१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

गुरुचेलाको आधा शताब्दी

गणेश राई

काठमाडौं — आख्यानकार ध्रुवचन्द्र गौतमले मंगलबार एकजना चेलासित गुरुपूर्णिमा मनाए । यो ५० औं वर्षको गुरुचेला सम्बन्ध हो । चेला विश्वराज ढुंगाना हुन् । ‘ढुंगानाजी प्रत्येक वर्ष गुरुपूर्णिमा आएको झल्को सम्झाउनुहुन्छ,’ उमेर ७६ वर्षे गौतमले भने, ‘कहिले मेरो घरमै आउनुहुन्छ । आज पचास वर्षगाँठ भएकोले उहाँकै निवासमा आइपुगेको छु ।’

गुरुचेलाको आधा शताब्दी

यो सम्बन्धको पोया २०२६ सालदेखि गाँसिएको हो, जतिखेर ढुंगाना त्रिचन्द्र क्याम्पसमा आईएमा पढ्न पुगेका थिए । गौतम वीरगन्जबाट काठमाडौं आएर डेरामा बसेर क्याम्पसमा पढाउँथे । ढुंगाना उदयपुरबाट उच्च शिक्षाकै निम्ति काठमाडौं पसेका थिए । गौतमले त्रिभुवन विश्वविद्यालयमा २८ वर्ष प्राध्यापन गरे । एमए सकेर ढुंगाना गाउँ फर्किए । अनि माध्यमिक शिक्षक भएर ४० वर्ष पढाए । अहिले दुवैजना अवकाशप्राप्त शिक्षक हुन् । अहिले गुरु गौतम काठमाडौंको महाराजगन्ज चुनदेवी र चेला ढुंगाना काठमाडौंकै कपनका बासिन्दा बनेका छन् ।


‘गुरुसित आईए पढदा नेपाली विषयको कक्षामा चिनाजानी भएको हो,’ ६५ वर्षीय ढुंगाना भन्छन्, ‘बीए पनि उहाँसितै पढें । त्यतिखेर ज्यादै घनिष्ठता बढेको हो ।’ त्यसयता आआफ्नो पेसामा रहे पनि बेलामौकामा सम्झना गर्ने गरेको सम्झिन्छन् ।


नेपाली साहित्यका साधक गौतमको कलम जति तिखो छ, शिक्षण पद्धतिमा पनि उत्तिकै अब्बल थिए । ‘उहाँको शिक्षण ज्यादै मनमोहक हुन्थ्यो, हँसाएको हँसाइ पढाउनुहुन्थ्यो,’ उतिखेर गुरुले कक्षामा भनेका कथा अहिले पनि ताजै रहेको ढुंगाना उल्लेख गरे । आख्यानकार गौतमको अहिले ५० वटा कृति प्रकाशित छन् । गुरुकै प्रेरणाले आफूले साहित्यमा कलम चलाएको ढुंगाना बताउँछन् । ढुंगानाको १३ वटा कृति प्रकाशित छन् । ‘शिक्षक त म मात्रै थिइनँ, तर यसरी गुरुचेला परम्पराको निरन्तर राख्ने काम हामी दुईले कायम राख्ने सकेकोमा गर्वित छु,’ गौतम भन्छन्, ‘म त साहित्यमा मात्र कलम चलाउँछु । ढुंगानाजी साहित्य र शोधअनुसन्धानमा समेत पोख्त हुनुहुन्छ ।’


पचासौं वर्षगाँठमा भेला भएर गुरुचेलाको सद्भाव प्रकट गर्न सकेको दुवैजना दंग छन् । यो प्राचीन परम्परा हो । ज्ञानको कुरो आउनासाथ गुरु र चेलाको सम्बन्ध आउँछ । जसले पनि ज्ञान कसैबाट लिएको हुन्छ । विश्वमै गुरुचेला परम्परा कायम छ । उहिले एकै शिक्षकले सबै विषय पढाउँथे । परम्परा बदलिँदै शिक्षालयका गुरु चेला सम्बन्ध रहने गरेको छ । गुरुबाट चेला प्रभावित हुनुमात्र नभई चेलाबाट गुरुसमेत प्रभावित हुनुचाहिँ महत्त्वपूर्ण हुने गौतमको ठम्याइ छ ।

जहाँ गुरुको अस्तित्व हुन्छ, त्यहाँ चेलो अनिवार्य हुन्छ । चेलोबिना कोही गुरु हुन सक्दैन । गुरुबिना कोही चेलो बन्न नसक्ने ढुंगानाको ठम्याइ छ । ‘त्यसकारण यी दुइटा शक्तिले संसारमा बौद्धिक विकास गरेका हुन्,’ उनी भन्छन्, ‘यो गुरु–शिष्य परम्परा मर्न दिनु हुँदैन । यसलाई जीवन्त राख्नुपर्छ भन्ने ध्ययले आज गुरुसँग छु ।’

प्रकाशित : असार ३१, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?