'आधि' लिएर आइन् उषा

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला हिंसाका घटना दैनिक रूपमा बढिरहेका छन् । आफ्नै आफन्तजनबाट नै कैयौं महिला पीडित छन् । हिंसापछि त्यस्ता महिला मनोवैज्ञानिक रूपमा कतिसम्म बिछिप्त हुन्छन् ? मानसिक द्वन्द्वका यिनै पक्षहरुलाई केन्द्रमा राखेर साहित्यकार उषा शेरचनले उपन्यास ‘आधि’ लेखकी छन् ।

मंगलबार राजधानीमा अग्रज साहित्यकार एवं संस्कृतिविद् चेतन कार्की, साहित्यकार पद्यमावती सिंह र कुमारी लामाले लोकार्पण गरे ।

कार्कीले शेरचनको साहित्यिक जीवनबारे प्रकाश पार्दै ‘पोखराबाट मुक्तककार, कवि एवं गीतकारको रूपमा उदाएकी शेरचनले उपन्यास ‘आधि’ मा नाताभित्रै हुने बलात्कारको कथा खोतलेको’ बताए । साहित्यकार सिंहले शेरचनको लेखनमा पाइने प्रवृत्तिगत विशेषताबारे चर्चा गर्दै ‘जुनसुकै विधामा पनि महिलाले दिनहुँ भोग्ने सास्ती उजागर गर्नु नै शेरचनको लेखकीय गुण रहेको’ दाबी गरिन् । ‘आधि उपन्यास नयाँ दिशातिर अग्रसर नेपाली समाजको विम्ब हो,’ उनले भनिन् ।

उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक लामाले ‘महिलामाथि हुने यौनजन्य हिंसाको तस्बिर उपन्यासमा आएको’ दाबी गरिन् । ‘पछिल्लो समयमा आएका मीटुलगायतका महिला हिंसाविरोधी अभियानलाई तात्त्विक निष्कर्षमा पुर्‍याउन ‘आधि’ जस्ता उपन्यासले महत्त्वपूर्ण भूमिका खेल्छन्,’ उनले भनिन् । कविता, मुक्तक, गीत र कथामा थुप्रै कृति दिइसकेकी शेरचनको उपन्यास भने यो पहिलो हो । एउटी बलात्कृत महिलाको सत्य घटनामा आधारित कथा भए पनि केही काल्पनिकताको जलप लगाएर उपन्यास लेखेको उनले बताइन् । उपन्यासलाई बुक हिल पब्लिकेसनले छापेको हो । शेरचनका ‘नजन्मेका आस्थाहरु’, सर्वकालीन पीडा र जागृतिका शंखघोष’, कविता कृति, ‘अक्षरहरुका शिविरबाट’, मुक्तक कृति, ‘तेस्रो रंग’ कथाकृति, ‘संवेदन’, ‘आकाश छुने रहर’ गीति एल्बमलगायतका कृति प्रकाशित छन् ।

प्रकाशित : श्रावण २८, २०७६ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

तारा खेलमा दाना विजयी

कान्तिपुर संवाददाता

(मुस्ताङ) — मुक्तिनाथमा आयोजित तारा खेल (आर्चरी) प्रतियोगितामा म्याग्दीको दाना युवा क्लब विजयी भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा मनाइने ऐतिहासिक पर्व यार्तुङको अवसरमा मंगलबार आयोजित प्रतियोगितामा दानाले १५ टिमलाई पछि पारेको हो । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा मनाइने ऐतिहासिक पर्व यार्तुङको अवसरमा मुक्तिनाथमा आयोजित महोत्सवअन्तर्गत तारा खेल प्रतियोगिताका सहभागी । तस्बिर : दीपक परियार/कान्तिपुर

६ खेलाडीसम्मिलित टिमले ६५ अंक जोड्न सफल भयो। ५७ अंक जोडेको ढुम्बा युवा क्लब मुस्ताङ दोस्रो भयो। ५७ अंक नै जोडेको मुस्ताङकै मार्फा सनराइज युवा क्लब तेस्रो भयो। पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा लुप्राको मुस्ताङ बोन एक्सन, लेतेको निर्मल स्पोर्टिङ क्लब, ठिनीको जनमुक्ति युवा क्लब, टुकुचेको निलगिरि युवा क्लब, मुक्तिनाथको पुराङ टिम, जनप्रिय युवा क्लब, जोमसोम एयरपोर्ट युनाइटेड क्लब, मुस्ताङ गेट क्लब, घरपझोङ टिम, ढकरझोङ लुंग्पाबुक क्लब, मनाङको नेस्याङ युवा क्लब, कागबेनीको मिलन युवा क्लब सहभागी थिए।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबले संयुक्त रुपमा यार्तुङ महोत्सव आयोजना गरेका हुन्। हिमाली भेगमा खेलिने प्राचिन तारा खेल महोत्सवको आकर्षणको रूपमा रहेको थियो। महोत्सवमा सेभेन–ए–साइङ फुटबलसमेत भएको छ। प्रतियोगितामा मुस्ताङको जनशक्ति युवा क्लब ठिनी पहिलो भएको छ। फाइनलमा नर्सिङ युवा क्लब छुसाङलाई २–० ले पराजित गर्दै ठिनीले सफलता पायो। ठिनीका लागि अमृत थकाली र पासाङ शेर्पाले १–१ गोल गरे। प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गरेको जनप्रिय युवा क्लबका सचिव छिरिङ नोर्बुले बताए। सोमबार सुरु महोत्सव बिहीबारसम्म चल्नेछ।

प्रकाशित : श्रावण २८, २०७६ २१:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्