पुरस्कार समर्पण समारोहमा जनस्वास्थ्य क्षेत्रमा लामो समयदेखि समर्पित डा. रिता थापाले ‘शून्य तहदेखि सहस्राब्दीतिरको यात्रा’ विषयमा रही प्रवचन दिएकी थिइन् । डा. थापाले सन् १९६० को दशकको स्वास्थ्य सूचकहरूलाई आजकोसँग दाँज्दा नेपालको स्वास्थ्य स्थितिमा आश्चर्यचकित परिवर्तन देखिने गरी केही उदाहरण पेस गरेकी थिइन् ।


यस्तो चामत्कारिक छलाङ मार्न देशको राजनैतिक स्थिरताले वडास्तरसम्म पुग्ने पिरामिड ढाँचाको स्वास्थ्य प्रणालीको विकास मुख्य कारक रहेको जिकिर गरिन् । ६ दशक लामो मदन तथा तीन दशक लामो जगदम्बा–श्री नेपाली भाषाको सर्वाधिक प्रतिष्ठित र ठूलो राशिका पुरस्कार हुन् ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?