३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रहेनन् ‘फलामको मान्छे’

पर्वत पोर्तेल

काँकडभिट्टा — चालीसको दशकमा झापामा भोक कविता आन्दोलन उत्कर्षमा थियो । आन्दोलनको नेतृत्व भवानी घिमिरेले गरेका थिए । त्यही पंक्तिमा उभिएका थिए, सशक्त कवि दुर्गा दाहाल । दाहालको ६२ वर्षको उमेरमा मंगलबार हृदयाघातबाट राजधानीमा निधन भयो । 

रहेनन् ‘फलामको मान्छे’

भोक कविता आन्दोलनका एक जना अभियन्ता साहित्यकार कृष्ण धरावासीका अनुसार तिनताका भोक कविता आन्दोलनको प्रभाव पूर्वमा मात्रै सीमित थिएन, सिमाना पारि दार्जिलिङसम्म थियो ।

यो आन्दोलनले अभाव, गरिबी, अन्याय, अत्याचार र राजनीतिक चेतना मुखर गरेको थियो । कवि दुर्गा दाहाल भोक कविता आन्दोलनकै उत्पादन थिए । उनी सशक्त कविता लेख्थे । ‘उनी आगो ओकल्ने खालका कविता लेख्थे,’ धरावासीले भने, ‘उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ ।’

दकमका कवि दाहाल विगत दुई दशकदेखि राजधानीवासी थिए । साहित्यसँगै उनी शिक्षण पेसामा सक्रिय थिए । २०४४ सालमा प्रकाशित उनको पहिलो कृति ‘टाँगिँदै गरेको आकाश’ चर्चित मानिन्छ । त्यही साल उनले मेची अञ्चलकै प्रतिष्ठित महानन्द पुरस्कार पाएका थिए । त्यही कविताले उनलाई पुरस्कार मात्रै दिलाएन, नेपाली साहित्यमा राष्ट्रिय चिनारीसमेत दिलायो ।

‘कवितालाई कलात्मक ढंगले प्रस्तुत गर्न सक्नु उनको विशेषता थियो,’ समकालीन कवि केशव आचार्यले भने, ‘खासमा दुर्गा कविता लेख्नै जन्मिएको जस्तो लाग्थ्यो मलाई ।’

दाहालले पहिलो कृति प्रकाशित भएको धेरै वर्षपछि ‘शब्दहरू जब माथिमाथि उड्छन्’ र ‘दुर्गा दाहालका कविता’ शीर्षकमा कविता संग्रह प्रकाशनमा ल्याइसकेका थिए । दुर्गा दाहालका कविता श्रुतिकाव्यको रूपमा सीडीमा संग्रहित गरिएको थियो । ‘खासमा कृष्ण धरावासीले मलाई सीडीको नाम फलामको मान्छे राख्न सुझाएका थिए,’ एउटा अन्तरवार्तामा उनले भनेका थिए, ‘तर अन्तिममा मैले दुर्गा दाहालका कविताहरू नै राखें । किनभने काठमाडौंलाई म पनि कवि हुँ भनेर चिनाउनु थियो ।’

साहित्य वटवृक्ष हो । यसका धेरै हाँगाबिँगा हुन्छन् । उनले कविताको हाँगो मात्रै पक्रिए । अरू हाँगो समाउने आँटै गरेनन् सायद उनले । उनले भनेका थिए, ‘कवितामा रुचि बढी छ, आनन्द पनि यसैमा आउँछ । त्यही भएर कवितालाई नै मुख्य विधा बनाएँ ।’

कवि दाहाल महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित भए कुनै समय । पछि आयामेली कविहरूसहित हरिभक्त कटुवाल, भूपी शेरचन, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, श्रवण मुकारुङका कविताले उनलाई आकर्षित गरेको थियो ।

दाहालको ‘फलामको मान्छे’ शीर्षकको कविता अहिले पनि चर्चित मानिन्छ । उनले तत्कालीन सत्तालाई व्यंग्य गर्दै त्यो कविता लेखेका थिए :

‘म अब जन्मँदा

मात्र फलामको मान्छे भएर जन्मनेछु

मेरो कुनै घाउ हुने छैन

मेरो कुनै दाउ हुने छैन ।’

प्रकाशित : भाद्र ६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?