१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सुस्ताउँदै मिथिला कला

कान्तिपुर संवाददाता

काठमाडौँ — कुनै समय मिथिला चित्र घरको भित्तामा मात्रै सीमित थियो । मैथिली लोक परम्परा, संस्कृति र मिथकीय चरित्रहरूको आकृति कोरिने यी चित्रहरूको व्यावसायिक मूल्य थिएन । पचासको दशकपछि मिथिला चित्रले ठूलो व्यावसायिक छलाङ मार्‍यो ।

सुस्ताउँदै मिथिला कला

देशदेखि विदेशसम्मका बजारमा यसको वाहवाही चल्न थाल्यो । कलाकारहरूको संख्यामा पनि रातारात बढोत्तरी भयो ।


काठमाडौंमै पनि मिथिला चित्रलाई केन्द्रमा राखी ग्यालरी खुल्यो । यी दुवै समयको साक्षी हुन् धनुषाकी चित्रकार मिथिलादेवी यादव । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं लोक कला विभाग प्रमुखसमेत रहेकी यिनी मिथिला चित्रकलाको पछिल्लो अवस्थाबाट भने निराश छिन् ।


‘अहिले मिथिला चित्रको मूल्य खस्किँदै गएको छ,’ उनी भन्छिन्, ‘पहिलोको जस्तो वाहवाही अब रहेन ।’ मिथिला चित्रमै उनले लगभग तीन दशक बिताएकी छन् । विसं. २०४५ बाट नै उनी व्यावसायिक रूपमा मिथिला चित्रकलातिर लागेकी थिइन् । त्यतिबेला मिथिला चित्रकारहरूका स्थिति खासै राम्रो थिएन । चालीसको दशकको अन्त्यतिरसम्म कलाकार आफैंले बजार व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनी सम्झन्छिन् ।


‘पचासको दशकमा मिथिला कलाको माग बजारमा यति धेरै भयो कि, मागअनुसारको आपूर्ति हुनै गाह्रो भयो,’ उनी भन्छिन्, ‘बजारको मागकै आधारमा मिथिला चित्रकला बनाउने उद्योगहरू नै धमाधम खुल्न थाले ।’


उनले पनि २०५१ सालमा ४५ जना कर्मचारी राखेर ‘मिथिला हस्तकला पेन्टिङ उद्योग’ खोलिन् । चामलको पिठो, सर्स्यूं र सिमीको पातको रस, टुकीको कालो रंगमार्फत् कपडा या लोक्ता पेपरमा बनाइएको चित्रकला क्यानभासतिर मोडियो । सुरुवातीको दिनमा आफ्नो कलाकर्मबाट २ सय ५० रुपयाँ मूल्य पाउँदा पनि खुसी भएकी यादवसित एउटै चित्रबाट ८५ हजार रुपैयाँसम्म लिएको अनुभव छ । ‘अहिले यस्तो स्थिति आयो कि, पाँच जना कर्मचारी राख्न पनि मुस्किल छ,’ उनले पछिल्लो अनुभव सुनाइन्, ‘महिनामा दुई/तीनवटा चित्र पनि बिक्दैनन् ।’ उनका अनुसार बितेका दुई दशकमा मिथिला कलामा काम गर्नेको संख्या यति धेरै बढ्यो कि बजारमा अब यो सामान्य बन्न थाल्यो ।


नयाँ प्रविधि पनि यो चित्रकलामा भित्रियो, अर्ग्यानिकभन्दा पनि बजारिया रंगको माध्यममा मिथिला कला सजिन थाले । विषयगत हिसाबले पनि परम्परागत मिथक र संस्कृतिबाट बाहिर निस्केर कलाकारले आफ्नो व्यक्तिगत सिर्जनशीलता प्रस्तुत गर्न थाले । ‘तर, खै किन हो बजारमा भने गिरावट छ,’ यादव भन्छिन्, ‘पचार र साठीको दशकमा जस्तो ७० को दशकमा मिथिला कलाको व्यापार हुन सकेन ।’


