साहित्यकार लीलबहादुरलाई २ लाख राशिको पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नेपाली भाषा–साहित्यका क्षेत्रमा आधा शताब्दी लामो अनवरत योगदान गर्ने भारतको आसामबासी साहित्यकार लीलबहादुर क्षेत्रीलाई अनेसास वासुदेव–मालती साहित्य पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कारको राशि २ हजार १ सय ११ डलर रहेको छ ।

क्षेत्रीका ‘बसाई’, ‘ब्रम्हपुत्रको छेउ छाउ’ लगायतका उपन्यास प्रकाशित छन् । क्षेत्रीका कथा, निबन्ध, समालोचना, कवितासहित एक दर्जन कृति प्रकाशित छन् । ८६ वर्षीय लेखक क्षेत्रीको ‘बसाई’ उपन्यासलाई पहिलो पटक मदन पुरस्कार पुस्तकालयले २०१४ सालमा प्रकाशित गरेको थियो ।

नेपाली पहाडी समाजको चित्र र बसाइ सराइको कथामा बुनिएको ‘बसाई’ नेपाली साहित्यमा सबैभन्दा बढी बिक्री हुनेमध्ये एक लोकप्रिय सामाजिक यथार्थको उपन्यासका रूपमा चिनिन्छ । भाषा–साहित्यको प्रवर्द्धनमा जगदम्बाश्री, भानु पुरस्कार, अगम स्मृति अवार्डलगायतका सम्मान पाइसकेका स्रष्टा क्षेत्रीको योगदानको कदर गर्न अमेरिकाबासी दुर्गा दाहालले प्रायोजन गरेको विशेष नगद पुरस्कार सहितको सम्मान प्रदान गर्न लागिएको हो ।

अनेसासका महासचिव गणेश घिमिरेले जारी गरेका विज्ञप्तिअनुसार, आगामी अगस्ट पहिलो साता लन्डनमा आयोजना हुने छैटौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा यो पुरस्कार प्रदान गरिने भएको छ । ‘मैले गरेको नेपाली भाषा–साहित्यको कर्मलाई योगदान सम्झेर पुरस्कृत गरिएकोमा आनन्द लागेको छ,’ क्षेत्रीले कान्तिपुरसँग फोनमा भने,‘यस्तो खबरले यो उमेरमा पनि सृजनशील बनिरहन प्रेरणा दिएको छ ।’

प्रकाशित : श्रावण १२, २०७६ १९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कञ्चनजंघामा कस्तूरी गणना

नेपालमा २५ सय र कञ्चनजंघा क्षेत्रमा ५ सय कस्तूरी मृग रहेको अनुमान
आनन्द गौतम

ताप्लेजुङ — कञ्चनजंघा संरक्षण क्षेत्रमा कस्तूरी मृगको गणना सुरु भएको छ । विश्वकै दुर्लभ यो प्रजातिको मृगको संख्या यकिन गर्न गणना थालिएको हो । संरक्षणकर्मीहरूका अनुसार नेपालमा २ हजारदेखि २ हजार ५ सयको संख्यामा रहेको अनुमान छ ।

कञ्चनजंघा क्षेत्रमा मात्रै ४ देखि ५ सयको संख्यामा कस्तूरी हुनुपर्ने अनुमान गरिएको छ । अनुसन्धानकर्ता योगेश ढकाल नेतृत्वको टोलीले तीनवटा ब्लक बनाएर खोजी सुरु गरेको हो ।

