कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘चित्रले गर्छ मनोपचार’

विपिन श्रीस

काठमाडौँ — कला किन ? कसका लागि ? र केका लागि ? बहस पुरानै हो । चित्रकार प्रकाश रञ्जितले भने आफ्नै लागि कलाकर्म गरे । ललितकलाका यी स्नातकले आफ्नै मनोवैज्ञानिक उतारचढावलाई चित्रमा उतारे, प्रदर्शनीमा ल्याए ।

‘चित्रले गर्छ मनोपचार’

हालै ग्यालरीबाट बिदा भएका उनी घरमा चित्रहरूकै माझ घेरिरहेका हुन्छन् । टेबुलदेखि भित्तासम्म चित्र नै चित्र भेटिन्छन् ।


चित्रकलासँग यति धेरै संगतको पछाडि उनको आफ्नै दर्दनाक कथा जोडिएको छ । अनेक कारणले लामो समय उनी डिप्रेसनको सिकार बन्नुपर्‍यो । काठमाडौं झोछेँका यिनले चित्रकलाको नियमित अभ्यासमार्फत डिप्रसेनको उपचार पद्धति थाले ।


अभिभावकको ‘स्पोइलिङ’ (पुल्पुल्याउने) व्यवहार र रुचिको भिन्नताका कारण डिप्रेसनमा फसेको बताउने रञ्जितले मनोचिकित्सको सल्लाहमा चित्र कोर्दै डिप्रेसन मुक्तिको बाटोमा लागेका हुन् । ‘मलाई ‘बोर्डलाइन पर्सनालिटी डिसअर्डर’ भएको थियो ।


डाक्टरले डायरी लेख्न सल्लाह दिएका थिए, मेरो रुचिको विषय भने चित्रकारिता थियो’ डिप्रेसनका कारण आत्महत्याको प्रयास समेत गर्न पुगेका रञ्जितले भने, ‘आफ्नो रुचिको बारेमा डाक्टरसँग परामर्श गरेपछि डायरी लेखनको सट्टा चित्र बनाउन थाले ।’


सिर्जना कलेज अफ फाइन आर्टबाट ललितकलामा स्नातक गरेका रञ्जितले मनोचिकित्सकको सल्लाहअनुसार प्रत्येक दिन जे देखे, जे सोचे त्यसलाई चित्रमार्फत उतार्न थालेको बताए । आफूले बनाएका चित्रहरू फेसबुक, इन्स्टाग्राममा सेयर गर्दा अन्तरक्रिया बढेको उनको अनुभव छ । यसरी कलाको क्षेत्रमा र सामाजिक रूपमा सक्रिय हुदाँ हल्का महसुस गर्न थालेको उनले सुनाए ।


‘दैनिक चित्र बनाउन थालेको आठ/नौ महिनापछि मेरो अवस्था सुधार हुँदै गयो, आत्मविश्वास बढै गयो,’ रञ्जित भन्छन्, ‘यो अनगोइङ प्रोसेसमा छ, डिप्रेसन हुन समय लिएजस्तै निको हुन पनि समय लाग्दो रहेछ । अहिले पनि पूर्ण रूपमा डिप्रेसन मुक्त भएको दाबी गर्दिनँ म ।’


कलामार्फत बाहिरी संसारमा परिचित गराउन भने उनलाई आर्टिभिस्ट अस्मिना रञ्जित र श्रीमतीले सघाएको सुनाए । रञ्जितले डिप्रेसनबाट मुक्त हुने क्रममा कोरेका चित्रहरू संकलन गरी नेक्सस कल्चरल सेन्टरमा हालै ‘नट जस्ट अ नम्बर’ शीर्षकको एकमहिने एकल प्रदर्शनीसमेत गरिसकेका छन् ।


प्रदर्शनीमा उनले प्रत्येक दिन बनाएका तीन सय ६५ चित्र राखेका थिए । उनी अहिले पनि दैनिक रूपमा चित्र बनाउँदै आएका छन् ।


आर्टिभिस्ट अस्मिना रञ्जितले प्रकाशको चित्रमा उनको आफ्नै मानसिक अवस्था, काठमाडौंको अस्तव्यस्त सहरी जनजीवन, फेन्टासी, व्यंग्यलगायतका विषयवस्तु देख्न सकिने बताइन् ।


‘प्रकाशका सबै चित्र मलाई उत्तिकै मात्रामा मन पर्दैन,’ प्रकाशलाई डिप्रेसन मुक्त हुन सहयोगसमेत गरेकी आर्टिभिस्ट रञ्जितले भनिन्, ‘प्रकाशका चित्रहरूले उनको मानसिक अवस्था र समस्याबाट पार पाउन उनले गरेको प्रयास दुवैलाई देखाउँछ ।’ चित्रकलामार्फत पनि मानसिक स्वास्थ्यको बारेमा ‘डिस्कोर्स’ चलाउन सकिने आर्टिभिस्ट रञ्जितको मत छ ।


प्रकाशजस्तै कैयौं विद्यार्थी पनि आफ्नो रुचिको विषयभन्दा अभिभावकको दबाबमा पढ्न बाध्य हुन सक्छन् । यसले समस्या ल्याउन सक्छ । यस्तो अवस्था आउन नदिन विद्यार्थीभन्दा पनि अभिभावक बढी जिम्मेवार र सचेत हुनुपर्ने आर्टिभिस्ट रञ्जितले बताइन् । डिप्रेसनमा नजान र डिप्रसेनमुक्त हुन विचार, मनोभाव साटासाट गर्नुपर्ने प्रकाशको बुझाइ छ । भन्छन्, ‘हामीले हाम्रो कथा भन्नुपर्छ ।


प्रकाशित : श्रावण १, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?