मिथिला चित्रकलामै लगभग तीन दशक समय बिताएका धनुषाका लक्ष्मण मण्डलको अनुभवमा २०७२ सालको भूकम्पपछि मिथिला कलाको व्यापारमा निकै गिरावट आयो । यति हुँदाहुँदै पनि देशविदेशमा मिथिला कला र कलाकारको सहभागिता भने घटेको छैन । यसलाई निकै सकारात्मक मान्छन् उनी । उनको अनुभव पनि कुनै समय निकै तितो थियो । चालीसको दशकको अन्त्यतिर राजधानीको ठमेलमा हातमा चित्र लिँदै पसलपसल घुमेको उनलाई याद छ ।


‘पैसा पर्दैन भन्दा पनि मिथिला आर्ट लिन कसैले मान्दैन थिए,’ उनी भन्छन्, ‘बल्लतल्ल एक/दुई जनाले लिन्थे र बोहनी स्वरूप सय रुपैयाँ लिन्थेँ ।’ पचासको दशकमा भने रातारात मिथिला कलाले बजार लियो । उनको अनुभवमा बजार व्यवस्थापन र राज्यका तर्फबाट खासै चासो नदेखाएकाले अहिले मिथिला सुस्ताउँदो अवस्थामा पुगेको हो ।


अर्का कलाकारको पुनम दासको पनि उस्तै गुनासो छ । ‘मिथिला कलाको जति विकास र बजार तन्कियो, त्यो काठमाडौंभित्रै रह्यो,’ उनी भन्छिन्, ‘राजधानीबाहिर पनि मिथिला कलाहरूको वर्कसप र प्रदर्शनीहरू अत्यधिक हुनुपर्थ्यो ।’ उनको अनुभवमा भूकम्पपछि क्षतिग्रस्त सम्पदासँगै पर्यटकहरू घट्दा पनि मिथिला कलालाई असर पुग्यो । अर्का चित्रकार सरिता मण्डल भने मिथिला कलालाई अझै पनि सबैले बुझ्न सकेको अवस्था बनेको छैन । डेढ दशकभन्दा लामो उनको अनुभवमा कतिपय प्रदर्शनीमा मिथिला कलालाई जयपुरी या भारतीय कला हो भन्नेहरू पनि निस्कन्छन् ।


मिथिला कला नेपालकै चिनारी बोकेको लोककला भए पनि त्यस क्षेत्रमा रहेका मानिसमा पनि अपनत्व महसुस गर्ने संस्कृति विकास भएन । प्राज्ञ यादवकै भनाइमा पनि ‘सबै महिला आफ्नो घरमा चाडपर्व, विवाह, व्रतबन्धजस्ता उत्सवहरूमा हात्ती, मयूर र विभिन्न फूलहरूको आकृति बनाउँछन्, तर उनीहरूलाई मिथिला कला भन्ने कुराचाहिँ खासै थाहा छैन ।’


अहिले विषयगत रूपमा हेर्दा मिथिला कलामा धेरै नै परिवर्तन आएको छ । मिथिलाको दैनिकी जीवनसँगै मिथिलाका महिलाले भोगेका समस्या, त्यहाँका कुसंस्कार, बालविवाह, दाइजो प्रथा, भ्रूणहत्याजस्ता सामाजिक विसंगतिका विषयमा पनि कलाकारहरूले कुची चलाउँदै आइरहेका छन् । केही महिनाअघि मात्र राजधानीको बबरमलस्थित आर्ट काउन्सिलमा प्रदर्शन भएको सप्तरीका कलाकार रञ्जु यादवको कलामा महिला हिंसादेखि महिला सशक्तीकरणसम्मका मुद्दाहरू समेटिएका थिए । उनले मिथिला कलामा ‘जति मिहिनेत छ, त्यति मूल्य र व्यापार चित्तबुझ्दो नभएको’ बताएकी थिइन् ।


यसमा मुख्यतः सरकारी निकायको उदासिनतालाई कारक मान्छन् चित्रकारहरू । सरकारले लोककलालाई प्रवर्द्धन गर्न खासै चासो देखाएको छैन । मिथिला कलाकै जस्तो अवस्था थाङ्का र पौभा चित्रमा पनि छ । यस्तोमा ललितकला प्रज्ञा प्रतिष्ठान के गर्दै छ त ? ‘मुख्य कुरा बजेट हो,’ लोक कला विभागकै प्रमुख यादव भन्छिन्, ‘सरकारले कनिका छर्ने प्रकृतिको बजेट छुट्याउँछ । यस्तोमा बृहत् योजना सम्भव हुने कुरै भएन ।’

प्रकाशित : श्रावण १५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?