१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

छायामा बाल साहित्य

सुशीला तामा‌ङ

काठमाडौँ — बजारमा दिनुहँ नेपाली साहित्यका कृति बढिरहेका छन् । पुस्तक लोकार्पण, अन्तरक्रिया परिचर्चाजस्ता कार्यक्रमहरू पनि भइरहेकै छन् । अत्यधिक बिक्रीदेखि अग्रिम लेखकस्वसम्मको चर्चा पनि मिडियाहरूमा बरोबर भइरहेका छन् ।

छायामा बाल साहित्य

भविष्यको कर्णाधार मानिने बाल साहित्यमा भने खासै गुणात्मक काम नभइरहेको दाबी गर्छिन् साहित्यकार अन्विका गिरी । केही दिनअघिमात्रै उनले बाल साहित्यका दुई कृति बजारमा ल्याएकी थिइन् ।


उनका अनुसार ‘बाल साहित्य’ का पुस्तकहरू बजारमा पाइने भएता पनि बालमस्तिष्कलाई नै केन्द्रित गरेर आउने पुस्तक भने थोरै छन् । प्रायः नेपाली बाल साहित्यमा बाल विकासभन्दा पनि परम्परागत संस्कार सिकाउने पक्षका पुस्तक धेरै छन् । उनलाई लाग्छ– ‘यस्तो अवस्थामा बाल साहित्यको धारलाई केही परिवर्तन गर्नुपर्छ ।’ सांग्रिला बुक्सले छापेको उनको ‘आमाले सक्नुहुन्छ’ बाल कथा संग्रहमा यस्तै फरक धारको वकालत गरेकी छन् उनले ।


परिवारमा बुबा मात्र नभएर आमाले पनि उत्तिकै जिम्मेवारी बहन गर्न सक्छिन् भन्ने भाव बुझाउने ७ वटा कथा छन् कृतिमा । ‘आमाले सक्नुहुन्छ’, ‘आमाको बचत’, ‘आमाले हिसाब जान्नुभो’, ‘आमाले बराबरी गर्नर्भुो’, ‘आमाको दोकान खुल्यो’ जस्ता रोचक शीर्षक छन् ।


त्यस्तै उनको अर्को पुस्तक ‘सानीका ज्ञानी कुरा’ मा बालयौन दुर्व्यवहारलाई बुझाउन कविताकै शैलीमा लेखेर सचित्र वर्णन गरिएका छन् ।


यसमा बाल संसारलाई नै समेटिएर साथीभाइ, आफन्तहरूको चिनारी, बदमास मान्छेहरू कस्ता हुन्छन्, तिनीहरूले यौन दुर्व्यवहार कसरी गर्न सक्छन् र यदि गरेमा सबैभन्दा पहिले आमालाई नै भन्नुपर्छ भन्ने सन्देश सरल र सरस ढंगबाट प्रस्तुत गरिएका छन् ।


प्रौढहरू केन्द्रित थुप्रै पुस्तक छ्याप्छ्याप्ती बजारमा पाइए पनि बाल साहित्यका सामग्री एकदमै न्यून पाइनु दुःखद रहेको लेखक गिरीले सुनाइन् । ‘बाल साहित्य नै छायामा छ,’ उनले भनिन्, ‘बाल साहित्य लेखनमा केही स्रष्टा सक्रिय देखिए पनि कतै चर्चा छैन ।’


बाल साहित्यबाट नै लेखन थालेकी उनले करिब ढेड दशकअघि ‘हाम्रो कुरा पनि सुन्नुस्’ सचित्र बालकथा प्रकाशन गरेकी थिइन् । त्यतिखेर बाल साहित्यप्रति त्यति चर्चा र प्रतिक्रिया नै नभएपछि उनले प्रौढ साहित्य लेखनतिर हात हालिन् र ‘कम्युनिस्ट’

कथासंग्रह निकालिन् ।


प्रत्येक घरमा बालबालिका छन् । उनका अनुसार उनीहरूको बालसुलभता, मनोविज्ञान र उत्सुकतालाई पूरा गर्ने खालका नेपाली पुस्तक भने बजारमा पाउनै मुस्किल छ । ‘आजका बालबालिका भोलिका कर्णधार हुन् । उनीहरूलाई परिवार र समाजसँग समायोजन गर्दै लैजान स्कुलमा दिइने ज्ञान मात्रले पुग्दैन,’ उनको मत छ ।


एउटै समुदाय वा बुबालाई मात्र आयआर्जन गरेर ल्याउने, आमालाई घरको भान्साकोठामा मात्र सीमित गरी लेखिएका बाल साहित्यका पुस्तकभन्दा केही लैंगिक समानता देखाउने र अहिले समाजमा घटिरहेका बालयौन हिंसाका घटनासमेत उल्लेख गरिएका उनका पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने उनले दाबी गरिन् ।


बढ्दो कामकाजी संस्कृतिले गर्दा निकै व्यस्त देखिने अभिभावकसँग बालबालिकाका लागि समय नै छैन । धेरैले बालबालिकालाई मोबाइल तथा टेलिभिजनतिर लगाएर आफूलाई पन्छाउन खोज्छन् । ‘यसले गर्दा आमाबाबु र सन्तानबीच हुनुपर्ने निकटता नै घट्दै जान्छ,’ उनले भनिन्, ‘अभिभावकले आफ्नो बच्चालाई धेरैभन्दा धेरै समय दिनुपर्छ । पुस्तकहरू पढेरै सुनाउनुपर्छ । उनीहरूमा पढ्ने परम्परा बसालिदिनुपर्छ ।’


पुस्तक भनेको स्कुलका पाठ्यक्रमअनुसारका सामग्री मात्रै हुन् र उनीहरूको परीक्षामा आउने अंक गणना मात्रै सफलता हो भन्ने सोच प्रत्येक अभिभावकले बदल्नुपर्ने उनको धारणा छ । ‘बाहिरी ज्ञानगुनका कुरा पनि बालबालिकालाई दिनुपर्छ,’ उनले भनिन् ।


बदलिँदो सामाजिक संरचनादेखि बालमनोविज्ञानलाई ध्यानमा राख्दै पढेका सामग्री आफ्नै लागि हुन् भनी उनीहरूको विश्वास जित्ने गरी बालसाहित्यलाई अघि बढाउन कठिन हुने गिरीले सुनाइन् । उनले भनिन्, ‘प्रत्येक शब्द र अक्षरहरूमा बालापनको महसुस गराउनुपर्छ । यो निकै कठिन कार्य हो ।’


अग्रजले समेत बेवास्त गरिएको बालसाहित्य उठाउन सबै लाग्नुपर्ने उनको मत छ । गिरीका बालबालिका केन्द्रित पाँचवटा पुस्तकसँगै कथा संग्रह ‘कम्युनिस्ट’, उपन्यास ‘मान्छेको रङ’ लगायत गरी आठवटा कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?