सम्झनामा बालचन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन राजा महेन्द्र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा बालचन्द्र शर्मा उपकुलपति थिए । आजको प्रज्ञा प्रतिष्ठान उनकै योगदानको निरन्तरता मानिन्छ । पछि उनी मन्त्री र राजदूत पनि बने ।

उनै प्रसिद्ध इतिहासकार एवं साहित्यकार शर्माको राजधानीमा शुक्रबार शतवार्षिकी समारोह मनाइयो। बालचन्द्र स्मृति सभाद्वारा आयोजित समारोहमा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘आफ्नो संस्थापक उपकुलपतिलाई प्रज्ञा प्रतिष्ठानले बिर्सेकोमा दुःख’ व्यक्त गरे।

त्रिपाठीका अनुसार शर्मा र महाकवि लक्ष्मीप्रसाद देवकोटाको परामर्शमा राजा महेन्द्रबाट विसं २०१४ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो। त्यसयता नेपाली भाषा, साहित्य र संस्कृति अन्वेषण र प्रवर्द्धनमा प्रतिष्ठानले काम गर्दै आएको छ। ‘यो सभा आज प्रज्ञा भवनमा हुनुपर्थ्यो,’ उनले भने, ‘किनभने बालचन्द्र प्रज्ञा प्रतिष्ठानकै इतिहास हो।’ शर्माकी जेठी छोरी कल्पना घिमिरेले पनि आफ्नो बुबाले मुलुकको भाषा, साहित्य, इतिहास र संस्कृतिका लागि योगदान दिएको भए पनि परिवारका तर्फबाट सम्झिनुपर्ने अवस्था आएकोप्रति गुनासो गरिन्। ‘अग्रजलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई सकारात्मक पाठ सिकाउँछ,’ उनले भनिन्, ‘कम्तीमा सरकारले सम्झना मात्रै गरेको भए पनि हुन्थ्यो।’

शर्माको योगदानबारे पूर्वमन्त्री होमनाथ दाहाल, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, बालचन्द्र स्मृतिसभाका सदस्यसचिव प्रा.प्रयागराज वाशिष्ठ, शर्माकी छोरी एवं स्मृतिसभाकी कोषाध्यक्ष कल्पना घिमिरे, अरविन्द रिमाललगायतले प्रकाश पारेका थिए। शर्माका इतिहास, साहित्य र राजनीति विषयमा १६ वटा पुस्तक प्रकाशित छन्। उनी टंकप्रसाद आचार्यको प्रधानमन्त्रीकालमा शिक्षामन्त्रीसमेत थिए। पछि रूस र फ्रान्सका लागि नेपाली राजदूत पनि बने।

प्रकाशित : भाद्र २१, २०७६ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्

छुटे गोविन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म ‘लिलिबिली’ को हिसाबलाई लिएर निर्माताहरुको एउटा पक्षले मुद्दा हालेपछि प्रहरी हिरासतमा परेका निर्माता एवं अभिनेता गोविन्द शाही अदालतको आदेशपछि छुटेका छन् । सर्वोच्च अदालतले बुधबार गरेको आदेशपछि उनी १४ दिन लामो हिरासतबाट मुक्त भएका हुन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले ‘अदालतले अन्तरिम आदेश दिएको अवस्थामा पनि शक्तिको दुरुपयोग गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको’ बताएका छन् ।

शाहीसमेत निर्माता रहेको फिल्म ‘लिलीबिली’ दुई वर्षअघि नै प्रदर्शनमा आएको थियो । निर्मातामध्ये सुदिप खड्का र मिलन चाम्सले फिल्मको सेयर लुकाएको आरोप लाउँदै एक वर्षअघि नै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । त्यसको एक वर्षपछि सोही उजुरीका आधारमा प्रहरीले हिरासतमा लिएकोप्रति आश्चर्य प्रकट गर्दै शाहीले व्यक्तिगत मनमुटावलाई ठूलो इबीको रूपमा लिई गृह प्रशासनको दुरुपयोग गराएको आरोप लगाएका छन् । ‘विदेशी चलचित्रको दबदबा बढ्दै गइरहेको बेला यस्तो अस्वस्थ गतिविधिले नेपाली फिल्म उद्योगमा सकारात्मक सन्देश जाँदैन,’ उनले विज्ञिप्तमा भनेका छन्, ‘तर, अदालतको आदेशले न्याय मरेको छैन भन्ने अनुभूत गराएको छ ।’

प्रकाशित : भाद्र २१, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्