कोसिस मल्टिमिडियाको वार्षिकोत्सवमा ५ महिला सम्मानित

काठमाडौँ — कोसिस मल्टिमिडियाले सामाजिक क्षेत्रमा कार्यरत ५ महिलाहरुलाई सम्मान गरेको छ । शनिबार आयोजित संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका महिलाहरुलाई सम्मान गरिएको हो ।

कोसिस मल्टिमिडियाको वार्षिकोत्सवमा ५ महिला सम्मानित

सम्मानित हुनेहरुमा विगत लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा समर्पित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेती, सफल कृषि व्यवसायी रिता मानुसी, योगा प्रशिक्षक ६६ वर्षीया लिलादेवी तिवारी छन् ।

यस्तै साहसी महिला डोजर चालिका मुना घिमिरे श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिका उपप्रमुख विन्दु पुडासैनी सिंखडाको योगदानको कदर गर्दै सम्मान गरिएको नारी कोसिसका अध्यक्ष एवं पत्रकार निर्मला सापकोटा सञ्जेलले जानकारी दिइन् ।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य सरिता न्यौपानेले कोसिस मल्टीमिडियाले महिला सशक्तिकरणमा खेलेको भूमिकाप्रति खुलेर प्रशंसा गरेकी थिइन् । त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले कोसिसले एक वर्षको अवधिमै उल्लेखनीय काम गरेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


उक्त मल्टिमिडियाले नारी कोसिस डटकम अनलाइन र युट्युब च्यानल सञ्चालन गरिरहेको छ । स्थानीय सरोकारका विषय समेटेर विकास निर्माणका लागि पुलको काम गर्ने र क्षमता अभिवृद्धिका विभिन्न तालिम पनि चलाउने आएको सापकोटाले बताइन् ।

प्रकाशित : भाद्र १७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?