१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल चिनाउने चिनियाँ पुस्तक सार्वजनिक

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल भ्रमण वर्ष २०२० को मुखैमा केही चिनियाँ शिक्षक र विद्यार्थीहरूले नेपाल चिनाउने पुस्तक चिनियाँमाझ सार्वजनिक गरेका छन्। गत बिहीबार बेइजिङस्थित नेपाली दूतावासमा एक औपचारिक कार्यक्रमको आयोजना गरी चाइना युथ प्रकाशन गृहले नेपाली विशेषता झल्काउने ‘निपोअर त सिङ् क’ नामक पुस्तक सार्वजनिक गरेको हो।

नेपाल चिनाउने चिनियाँ पुस्तक सार्वजनिक

छिङ्ह्वा विश्वविद्यालयका एक शिक्षक र तीन जना विद्यार्थीहरूको पहलमा चिनियाँ भाषामा लेखिएको पुस्तक अब चिनियाँहरूका हातमा परेको छ।


चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपाल र नेपाली सम्पदाबारे जानकारी गराउन पुस्तक उपयोगी भएको बताए। उनले भने, ‘पुस्तकले चिनियाँ पाठकलाई नेपालको सामाजिक, सांस्कृतिक तथा जीवनशैलीको पाटोबारे बुझ्न मद्दत पुर्याउनेछ।’उनले नेपालको सांस्कृतिक विविधता तथा नेपाल-चीन जनस्तरीय सम्बन्ध विस्तारका लागि स्थलगत र सामूहिक अध्ययन तथा अनुभव समेटिएको पुस्तकमा नेपाली समाज र प्रकृति सौन्दर्यबारे ताजा जानकारी समेटिएको बताए।


गरिबीभन्दा पर खुशीयालीको देश, नेपालीहरूको मुस्कान चेत, देवताहरूको देश मानिने नेपालीहरूको धार्मिक आस्था र सहिष्णुता, कमजोर पूर्वाधारका कारण कठिन जीवनशैली भएपनि नेपालीहरूको हँसमुख नै सबैभन्दा महत्वपूर्ण लागेको नेपालमा स्थलगत भ्रमण गरेको चिनियाँ समूहको अनुभव पुस्तकमा समेटिएको छ।


लुम्बिनीको धार्मिक पर्यटन, पोखरा र हिमाली क्षेत्रको हाइकिङ लगायत नेपालको जैविक पर्यटनले जीवनलाई नयाँ उर्जा दिने कुरा पुस्तकमार्फत् व्यक्त भएकाले पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने अपेक्षा छ। पुस्तक चिनियाँ भाषामा लेखिएकाले चिनियाँले नेपालबारे आफ्नै भाषामा अझ सरल तरीकाले बुझ्न सक्नेछन्।


७ वटा मुख्य सहित अन्य सहायक लेखहरूमा नेपालको खुशी, नेपालको प्रकृति, मिलनसार तथा मैत्रीपूर्ण नेपाली, नेपालको गौरव, गोर्खाली साहस, नेपालका धार्मिक आस्था र सहिष्णुता लगायतका शीर्षकमा सामग्रीहरू समेटिएका छन्। पुस्तक हु वेइ, वान निङ्निङ्, शन यियी, चाङ चिनपाउले सहलेखन गरेका हुन्।


पुस्तकका एक लेखक एवं छिङ्ह्वा विश्वविद्यालयका प्रा.यु हुले नेपालका विभिन्न ठाउँमा स्थलगत रूपमा पुगेका बेला गरिएको अनुसन्धानमार्फत् यो पुस्तक जन्मिएको बताए। नेपाल चीन सम्बन्धमा यो पुस्तक एउटा प्रवर्द्धनको सूत्रधार बन्ने विश्वास प्रकट गरे।


सन् २०१८ मा १०६ जना स्वयंसेवी शिक्षकहरू नेपालका ८० वटा विद्यालयमा खटिएका थिए। यो दक्षिण एसियामै सबैभन्दा ठूलो परिमाण थियो। एकजना स्वयंसेवी शिक्षक लिउ लिङले भने, ‘शिक्षाको स्तर बलियो भएमा नेपालले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ। बेल्ट एण्ड रोडको पक्षराष्ट्र नेपाल र चीनबीच अर्थतन्त्र, व्यापार, सांस्कृतिक आदानप्रदान गहिरिँदै जानु सकारात्मक कुरा हो।’


सहलेखक एवं नेपाल-चीन सांस्कृतिक आदानप्रदान संघकी अध्यक्ष शन् छिन् यीले भनिन्, ‘चिनियाँ भाषामा लेखिएकाले यसले चिनियाँमाझ नेपालको सौन्दर्य र जीवनशैलीबारे बुझाउनेछ।’


नेपालबारेको जानकारी अझै विस्तृत पार्ने उद्देश्यले पुस्तकको नेपाली र अंग्रेजी संस्करण पनि प्रकाशित गर्ने लेखकहरूको योजना छ। यसको अनुवाद तयारी पनि भैसकेको प्रकाशनले जानकारी दिएको छ।

प्रकाशित : भाद्र २, २०७६ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?