उपाध्यायलाई यात्री वाङ्मय

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार/समालोचक प्रा. केशवप्रसाद उपाध्यायलाई यात्री वाङ्मय पुरस्कार प्रदान गरेको छ । 

यात्रीको ८६ औं जन्मजयन्ती पारी नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रा. उपाध्यायलाई पुरस्कार अर्पण गरे । ५१ हजार रुपैयाँसहितको उक्त पुरस्कार यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे,वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिसकिएको छ ।

यसैगरी, शोधार्थी प्रमिला गुरागाईंलाई १० हजार राशि रहेको यात्री विद्या पदक प्रदान गरियो । उक्त पदक यात्रीका कृतिमाथि शोध गर्नेलाई दिइँदै आएको छ । पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई समग्रमा चिनाउन यात्रीले लोक विश्वविद्यालयको सपना देखेको स्मरण गर्दै आफू त्यसको स्थापनाका लागि प्रयत्नशील रहने प्रतिबद्धता जनाए ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यात्री मुलुकलाई चिन्ने थोरै विद्वान्हरूमध्ये एक रहेको बताए । प्रा. महादेव अवस्थीले यात्री आफ्नो समयका नेपालविज्ञ रहेको उल्लेख गर्दै थपे, ‘हाम्रो मुलुकको प्रकृति, मानवजीवन, विभिन्न पक्षको जानकारी लिनुपरे यात्रीजीलाई पढ्नैपर्छ ।’

प्रा. उपाध्यायले समकालीन स्रष्टाको नामको पुरस्कार पाउनु आफ्ना लागि विशेष खुसीको विषय रहेको बताए । केन्द्र अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले स्थापित र नवोदित कलमजीवीको सम्मानको परम्परालाई अघि बढाइरहने सुनाए । समारोहमा यात्रीको नियात्रा कृति ‘भेरीका गाउँघर’ पनि लोकार्पण गरियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीकी पूर्व मुख्यमन्त्री दीक्षितको निधन

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राष्ट्रिय कंग्रेसकी वरिष्ठ नेतृ तथा दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी दीक्षितको नयाँदिल्लीस्थित एस्कर्ट फोर्टिस अस्पतालमा शनिबार हृदयाघातका कारण निधन भएको चिकित्सकले बताए । 

भारतीय राजनीतिमा दीक्षित शालीन र जुझारु राजनीतिज्ञका रूपमा परिचित थिइन् । विशेष गरी दिल्लीमा उनको छवि निकै नै लोकप्रिय थियो । साढे तीन दशक लामो राजनीतिक जीवनमा उनी १५ वर्ष दिल्लीको मुख्यमन्त्रीकारूपमा रहिन् । उनी सन् १९९८ देखि २०१३ सम्म निरन्तर ३ कार्यकाल मुख्यमन्त्री रहिन् ।

नयाँदिल्लीलाई विश्वका अन्य राजधानीका तुलनामा आधुनिक बनाउने श्रेय पाएकी दीक्षितले मेट्रो रेल सेवाको परिकल्पना र निर्माण सुरु गराएकी हुन् । उनकै नेतृत्वमा दिल्लीमा दर्जनौं फ्लाइओभर निर्माण गरिए । दीक्षितले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै कल्याणकारी कार्यक्रम लागू गरिन् ।

हालै सम्पन्न लोकसभाचुनावमा नमिठो हार व्यहोरेसँगैनेतृत्वको संकट खेपिरहेको भारतीय राष्ट्रिय कंग्रेसका लागि शिलाको निधनले
थप चोट पुगेको छ । उनी नेहरू–गान्धी परिवारकी विश्वासपात्रसमेत थिइन् ।

शिला सन् १९८४ को राजीव गान्धी नेतृत्वको सरकारमा केन्द्रीय मन्त्रीसमेत थिइन् । दिल्लीमा कंग्रेसको खम्बा मानिने दीक्षित सन् २०१३ मा सम्पन्न विधानसभा चुनावमा नराम्रो हार व्यहोरेपछि सक्रिय राजनीतिबाट क्रमशः टाढिँदै गइन् । त्यसपछि दक्षिण भारतीय राज्य केरलाको गभर्नर नियुक्त शिलाले केन्द्रमा भारतीय जनता पार्टीको सरकार बनेसँगै पद त्यागिन् ।

सन् २०१७ को उत्तरप्रदेशको विधानसभा चुनावमा पार्टीले मुख्यमन्त्रीका रूपमा अघि सारे पनि उनले असमर्थतता जनाइन् ।करिब दुई वर्ष सक्रिय राजनीतिबाट टाढा रहेकी दीक्षितलाई कंग्रेसले१७ औं लोकसभा चुनावको पूर्वसन्ध्यामा पुनः एकपटक दिल्लीकोजिम्मेवारी दियो ।

दीक्षितको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । कंग्रेस नेता राहुल गान्धीले दीक्षितको निधनले आफू अत्यन्त दुःखी भएको र कंग्रेसले एउटी छोरी गुमाएको बताए । नयाँदिल्लीको राजनीतिमा दीक्षितका तीव्र आलोचक भनेर चिनिने मुख्यमन्त्री अरविन्द केजरीवालले उनको निधनले ठूलो क्षति भएको बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्