‘गणतन्त्र कि दलतन्त्र ?’

काठमाडौँ — ‘लोकतन्त्र र आजको मार्क्सवाद’ पुस्तक लोकार्पणपछि शनिबार राजधानीमा समाजशास्त्री चैतन्य मिश्र पाठकहरूसँग ।

‘गणतन्त्र कि दलतन्त्र ?’

मुलुकमा गणतन्त्र छ कि दलतन्त्र ? शनिबार राजधानीमा बहस चल्यो । समाजशास्त्री चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’ लोकार्पण क्रममा राजनीतिक चिन्तक प्रदीप गिरिले भने, ‘गणतन्त्रको नाममा देशमा दलतन्त्र हावी भइरहेको संकेत मिश्रजीको पुस्तकले दिन्छ । नेपाली समाजबाट राजनीति हराउँदै गएको खतरनाक अवस्थालाई पनि उहाँले औंल्याउनुभएको छ ।’


गिरिले पुस्तकमार्फत समाजशास्त्री मिश्रले नेपाली समाजको गतिशीलताका लागि सामाजिक प्रजातन्त्रको आवश्यकतासमेत औंल्याएको बताए । ‘नेपाली राजनीतिको विगतको संश्लेषण गर्दै भविष्यको रेखाचित्र कोर्ने प्रयास गरिएको छ पुस्तकमा,’ गिरिको दाबी थियो । गिरिसँगै सांसद विन्दा पाण्डे, लेखक आहुती र राजेन्द्र महर्जनले मिश्रको पुस्तक लोकार्पण गरेका थिए । सांसद पाण्डेले नेपाली समाजको गतिशीलताको सांगोपांगो तस्बिर पुस्तकमा पाइने बताइन् ।


‘यो पुस्तकले बौद्धिक बहस गर्न र भविष्यका लागि सकारात्मक सोच राख्न उत्प्रेरित गर्छ,’ पाण्डेले भनिन् । आहुतीले भने, ‘लेनिनले मार्क्सवाद बुझेनन्’ भन्ने मिश्रको तर्कमाथि प्रश्न उठाउँदै ‘ऐतिहासिक भौतिकवादको बुझाइबारे नै छलफलको आवश्यकता भएको’ औंल्याए । मानिस सचेतन प्रयास गर्ने प्राणी हो भन्ने पक्षलाई नै मिश्रले बेवास्ता गरेको पनि आहुतीले आरोप लगाए । पुस्तकका सम्पादकसमेत रहेका महर्जनले चाहिँ ‘राजनीतिक संक्रमणजस्तै चैतन्य मिश्रका विचारहरूमा पनि संक्रमण आइरहेको’ बताए । लेखक मिश्रले आफ्ना पुस्तकमाथि आएका फरक विचारले आफ्ना मतमा पुनर्मूल्यांकन गर्न सघाउने बताए । पुस्तक बुकहिल प्रकाशनले छापेको हो । मिश्रको भने नेपाली भाषाको यो तेस्रो पुस्तक हो ।


प्रकाशित : भाद्र १५, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?