‘उर्गेन घोडा’माथि तामाङ सौन्दर्यको खोजी 

कान्तिपुर संवाददाता

काठमाडौँ — झण्डै दशकअघि तामाङ समुदायका पात्र र विषय टिपेर युग पाठकको उपन्यास ‘उर्गेनको घोडा’ लेखेका थिए । पहिचान र विभेदको मुद्दालाई नेपाली साहित्यमा ल्याएको भन्दै यो कृतिले किरात एकेडेमी पुरस्कार पनि पायो । यही कृतिमाथि तामाङ समाजशास्त्री, सामाजिक अभियन्ता र स्रष्टाहरुले काठमाडौंमा ‘तामाङ सौन्दर्य’ लाई केन्द्रमा राखेर बहस गरे । 

‘उर्गेन घोडा’माथि तामाङ सौन्दर्यको खोजी 

एससीआरसीले गरेको कार्यक्रममा उपन्यासकार पाठकले कृतिको रचनागर्भ सुनाउँदै माओवादी जनयुद्धलाई सन्दर्भ बनाएको भए पनि तामाङ समुदायमाथि कुनै समय राज्यले गरेको विभेदलाई उतार्न उपन्यास लेखेको बताए । ‘यसका लागि मैले थुप्रै सन्दर्भ सामाग्री अध्ययन गरें, तामाङ गाउँ डुले’, उनले भने, ‘यो कृति जबर्जस्त मेटाइएको एउटा सीमान्तकृत समुदायको इतिहास र उनीहरुको विद्रोही चेतनाको उत्खनन् थियो ।’

उनले तामाङ मिथक्, संस्कृति र उत्पीडित पात्रहरुको कथाव्यथाहरुको आधारमा यस कृतिमार्फत तामाङ सौन्दर्यको खोजी गर्न सकिने बताए । कुनै समय राज्यले कला, साहित्य र संस्कृतिमार्फत सौन्दर्यको एकल परिभाषा गरेको बताउँदै आफूले कृतिमार्फत बहुल सौन्दर्य चेतनाको बहस गर्न चाहेको पनि बताए । उनले ‘तामाङ सौन्दर्य : उर्गेनको घोडा’ विषयक गोष्ठी पत्रसमेत प्रस्तुत गरेका थिए । गोष्ठी पत्रमा समाजशास्त्री डा. मुक्तसिंह लामा, पूर्वराजदूत गणेश योञ्जन, फूलमान वल, बुद्धछिरिङ मोक्तान लगायतले टिप्पणी गरे ।

नेपाली साहित्यमा लामो समयदेखि तामाङ समुदायलाई गरिब, भरिया र निम्न वर्गीय पात्रको रुपमा उल्लेख गर्दै आएको भन्दै समाजशास्त्री लामाले अब ‘तामाङ सौन्दर्यशास्त्रको खोजी’ गर्नुपर्ने औंल्याए । पूर्वराजदूत योञ्जनले आदिवासी जनजातिको मुद्दामा राज्य असहिष्णु बन्दै गएको बताउँदै साहित्य र कलामार्फत आ–आफ्नो मौलिक पहिचानको उठान गर्नुपर्न बताए ।


प्रकाशित : श्रावण २१, २०७६ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?