चिनियाँ हातमा नेपालसम्बन्धी पुस्तक

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल भ्रमण वर्ष २०२० को मुखैमा चीनका केही शिक्षक र विद्यार्थीले नेपाल चिनाउने पुस्तक सार्वजनिक गरेका छन् । बेइजिङस्थित नेपाली दूतावासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी चाइना युथ प्रकाशन गृहले नेपाली विशेषता झल्काउने ‘निपोअर त सिङ क’ नामक पुस्तक सार्वजनिक गरेको हो ।

चिनियाँ हातमा नेपालसम्बन्धी पुस्तक

छिङ्हृवा विश्वविद्यालयका एक शिक्षक र तीन विद्यार्थीको पहलमा चिनियाँ भाषाको पुस्तक अब चिनियाँका हातमा परेको छ ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल र नेपाली सम्पदाबारे जानकारी गराउन पुस्तक उपयोगी भएको बताए ।


उनले भने, ‘पुस्तकले चिनियाँ पाठकलाई नेपालको सामाजिक, सांस्कृतिक तथा जीवनशैलीको पाटोबारे बुझ्न मद्दत पुर्‍याउने छ ।’

उनले नेपालको सांस्कृतिक विविधता तथा नेपाल–चीन जनस्तरीय सम्बन्ध विस्तारका लागि स्थलगत र सामूहिक अध्ययन तथा अनुभव समेटिएको पुस्तकमा नेपाली समाज र प्रकृति सौन्दर्यबारे ताजा जानकारी समेटिएको बताए ।


नेपालमा विभिन्न स्थानको भ्रमण गरेका चिनियाँ समूहले पुस्तकमा गरिबीभन्दा परको देश, नागरिकको मुस्कान चेत, देवताको देश मानिने नेपालीको धार्मिक आस्था र सहिष्णुता तथा कमजोर पूर्वाधारका कारण कठिन जीवनशैलीको अनुभव समेटेका छन् । पुस्तकका एक लेखक एवं छिङ्हृवा विश्वविद्यालयका प्राध्यापक यु हुले नेपालका विभिन्न स्थानमा पुगेका बेला गरिएको अध्ययनले पुस्तक लेखनमा सहयोग पुर्‍याएको जनाए । लुम्बिनीको धार्मिक पर्यटन, पोखरा र हिमाली क्षेत्रको हाइकिङलगायत नेपालको जैविक पर्यटनले जीवनलाई नयाँ ऊर्जा दिने विषय पुस्तकमा उल्लेख छन् । पुस्तक हु वेइ, वान निङनिङ, सन यियी, चाङ चिनपाउले सहलेखन गरेका हुन् ।


सन् २०१८ मा १०६ जना स्वयंसेवी शिक्षक नेपालका ८० विद्यालयमा खटिएका थिए । त्यसमध्येका एक लिउ लिङले भने, ‘शिक्षाको स्तर बलियो भए नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ । बेल्ट एन्ड रोडको पक्षराष्ट्र नेपाल र चीनबीच अर्थतन्त्र, व्यापार, सांस्कृतिक आदानप्रदान गहिरिँदै जानु सकारात्मक कुरा हो ।’


सहलेखक एवं नेपाल–चीन सांस्कृतिक आदानप्रदान संघकी अध्यक्ष सन छिन् यीले भनिन्, ‘चिनियाँ भाषामा लेखिएकाले यसले चिनियाँमाझ नेपालको सौन्दर्य र जीवनशैलीबारे बुझाउने छ ।’


नेपालबारेको जानकारी अझै विस्तृत पार्ने उद्देश्यले पुस्तकको नेपाली र अंग्रेजी संस्करण पनि प्रकाशित गर्ने लेखकहरूको योजना छ । यसको अनुवाद तयारी पनि भइसकेको प्रकाशनले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?