गणनाका लागि कञ्चनजंघा संरक्षण क्षेत्रलाई वन्यजन्तु संरक्षण र पहुँचका आधारमा चारवटा ब्लक बनाइएको छ । यिनमा घुन्सा, ओलाङचुङगोला र राम्जेर ब्लकमा कस्तूरीको उपस्थिति राम्रो भएको ढकालले बताए । ‘घुन्सा ब्लकमा खाम्बाछेनतर्फ जाने जंगल र माथिल्लो क्षेत्रमा कुम्भकर्ण संरक्षित सामुदायिक वनमा यसको घनत्व बढी रहेको अनुमान गरेका छौं,’ उनले भने, ‘ओलाङचुङगोला ब्लकमा दिङगा साम्बादेखि देउमा क्षेत्रको स्थानलाई राम्रो मानिएको छ ।’ राम्जेर ब्लकमा चैरामदेखि राम्जेरसम्मको ब्लकमा धेरै घनत्व रहेको अनुमान टोलीको छ ।

गणनामा खटिएको टोलीले कस्तूरीको दिसा संकलन गर्ने र प्रयोगशालामा लगेर परीक्षण गर्दा अनुमानित संख्या निस्कने ढकाल बताउँछन् । पहिलो चरणमा घुन्सा ब्लकमा गरिएको ‘पाइलट ग्रुप काउन्ट’ बाट ५० देखि ६० को संख्यामा कस्तूरी हुनुपर्ने अनुमान छ । सबैभन्दा बढी ओलाङचुङगोला क्षेत्रमा हुनुपर्ने संरक्षण क्षेत्रका कर्मचारी बताउँछन् । ओलाङचुङगोला क्षेत्रमा प्रत्येक वर्ष सेना र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको टोली ‘स्विप अपरेसन’ का लागि जाने गरेको छ । औसत उमेर १५ देखि २० वर्षको हुने कस्तूरी हिमाली क्षेत्रमा पाइन्छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको कस्तूरीको सिकार गर्न पाइँदैन ।

सदरमुकाम फुङलिङबाट गएको टोलीले धेरैपटक सिकारीले वन्यजन्तु मार्न थापेको पासो बरामद गर्ने गरेको छ । पासो थाप्नेहरू भने पक्राउ परेको रेकर्ड छैन । यसै आर्थिक वर्षमा गणना सम्पन्न गर्ने गरी कार्यक्रम र तयारी रहेको संरक्षण अधिकृत महेश्वर निरौलाले बताए । ‘अबको गणना ओलाङचुङगोला, चैराम, राम्जेर, याङमा, ग्याब्ला, ढासा र स्याम्जोङ क्षेत्रबाट गरिनेछ,’ उनले भने ।

भाले कस्तूरीको पेटमा बिना हुने हुँदा यसको चोरीसिकार अत्यधिक हुने गरेको छ । यसको दाराका लागि पनि सिकारीले मार्ने गरेका छन् । बिनाको उपयोग भने चिनियाँहरूले परम्परागत पद्धतिमा बन्ने औषधिमा खपत गर्छन् ।

जडीबुटीबाट बन्ने चार सय किसिमका औषधिमा यसको प्रयोग हुने चिनियाँहरूले बताउने गरेको ओलाङचुङगोलाका बासिन्दाले प्रस्ट्याए । यसबाहेक युरोपका देशमा बिना मिसाएर महँगा अत्तर बनाइन्छ तर अवैध सिकार गरेर लगिने अहिलेसम्मको मुख्य बजार भने चीन नै हो । सुनको तुलनामा तीनदेखि पाँच दोब्बर बढी मूल्यमा बिक्री हुने भएकाले कस्तूरीलाई सिकारीबाट जोगाउन कठिन रहेको संरक्षणकर्मी बताउँछन् । हिमाली क्षेत्रमा २७ देखि ४५ सय मिटर उचाइमा पाइने कस्तूरी नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै संख्यामा भएको अनुमान छ । गोरखाको मनास्लु क्षेत्रमा यसबारे छुट्टै अध्ययन भइरहेको छ ।

लामा कान, छोटो पुच्छर हुने यो जन्तुमा भालेको मात्रै दारा हुन्छ । एउटा भालेमा ३० देखि ४५ ग्रामसम्म बिना हुने अध्ययनले देखाएको छ ।

प्रकाशित : श्रावण १२, २०७६ १९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT