२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गुमनाम ‘महानन्द पुरस्कार’

काँकडभिट्टा — कुनै समय पूर्वका सर्जकहरूमा एउटा खुल्दुली हुने गर्थ्यो, वर्षको महानन्द पुरस्कार कसले पाउला भन्ने । प्रतिष्ठित यो पुरस्कारको अहिले भने चर्चासम्म चल्दैन । दशकयता उक्त पुरस्कार अलपत्र परेको छ । 

खासमा पञ्चायती शासनकालमै २०३८ मा एउटा साहित्यिक संस्था स्थापना भएको थियो । नेपाली साहित्य विकास समितिको नाममा स्थापित उक्त संस्थाका अगुवा थिए– रामबाबु प्रसाईं, दान खालिङ, बैरागी काइँला, भवानी घिमिरे, गणेशबहादुर प्रसाईंलगायत ।


संस्थाको मुख्य उद्देश्य सबै राजनीतिक दल आवद्ध लेखकहरूलाई एउटै छातामा समेटेर लैजानु पनि थियो । त्यही भएर त्यो बेला भन्ने गरिन्थ्यो, कम्युनिस्ट, कांग्रेस र पञ्चायत (ककाप) । अर्थात् सबै दलका लेखक अटाउने संस्था । यही संस्थाले २०४३ सालमा देउसी खेलेर महानन्द पुरस्कार स्थापना गरे । जनस्तरबाट संकलित एक लाख रुपैयाँको अक्षयकोष खडा गरिएको थियो । पहिलो पुरस्कार २०४४ सालमा शनिश्चरे माविको प्रांगणमा वितरण गरिएको थियो ।


महानन्द सम्मान इलामका कवि स्वर्गीय विष्णु नवीनलाई र प्रोत्साहन पुरस्कार कवि दुर्गा दाहाललाई दिइएको पूर्वअध्यक्ष कृष्ण धरावासीले बताए । उनका अनुसार पुरस्कार भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापना गरिएको थियो ।


खासगरी मेची अञ्चलको साहित्यिक विकासका लागि प्रत्येक दुई वर्षमा पुरस्कार वितरण गरिन्थ्यो । धरावासी भन्छन्, ‘अहिले सुन्दै छु, लामो समयदेखि यो संस्था निस्क्रिय छ रे । यो संस्थालाई मर्न दिनु हुँदैन भन्ने मेरो बुझाइ छ ।’


कृष्ण धरावासी, रविमान लम्जेल, हीरा आकाश, सरोज ओली, रोहिणीविलास लुइँटेल, चूडामणि रेग्मी, स्वयम्भूलाल श्रेष्ठलगायत अग्रजहरूले यो पुरस्कार पाइसकेका छन् । पछिल्लो समय २०६८ मा झापाको धरमपुरमा पुरस्कार वितरण गरिएको थियो । पछिल्लो सम्मान कवि कृष्ण बराललाई दिइएको थियो ।


त्यसयता यो संस्था पूरै मुर्झाएको आरोप मेची अञ्चलका साहित्य सर्जकहरूको छ । महानन्द पुरस्कार समितिका पूर्वसचिव चिन्तामणि दाहालका अनुसार ऐतिहासिक संस्था भएकाले यसलाई सक्रिय बनाउनुपर्छ ।


पुरस्कार समितिका अध्यक्ष कवि केशव आचार्यले आठ वर्षदेखि पुरस्कारको गतिविधि सेलाएको बताए । उनले आफ्नो अस्वस्थताका कारण काम गर्न नसकेको बताए । ‘मेरो नेतृत्वमा दुइटा पुरस्कार वितरण भए, त्यसपछि काम गर्न नसकिएको यथार्थ हो ।’


उनका अनुसार बिर्तामोडको एक्सेल बैंकमा पुरस्कारको करिब डेढ लाख अक्षयकोष छ । ब्याज बढेको बढ्यै छ । तर, पुरस्कार वितरण गर्न सकिएको छैन । समितिका सचिव चन्द्र भण्डारीले आगामी माघभित्रमा पुरस्कार प्रदान गरिने दाबी गरे । ‘गत वैशाखमै पुरस्कार वितरणको योजना थियो तर विशेष कारणले सकिएन,’ उनले भने, ‘अब माघमा वितरण गर्ने छौं ।’

प्रकाशित : भाद्र ८, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?