२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तेन्जिनले कोरिन् रहस्यमय हिमाल

सुशीला तामा‌ङ

(ललितपुर) — तेन्जिन डोमा लामा जन्मभूमि हुम्लाबाट अमेरिकातिर सरेको झन्डै एक दशक बितिसक्यो । बितेका वर्षहरूमा उनी पश्चिमा संस्कृतिसित धेरै घुलमिल भइसकेकी छन् ।

तेन्जिनले कोरिन् रहस्यमय हिमाल

‘आफ्नो जन्मभूमि, मौलिक संस्कृति र परम्परा भने कहिल्यै भुल्न नसकिने रहेछ,’ हालै ललितपुर पाटनस्थित ग्यालरी एमक्यूबमा उनी भावुक भइन्, ‘त्यही भएर म चित्रकार भएँ । हिमाललाई रंगहरूमा उतारें ।’


हो, आफ्नो समाज, संस्कृति र भूगोलको नोस्टाल्जियाले उनलाई राम्रै चित्रकार बनायो । यतिबेला उनी बाल्यकालमा देखेका हिमाली भेगको भूगोल र संस्कार संगाल्दै चित्र प्रदर्शनीमा उत्रिएकी छन् ।


‘मिस्टिक हिमालयाज’ शीर्षकको उनका कलामा हुम्लामा बसोबास गर्ने आदिवासी जनजातिहरूको लोक संस्कृति र त्यहाँको महिलाहरूको स्थितिको प्रभाव पाइन्छ । त्यहाँको आदिवासीहरूमा दुई वा दुईभन्दा बढी दाजुभाइहरूको एउटै पत्नी प्रथाको अंश पनि उनको कलामा छ । उनको ‘महिला सिरिज’ का चित्रहरूमा यी पक्ष झल्कन्छन् । प्रदर्शनीमा निकै हँसिलो मुद्रामा देखिएकी उनले महिलाका चित्रहरूमार्फत् नारी अधिकारका सन्दर्भ थोरै भए पनि देखाउन खोजेको खुलाइन् ।


प्रायः चित्रहरू मिक्स मिडियाका छन् । हुम्लाको संस्कृतिसँगै दृश्यचित्र र भूगोलको कम्पोजिसन निकै लोभलाग्दा देखिन्छन् । सम्झना या स्मृतिमा आइरहने दृश्य जनाउन उनले प्रायः धुमिल रंग प्रयोग गरेकी छन् ।


उनका चित्रहरू हेर्दै जाँदा दर्शकलाई पनि सम्झनाको सुदूर कुनामा पुगेको अनुभूति हुन्छ । जनजीवन झल्किने चित्रहरू पनि त्यस्तै छन् । खासमा तेन्जिन कोलोम्विया युनिभर्सिटीको मानवशात्रका विद्यार्थी हुन् । विश्वविद्यालयमा अध्ययनकै क्रममा अनुसन्धान गर्न उनले आफ्नै ठाउँको परम्परा र संस्कारलाई रोजिन् र त्यसैमा खोजी गरेर धेरै कुरा पत्ता लगाइन् । त्यसैलाई नै उनले अहिले कलामा पनि प्रस्तुत गरेको बताइन् ।


यसअघि पनि उनले पुल्चोकस्थित पार्क ग्यालरीमा सन् २०१४ मा हिमालय भूबनोटको अवस्थालाई ल्यान्डस्केप शैलीमा उतारेर एकल चित्रकला प्रदर्शनी गरेकी थिइन् । ‘यसपटक हिमाली क्षेत्रको संस्कारदेखि त्यहाँको महिला पात्र र चरित्रलाई कलामा उतारेकी हुँ,’ उनले भनिन्, ‘हुम्लातिर पाइने चौंरीगाई, हिमाल र पहाडका दृश्यहरूबाट पनि म प्रभावित छु ।’ हुम्लातिर घरका भित्ताहरूमा कोरिने मौलिक लोक चित्रहरू पनि उनको कलामा छन् । प्रदर्शनी उद्घाटनमा रहेका चित्रकार मनीषलाल श्रेष्ठले तेन्जिनको कलामा जन्मूमिप्रति आत्मीयता रहेको दाबी गरे ।


प्रदर्शनीमा रहेको चौंरी र मौलिक लोक चित्रमा रंग र माटोको सुन्दर संयोजन देख्न सकिन्छ । उनका अन्य चित्रहरूमा कपडा, तैल रंग र इन्कका माध्यम प्रयोग भएका छन् । आफू अरूको मुलुकमा बसे पनि आफ्नै ठाउँको संस्कृतिलाई फैलाउने उनको उद्देश्य छ । हुम्लामा मौखिक रूपमा नै भनिने त्यहाँको लोककथालाई समेटिएर अब उनी अर्को काम गर्दै छिन् । ‘हामीले नयाँ ढंगले प्रस्तुत नगरे लोककथा पनि हराउने छन्,’ उनले भनिन् ।


प्रकाशित : श्रावण २९, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?