प्रज्ञाका चार पुस्तक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका विभिन्न चारवटा पत्रिकाको नयाँ अंक सार्वजनिक गरिएको छ । गद्य आख्यानप्रधान ‘समकालीन साहित्य’, बहुभाषिक ‘सयपत्री’, अनुवादप्रधान ‘रूपान्तरण’ र मैथिलीको ‘आङन’ सार्वजनिक गरिएको हो ।

आइतबार कमलादीस्थित प्रतिष्ठानको हलमा उपकुलपति जगमान गुरुङ, सदस्यसचिव जगतप्रसाद उपाध्याय, प्राज्ञ सदस्यहरू उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली, योगेन्द्र यादव, गोपिन्द्र पौडेलले सार्वजनिक गरेका हुन् ।

‘सयपत्री’ अर्धवार्षिकमा कार्यकारी सम्पादक चतुर्भुज केवरतका अनुसार यस अंकमा विभिन्न २० भाषाको नेपाली अनुवादसहितका सामग्री समेटिएका छन्, जसमा अवधी, बज्जिका, बान्तावा, चाम्लिङ, दनुवार, धिमाल, दुङमाली, गुरुङ, केवरत, कुलुङ, कुमाल, लिम्बु, मगर, मैथिली, माझी, नाछिरिङ, संस्कृत, थारू, वाम्बुले र याक्खा भाषा रहेका छन् ।

‘समकालीन साहित्य’ त्रैमासिकमा समालोचना, आख्यानमूलक रचनाहरू समेटिएको कार्यकारी सम्पादक पुष्करराज भट्टले जनाएका छन् । ‘रूपान्तरण’ वार्षिकका कार्यकारी महेश पौड्यालका अनुसार यसमा विभिन्न विदेशी भाषाबाट नेपालीमा र नेपालीबाट हिन्दीमा साहित्यिक रचना अनुवाद गरिएका छन् । ‘आङन’ वार्षिकका कार्यकारी सम्पादक धर्मेन्द्र विह्वलले मैथिली भाषा, साहित्य, संस्कृतिका सामग्री समेटिएको जनाएका छन् ।

उपकुलपति गुरुङले प्रज्ञा–प्रतिष्ठानले आफ्नो प्रकाशन पत्रिकामार्फत् नयाँ लेखक, स्रष्टाको खोजी गरेको बताए । ‘यी पत्रिका सबैका साझा हुन् र यसमार्फत् वर्तमान समाजलाई प्रतिबिन्बित गरेर विविध लेख, रचना प्रकाशन गर्ने कामलाई निरन्तरता दिएको छौं,’ संस्कृतिविद् गुरुङले भने, ‘यसमा पाकादेखि नवीन लेखक स्रष्टाहरूको खोजी तथा रचनामार्फत् उनीहरूको सिर्जनाको जगेर्ना गर्न प्रतिष्ठान प्रतिवद्ध छ ।’

प्रतिष्ठानले चौमासिक ‘कविता,’ नेपाल भाषाको वार्षिक ‘थायभू’, लिम्बू भाषाको वार्षिक ‘फक्ताङ्लुङ’, भोजपुरी भाषाको वार्षिक ‘महुआ’ र त्रैमासिक बुलेटिन ‘प्रज्ञा गतिविधि’ प्रकाशन गर्दै आएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

उबेलाको तीज

कान्तिपुर संवाददाता

पोखरा — कृष्णअष्टमीदेखि चेलीबेटी माइती आउनजान सुरु हुन्थ्यो । छिमेकीले बाटाघाटामा भेटे कहिले लिन आउँछन् माइती भनेर सोध्थे । चितवनदेखि पोखराको आलुमाइला चोक आइपुगेकी माया कुँवर विगत सम्झिन्छिन् । माइती आउने दिन गनिरहनुपर्थ्यो । 

१२ वर्षको उमेरमा विवाह भएर आएकी उनी अहिले ७८ वर्ष पुगेकी छन् । दाजुभाइ लिन आउँदा खुसीले अघिअघि लागेर गइन्थ्यो । माइत पुगेपछि भोलि तीज, आजजस्तो सबै दिदीबहिनी बसेर दर खाइन्थ्यो, तीजको दिन व्रत बस्दा भोक लाग्छ भनेर रातको १२ बजे खिर खाने उनले सुनाइन् । ‘गाउँका सबै दिदीबहिनी गाउँको बीच भएको चउरमा भेला भएर वेदनाका गीत गाएर नाच्ने गरिन्थ्यो’, उनले भनिन्, ‘यसरी नाच्दा दुःखपीडा हटेर जान्थ्यो ।’

तीज आउन ५/६ दिन हुँदा माइती लिन आउँथे अनि खुसीले अघि लागेर गइन्थ्यो । तीज आउन एक दिन बाँकी हुँदा मासु खान नहुने भन्ने भनाइ थियो । ‘त्यही भएर शाकाहारी तरकारी चुलामा पाक्थ्यो र खिर बनाएर आमाले खान दिनुहुन्थ्यो,’ पोखरा न्युरोडकी आइतलक्ष्मी गुरुङले भनिन् ।

स्याङजा फेदीखोला घर भएकी उनी न्युरोडमा बस्दै आएकी हुन् । उनका अनुसार दर भनेको जहिले पायो त्यही बेला खाने चिज हैन तर अहिले त्यसमा विकृति आएको छ । उबेला व्रत बस्ने दिनको अघिल्लो राती सबै दिदीबहिनी भएर दर खाने चलन थियो ।

माछामासु खाए पाप लाग्छ भनेर दर खाने बेला माछामासु खाइँदैनथ्यो । ‘अहिले मौलिक पर्व जोगाउनभन्दा पनि ब्युटीपार्लर जाने, ऋणधन गरेर भए पनि महँगा कपडा किन्ने, जुन बेला पायो, त्यहीबेला दर खाने र माछामासु केही नबार्ने गर्छन्,’ गुरुङ भन्छिन्, उबेला मोबाइल थिएन ।कतिबेला माइती लिन आउँछन् भनेर हेरिरहन पर्थ्यो, तीजको रौनकै फरक थियो ।’ कृष्णजन्माष्टमी आएपछि चेली लिन जाने चलन रहेको आर्बाविजया घर भई न्युरोड बस्दै आएका रामबहादुर बराल सुनाउँछन् ।

प्रकाशित : भाद्र १६, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्