१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लिम्बुवान प्रदर्शनी

गणेश राई

ललितपुर — राजधानीबासी लिम्बु समुदाय यतिखेर चित्र, पुस्तक, डकुमेन्ट्री फिल्म र पुराना कलात्मक सामाग्रीमार्फत आफ्नै जनजीवन नियाल्दैछन् । ललितपुरको सोभाहिटीस्थित चुम्लुङ हिममा आयोजित चित्रकलामा लिम्बुनी रंगहरू प्रदर्शन गर्दैछन् ।

लिम्बुवान प्रदर्शनी

ढाक्रोका बुट्टाहरू, सिलामसाक्माको नौरंगमा मुन्धुम जिन्दगी उनेका छन् । वंशावलीका पुस्तकमा पुर्खाहरू खोजिरहेका छन् । डकुमेन्ट्री फिल्ममार्फत लिम्बुवानको खाँटी जनजीवन हेरिरहेका छन् । संग्रहालय चहार्दै ग्रामीण जीवनमा प्रयोग भएका सामग्रीहरू र उबेला सुब्बाङ्गीले प्रयोग गरेका ढाल, तरबार, भाले–पोथी निशान झण्डासँगै फोटो खिचाइरहेका भेटिन्छन् ।


यो ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङहिममा आयोजित किरात याक्थुङ चुम्लुङ संस्थाको ३१ औं वार्षिकोत्सवको अवसरमा सोमबार सुरु भएको दुई दिने समारोहको झलक हो । भूइँतलादेखि चौथो थलासम्म छन् । भित्ताभरि लिम्बुवानको झलक दिने चित्रकलाहरू कोरिएका छन् । भूइँतलाभरि प्रदर्शन गरिका छन्, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, सिरिजंगा, इतिहासविद् इमानसिंह चेम्जोङका मिनिकदका मूर्ति । किरात लिम्बु जाति, इतिहास, संस्कृति, परम्परा, भाषा, साहित्य, सिरिजंगा लिपि, कलाजन्य पुस्तकहरू छन् ।


‘सेवारो आदाङ्बा लु है तपाईलाई मेरो हातको चिनो’ भन्दै निरु आङबुङ आफैंले बुनेको लिम्बुनी कला उपहार थमाइरहेकी थिइन् । ‘चुम्लुङको अभियान नै एक घर (लिम्बु) एक सिलामसाक्मा (मुन्धुम वर्णित धागोको प्रतिक) भन्ने छ,’ ढाका उद्यमी उनले भनिन्, ‘त्यसैले हरेक व्यक्तिको हातमै पुर्‍याउने सजिलो हुने चाँबी झुण्डाउने आकारमा सिलामसाक्मा तयार पारेका छौं । सिसाको फ्रेममा राखेर घरमा सजाउन मिल्ने ठूलो आकारमा पनि बनाएका छौं ।’


चुम्लुङ ललितपुर जिल्ला उपाध्यक्ष राम बखिम लिम्बु संग्रहालय कक्षको रेखदेख गर्दै थिए । ‘यस परम्परागत घरेलु सामग्रीदेखि गैडाको छालाबाट बनेको ढाल, तरबार, निशान झण्डा सबै व्यक्ति र परिवारबाट उपहारका रूपमा प्राप्त गरेका हौं,’ उनले भने, ‘लिम्बु जातिमा प्रथम सगरमाथा आरोही जुनिता सम्बाहाङफेले २०६६ वैशाखमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दा प्रयोग गरेको कपला, सामग्रीसमेत यही छन् ।’


चित्रकलामा लिम्बु जातिको विषयमा बृहत् पक्ष समेटिएको कलाकार नबेन्द्र लिम्बुले बताए । ‘वरिष्ठ कलाकार हिक्मत नेम्बाङदेखि कान्छो कलाकार सुसागेनसम्मका ४२ जनाको चित्रकला समेटेका छौं,’ उनले भने । नेम्बाङले परम्परागत तानको प्रतिबिम्बमा लिम्बुनी मुहार उतारेका छन् ।


चुम्लुङ केन्द्रीय अध्यक्ष योगराज लिम्बुले स्थापना दिवसलाई फरक ढंगले जनजीवनसित जोड्ने प्रयास गरेको बताए । ‘नेपाली समाजमा याक्थुङ (लिम्बु) समुदायको एक अभिन्न विशिष्टता छ,’ उनले भने, ‘त्यसैले एकसाथ हेर्न, देख्न चाहनेका निम्ति दुई दिन समारोह गरेका हौं । यो पटक लिम्बु व्यक्तित्वबाट समारोहलाई उद्घाटन गराउने पहल गरेका छौं ।’ पहिलो दिन चिकित्सा विज्ञान प्रतिष्ठान बीर अस्पतालकी रजिस्ट्रार प्रमिला देवान, डिआईजी राजीव सुब्बा, गंगालाल हृदय केन्द्रका निर्देशक डा. युवराज लिम्बु, शिक्षा अभियनता पवित्रा लिम्बुले फरक फरक प्रदर्शनीको उद्घाटन गरेका थिए ।

प्रकाशित : भाद्र १६, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?