काठमाडौंमा रोल्पा कथा

कान्तिपुर संवाददाता

काठमाडौँ — रोल्पाको चिनारी युद्धको प्रसंगबिना अपुरो रहन्छ । माओवादी सशस्त्र विद्रोहको केन्द्र थियो कुनै समय रोल्पा । युद्धपछि सत्तामा पुगेकाहरूले चाहिँ यो थलोलाई कसरी हेरिरहेका छन् अनि अहिले यहाँको आम मनोविज्ञान कस्तो छ ?

आइतबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थियटरमा रोल्पाली कवि दीप दर्पणले कवितामार्फत उधिन्दै गए । हरेक महिनाको पहिलो दिन हुँदै आएको ‘हामी : कवि र कविता’ शृंखलाको ७० औं संस्करणमा यी कविले रोल्पाली पात्र र विषयवस्तुलाई कवितामा प्रस्तुत गरेका हुन् ।

‘मीन चाओ’ शीर्षकको कवितामा उनले कुनै समय कमान्डरको बडीगार्ड बन्नुपर्दा शरीरको आधा भाग गुमाएर बाँचिरहेका पात्रको मनोदशा उतारेका थिए । युद्ध सकेपछि नेताहरूले दिने धोकाधडी र राजनीतिक विचलनलाई उनले यो कवितामार्फत मन छुने ढंगले टिपेका थिए । त्यस्तै ‘मंगले बा’ कवितामा युद्धमा छोरो गुमाएका बुबाले निर्दोषपना र नेताको छलछाम समेटिएको थियो ।

‘देश पुग्नुभन्दा पहिले’, ‘धर्म’, ‘ऊ देश भएर बाँचिरहेको छ,’ ‘माड्साप’, ‘चोकनिरको चिया पसल’ लगायत दस वटा कविता सुनाएका उनले प्रायः देशप्रेम, जीवन दर्शन, सीमान्तकृत पात्र, भूगोल र प्रवृत्तिलाई कवितामा प्रस्तुत गरे । दोस्रो चरणमा कवि बीपी अस्तु प्रस्तुत भएका थिए । उनले पनि कवितामा देशप्रेमसँगै सीमान्त पात्रलाई टिपेका थिए ।

नागरिकता नपाएको मधेसी पात्रको मनोदशा समेटिएको ‘नागरिकता शिविरमा मागुलाल’ कविता मन छुने थियो । उनले ‘हिँडाइ’, ‘बाध्यता’, ‘गल्ती’, ‘जेठको धुपमा मेरो गाउँ’, ‘बिन्दु’, ‘हामी त पीरती लाउँथ्यौं’ लगायतका कविता सुनाए।

प्रकाशित : भाद्र २, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

तर्कनाको जेब्रा क्रस

कान्तिपुर संवाददाता

भरतपुर — ‘सहज काम त सबैले गर्छन्, चुनौतीपूर्ण काम गर्न पो मजा,’ आख्यानकार तर्कना शर्माले आफ्नो पहिलो उपन्यास ‘जेब्रा क्रस’ चुनौतीपूर्ण विषय भएको सुरुमै बताइन् ।

चार वर्ष लगाएर तयार गरेको उपन्यासबारे चितवनमा आयोजना गरिएको अन्तरक्रियामा तर्कनाले आफ्नो चुनौती बेहोर्ने आदतबारे सुनाइन् ।

‘जेब्रा क्रस’ मा शर्माले समलिंगी र तेस्रो लिंगीको विषय उठान गरेकी छन् । शर्माले भनिन्, ‘मैले समाजमा उनीहरूको अस्तित्व स्वीकार गर्न दुवै पक्षले के गर्नुपर्छ भन्ने विषय उठाएकी छु ।’

शर्माका अनुसार ‘जेब्रा क्रस’ समलिंगी र तेस्रोलिंगी वर्गप्रति सम्बोधन गरेर लेखिएको उपन्यास हो । समाजकै बीचमा रहेर पनि सामाजिक बन्न संघर्ष गरिरहेको वर्ग, उनीहरूको मानसिक द्वन्द्व र उनीहरूका कारण नचाहेरै पनि समस्याझेल्न बाध्यहरूको कथा ‘जेब्राक्रस’ मा छ । आफूसँगै अध्ययन गरेका तथा काम गरेका साथीहरूलाई देखेर विषय रोजेको तर्कनाले बताइन् ।

उपन्यासमा विराज नामको मुख्य पात्र छ । विराजको प्रेमकथा र वैवाहिक जीवनलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ । समाजमा खोक्रो आडम्बरका लागि विराजले आफू समलिंगी भएको कुरा लुकाउन खोज्छ र स्त्रीसँग बिहे गर्छ । नीरा उसकी पत्नीको यौन इच्छा, आवश्यकता पूरा गर्न नसक्दा विराजको पुरुषवादी अहम जाग्छ र हिंसात्मक बनिदिन्छ । विराजको अहमताको सिकार बनेकी नीरा मानसिक, शारीरिक र सामाजिक यातना खेप्न बाध्य हुन्छिन् ।

विराजको कुण्ठाका कारण नीराले भोग्नुपरेका हिंसात्मक व्यवहारलाई लेखकले निकै मार्मिक ढंगले प्रस्तुत गरिदिएको टिप्पणीकर्ता प्रभा बरालले बताइन् । ‘समाजमा पुरुष हुनुको घमन्ड व्याप्त भएजस्तै विराजले पनि उपन्यासको कथामार्फत हिंसालाई अँगालेको छ,’ बरालले भनिन्, ‘महिला हरेक पक्षबाट पीडित छन् ।’

प्रकाशित : भाद्र २, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्