कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पुस्तकमा बुद्ध जीवनी

कान्तिपुर संवाददाता

लुम्बिनी — राजकुमार सिद्धार्थ सेतो हात्तीका रूपमा कसरी गर्भ प्रवेश गरे ? गृहत्याग गर्नुअघि छोरा र पत्नी सुतेको कसरी हेर्न पुगे ? अनोमा नदीपारि पुगेर केश काटेर कसरी भिक्षु भेष धारण गरे ? यी र यस्तै कतिपय प्रश्नको उत्तर अब सचित्र पुस्तकबाट मिल्ने भएको छ ।

पुस्तकमा बुद्ध जीवनी

यहाँ आउने श्रद्धालुलाई बुद्धका बारे बुझाउन उनको जीवनी सचित्र पुस्तकमा उतारिएको हो । त्यसको नाम ‘भगवान् बुद्धको जीवनी र उपदेश’ राखिएको छ ।


भगवान् गौतम बुद्धलाई नजिकबाट जानेर शान्ति, सद्भाव, करुणा र मैत्रीभाव जगाई जीवन र जगत्लाई सार्थक बनाउन पुस्तक बाहिर ल्याइएको हो । पढ्न लेख्न नसक्नेले पनि चित्रावली हेरेर बुझ्न सकून् भनेर पुस्तकमा चित्र बढी छन् । महाराष्ट्र भारतका एक कुशल चित्रकारले बनाएका चित्र समावेश गरिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनीको पवित्रता र आध्यात्मिकता फैलाएर शान्तिको क्षेत्रमा काम गर्ने इच्छा थियो’, पुस्तकका परिकल्पनाकार भन्ते सुमंगलोले भने, ‘जुन पूरा गर्न पाउँदा बुद्धको सेवा गरेको महसुस भयो ।’


पुस्तकमा साना–ठूला ११७ रंगीन चित्र छन् । ७० पृष्ठको पुस्तकमा राजकुमार सिद्धार्थको गर्भ प्रवेश, जन्म, बाल्यकाल र विवाहका चित्रावली छन् । गृहत्याग, ज्ञानको खोजी र बुद्धत्व प्राप्तिका चित्र पनि छन् । त्यस्तै बुद्धको प्रथम धर्मदेशना, कपिलवस्तु आगमन र महापरिनिर्वाणका घटना पुस्तकमा सचित्र देख्न पाइन्छ । पुस्तकमा मगध सम्राट अशोक बुद्धप्रति किन आकर्षित भए, उनको परिवार धर्म प्रचार गर्न कहाँ कहाँ पुगे भन्ने कुरा चित्रित गरिएको छ । चित्रका अतिरिक्त बुद्ध कथा र बुद्ध देशित ३८ मंगल र ४ भावना उल्लेख छ ।


पुस्तक लुम्बिनी आउने पर्यटकलाई निःशुल्क वितरण गरिनेछ । मायादेवी मन्दिरको प्रमुख प्रवेशद्वार शान्ति द्वीपमा स्टल राखेर दैनिक बिहानदेखि साँझसम्म पुस्तक वितरण गरिनेछ । पुस्तक नेपाली भाषामा छ । सारिपुत्त फाउन्डेसन, लुम्बिनीद्वारा प्रकाशित पुस्तकमा ८० प्रतिशतभन्दा बढी चित्र छन् । चित्र बुझाउन क्याप्सन उल्लेख छ । सुरुमा २० हजार प्रति छापिएको छ ।


६ महिनापछि एक लाख प्रति छापिने बताइएको छ । लगत्तै चिनियाँ र अंग्रेजी भाषामा प्रकाशन गरिनेछ । भिक्षु महासंघ अध्यक्ष भिक्षु मैत्री महास्थवीरले तीन दशकयता लुम्बिनीमा एउटा राम्रो कामको सुरुआत गर्न पाएकामा गौरवान्वित भएको बताए । ‘लुम्बिनीको महिमा र पवित्रता फैलाउन पुस्तक कोसेढुंगा बनेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण २७, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?