तर्कनाको जेब्रा क्रस

भरतपुर — ‘सहज काम त सबैले गर्छन्, चुनौतीपूर्ण काम गर्न पो मजा,’ आख्यानकार तर्कना शर्माले आफ्नो पहिलो उपन्यास ‘जेब्रा क्रस’ चुनौतीपूर्ण विषय भएको सुरुमै बताइन् ।

चार वर्ष लगाएर तयार गरेको उपन्यासबारे चितवनमा आयोजना गरिएको अन्तरक्रियामा तर्कनाले आफ्नो चुनौती बेहोर्ने आदतबारे सुनाइन् ।


‘जेब्रा क्रस’ मा शर्माले समलिंगी र तेस्रो लिंगीको विषय उठान गरेकी छन् । शर्माले भनिन्, ‘मैले समाजमा उनीहरूको अस्तित्व स्वीकार गर्न दुवै पक्षले के गर्नुपर्छ भन्ने विषय उठाएकी छु ।’


शर्माका अनुसार ‘जेब्रा क्रस’ समलिंगी र तेस्रोलिंगी वर्गप्रति सम्बोधन गरेर लेखिएको उपन्यास हो । समाजकै बीचमा रहेर पनि सामाजिक बन्न संघर्ष गरिरहेको वर्ग, उनीहरूको मानसिक द्वन्द्व र उनीहरूका कारण नचाहेरै पनि समस्या झेल्न बाध्यहरूको कथा ‘जेब्रा क्रस’ मा छ । आफूसँगै अध्ययन गरेका तथा काम गरेका साथीहरूलाई देखेर विषय रोजेको तर्कनाले बताइन् ।


उपन्यासमा विराज नामको मुख्य पात्र छ । विराजको प्रेमकथा र वैवाहिक जीवनलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । समाजमा खोक्रो आडम्बरका लागि विराजले आफू समलिंगी भएको कुरा लुकाउन खोज्छ र स्त्रीसँग बिहे गर्छ । नीरा उसकी पत्नीको यौन इच्छा, आवश्यकता पूरा गर्न नसक्दा विराजको पुरुषवादी अहम जाग्छ र हिंसात्मक बनिदिन्छ । विराजको अहमताको सिकार बनेकी नीरा मानसिक, शारीरिक र सामाजिक यातना खेप्न बाध्य हुन्छिन् ।


विराजको कुण्ठाका कारण नीराले भोग्नुपरेका हिंसात्मक व्यवहारलाई लेखकले निकै मार्मिक ढंगले प्रस्तुत गरिदिएको टिप्पणीकर्ता प्रभा बरालले बताइन् । ‘समाजमा पुरुष हुनुको घमन्ड व्याप्त भएजस्तै विराजले पनि उपन्यासको कथामार्फत हिंसालाई अँगालेको छ,’ बरालले भनिन्, ‘महिला हरेक पक्षबाट पीडित छन् ।’

प्रकाशित : भाद्र २, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?