तिमसिनाको षोडश संस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वीय अध्यात्म दर्शन बोकेका उपनिषद्, श्रीमद्भगवत्गीता, निर्णयसिन्धु लगायतका प्रमाणलाई जस्ताको त्यस्तै राखेर त्यसको सरलीकरण गर्दै नेपाली भाषामा ‘षोडश संस्कार विवेचना’ कृति बजारमा आएको छ ।

पश्चिमी रीतिरिवाज र जीवनशैलीको प्रभावमा परेर मौलिकता बिर्संदै गएको अवस्थामा हिन्दु सनातन संस्कारका व्यावहारिक र वैज्ञानिक पक्षलाई केलाउँदै भागवताचार्यः श्रीभीमप्रसाद तिमसिना (भागवतशरण) ले पुस्तक लेखेका हुन् ।

पुस्तकमा जन्मपूर्वदेखि मृत्युपर्यन्त गर्नुपर्ने कर्म, मूल्यमान्यता र विज्ञानका सापेक्षतामा हिन्दू आध्यात्मिक कर्मबारे स्पष्ट पारिएको छ । लामो समयसम्म यस क्षेत्रमा लागेर देखेका, भोगेका, अनुभव गरेका, खोज र अनुसन्धान गरेर पुस्तक लेखिएको तिमसिनाले बताए ।

प्रकाशित : श्रावण १६, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्

घूससहित ५ ट्राफिक पक्राउ

नगेन्द्र अधिकारी

काभ्रे — टिपरबाट घूस लिँदालिँदै ५ ट्राफिक प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभिन्न चेक पोस्टमा कार्यरत प्रहरी प्रतिटिपर २ हजार घूस लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले प्रतिटिपर मासिक २ हजार उठाउँदै आएका छन् । बीपी र अरनिको राजमार्ग हुँदै दैनिक १९ सय टिपर गुड्छन् । 

मण्डनदेउपुर नगरपालिकास्थित हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोस्टमा कार्यरत सिपाही हरिप्रसाद बानियाँ र हवल्दार रामहरी मानन्धर चालकसँग घूस लिँदैगर्दा पक्राउ परेका हुन् । पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्गको केराघारीबाट पक्राउ परेका छन् । पक्राउ परेका ती स्थानमा टिपरहरुले मासिक रकम बुझाउँदै आएका छन् । उजुरीका आधारमा अख्तियारको टोलीले बिहीबार अपरेशन गरेको थियो ।

ओभरलोड, पानी चुहाउने नियन्त्रणको नाममा चेकिङमा कडाई गरेको देखाउँदै ट्राफिकले रकम असुल्दै आएको हो । तल्लो तहका कर्मचारीबाट मासिक रुपमा संकलित रकम प्रहरीका उच्च अधिकारीसम्म पुग्ने भएकोले यातायात व्यवसायीका अगाडि प्रहरी निरीह रहने प्रहरीहरु नै स्वीकार्दै आएका छन् ।

प्रकाशित : श्रावण १६, २०७६ २१:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्