३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पुस्तक आयात कर फिर्ता गर्न माग

काठमाडौँ — लेखक तथा विज्ञहरूले सरकारद्वारा पुस्तक आयातमा लगाइएको भन्सार महसुल फिर्ता हुनुपर्ने बताएका छन् । गत साउनदेखि लगाइएको पुस्तक कर संविधानविपरीत र नेपालले गरेको अन्तर्राष्ट्रिय महासन्धिविरुद्ध रहेको दाबीसमेत उनीहरूको छ ।

‘अन्तर्राष्ट्रिय प्रकाशनका पुस्तकहरू नेपालमा आयात गर्दा चर्को कर तिर्नु पुस्तक संस्कृतिमाथि प्रहार हो,’ नेकपाका नेता तथा लेखक रघुजी पन्तले भने, ‘सरकारले आफैं हस्ताक्षर गरेको युनेस्को महासन्धिसमेत बिर्सियो । महासन्धिमा ज्ञानको प्रवर्द्धन गर्न कुनै किसिमको अवरोध नगर्ने उल्लेख छ ।’


नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले बुधबार आयोजना गरेको ‘पुस्तक आयातमा लागेको भन्सार महसुल र यसको असर’ विषयक अन्तरक्रियामा उनीहरूले पुस्तक आयातमा कर लगाइनु गलत भएको बताए । ‘किताबमा १२.६८ प्रतिशत भन्सार कर लगाउनु संविधानविपरीत छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँले भने, ‘संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँच हुने छ भनिएको छ । यो ज्ञानमाथि प्रतिबन्ध लगाउने खेल हो ।’


प्राध्यापक रमेशप्रसाद भट्टराईले भारतबाहेक अमेरिका र एसियाली मुलुकमा पुस्तक आयात गर्दा कर तिर्नु नपर्ने बताए । ‘ज्ञान उत्पादन गर्ने प्राध्यापकहरूमाथि कर थुपारेर ज्ञान निर्माण प्रक्रिया अवरुद्ध पार्ने कर प्रणाली राज्यले फिर्ता लिनुपर्छ,’ उनले भने, ‘अनुसन्धानका निम्ति सन्दर्भ स्रोत पुस्तक अनिवार्य हुन्छ । एकजना विद्यावारिधि शोधार्थीका निम्ति २० वटा स्रोत सन्दर्भ पुस्तक सिफारिस गरिएका छन् । ती सबै विदेशी पुस्तक छन् । त्यसरी ज्ञान किन्ने प्राध्यापकमाथि प्रतिबन्ध लाग्दै छ ।’


नेल्टाका पूर्वअध्यक्ष हेमन्त दाहालले युवा पुस्तामा पुस्तक पढ्ने बानी विकास भइरहेका बेला लगाइएको आयात करले असर पार्ने बताए ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?