बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ लाई मदन पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई जगदम्बा श्री पुरस्कारका लागि छनोट गरिएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक काइँलालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

त्यसैगरी, गुठीले मदन पुरस्कारका लागि ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि यसका लेखक योगेश राजलाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ उत्कृष्ट दरिएको हो। यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए।

कवि काइँलालाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कदरस्वरुप २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ। असोज १२ मा प्रदान गरिने दुवै पुरस्कार चार–चार लाख रुपैयाँका रहेका छन्।

२०१२ सालमा स्थापना भएको मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो। जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको हो।

प्रकाशित : भाद्र १, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो वडा संघ गठन

कान्तिपुर संवाददाता

बागलुङ — नेपालमै पहिलो पटक जिल्लास्तरीय वडा संघ गठन गरिएको छ । ट्रेड युनियनको खारेजीको चर्चा चलेकै समयमा वडाध्यक्ष र सदस्य मिलेर संघ गठन गरेका हुन् ।

अधिकार र साधन स्रोतका लागि बार्गेनिङ गर्न संघ गठन भएको टिप्पणी समेत सुरु भएको छ । जिल्लाका ८५ वटा वडाध्यक्ष र वडा सदस्यको भेलाले गणेशबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायण शर्मा पौडेल, सचिवमा खड्गबहादुर थापा र कोषाध्यक्षमा कुबिर बिक चयन भएका छन् ।

नेपाल सरकारले तयार पारेको वरियता क्रममा वडाध्यक्षको भूमिका नराखेको, केन्द्रीकृत शासन व्यवस्थाले वडा सञ्चालन गर्न कठिन भएको र जिम्मेवारी भने थपिएकोले समन्वयका लागि संघ बनाएको थापाले बताए ।

गठित समितिले वडासमितिबीच समन्वय गर्ने, सेवा प्रवाहलाई चुस्त बनाउने, वडाको आर्थिक अधिकार सार्वजनिक सेवा प्रवाह सम्बन्धी अधिकारलाई संस्थागत गर्ने र स्थानीय नेतृत्वको विकास गर्ने उद्देश्य राखेका छन् ।
संघीय व्यवस्था तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उनीहरुको प्रथम भेलाको शनिबार उद्घाटन गरे । मन्त्री पण्डितले वडा अध्यक्षहरुलाई संघ बनाएर विकासको अगुवाई गर्न आग्रह गरे । राजनीति र भ्रष्टाचारलाई संस्थागत गर्न भने छुट नभएको बताए । उनले डोजर साहु बन्ने की सच्चा वडाध्यक्ष बन्ने रोज्ने बेला आएको समेत टिप्पणी गरे ।

प्रकाशित : भाद्र १, २०७६ १७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्