कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘किताब पढाउने कसरी ?’

भारतमा नेपाली साहित्य
मनोज बोगटी

दार्जिलिङ — भर्खरै लोकसभा चुनावमा ६ हजार मत पाएका भारत दार्जिलिङस्थित जनआन्दोलन पार्टीका नेता हर्कबहादुर छेत्री एक बुक क्याफेमा ‘किन पढिँदैन किताब ?’ शीर्षकको संवादमा गफिन आइपुगे । उनकै दलका ब्युरो सदस्य अनमोल प्रसाद पनि साथै थिए । त्यही संवादमा सहभागी थिए पाठक राजेन्द्र ढकाल ।

‘किताब पढाउने कसरी ?’

नेपालको प्रकाशन संस्था सांग्रिला बुक्सले केहीअघि कालेबुङमा भारतीय संस्करण सुरु गर्दै ‘बुक क्याफे’ को उद्घाटन गरेको थियो । यही मेसो पारेर अघिल्ला पुस्ताका सर्जक पाठकबीच आयोजित संवादमा राजनीति र लेखनबारे बहस चलेको हो । पछिल्लो समय दार्जिलिङको राजनीतिक गतिविधिमा सक्रिय क्षेत्रीको अर्को छवि लेखकको पनि छ । छेत्री सुरुमा नै आफ्नो बचाउमा उत्रिए । ‘म राम्रै लेखक थिएँ, राजनीतिमा लागेर पो बिग्रिएँ,’ भने, ‘तर म अझै पनि लेखक नै हुँ । अब राजनीति कम साहित्य धेर जिउने उमेरतिर आइसके । रोगमुक्त बनिसकेँ ।’


दार्जिलिङलगायत भारतका नेपाली भाषी क्षेत्रमा पठन संस्कृति मरणासन्न अवस्थामा रहेको छेत्रीले स्विकारे । ‘यताका नेपाली लेखकहरूको किताब नपढ्नुको कारण पाठकले खोजेको गम्भीरता नपाएरै हो,’ उनको अडान स्पष्ट थियो, ‘भारतीय नेपाली लेखकहरू पहिले त विषय छनोटमा नै चुक्छन् । त्यसपछि शैलीमा । किताब कसरी रुचिकर बनाउने भन्ने हेक्का धेरैजसो लेखकमा छैनन् । यद्यपि, नयाँ लेखकहरूप्रति भने भरोसा बढेर गएको उनको दाबी थियो ।


‘लेखकले रुचिकर नलेखेकै कारण पाठक भागेका हुन्,’ उनले आरोप लाए, ‘पढ्नयोग्य किताब औंलामा गन्न सक्ने छन् ।’ त्यसैमा थप्दै अनमोल प्रसादले भने, ‘नयाँ पुस्ताको अंग्रेजी मोहले पनि नेपाली पुस्तक पढ्ने जमात घटेको हो ।’ यसको पनि उनीसित छुट्टै अनुभव रहेछ । प्रेम पोद्दारसित मिलेर अनमोल प्रसादहरूले इन्द्रबहादुर राईका कथाहरू अनुवाद गरेर ‘गोर्खा इमाजिन्स’ भन्ने पुस्तक निकालेका थिए । अनमोलले सुनाए, ‘एक पाठकले भटेरै भने, इन्द्रबहादुर राईमाथि गौरव राखेको धेरै भयो, तर तपाईंहरूले अनुवाद गरिदिनुभएकैले मात्र पहिलोपल्ट पढ्न पाएँ ।’


अनमोल प्रसाद फिस्स हाँसे र फेरि थपे, ‘ती पाठक नेपाली नै थिए, जसले अंग्रेजीमा आएपछि मात्र इन्द्रबहादुर राईलाई पढे ।’ अनमोललाई ती पाठक अंग्रेजी मोहमा फसेका र नेपाली भाषादेखि टाडा हुँदै गरेका नयाँ पुस्ताका प्रतिनिधि पात्र लाग्छ । ‘अबका प्रकाशन संस्थाले नेपालीलाई अरू भाषा र अरू भाषालाई नेपालीमा अनुवाद गरिएको पुस्तक प्रकाशित गर्नै पर्ने चुनौती छ,’ उनले फेरि जोडे ।


राजेन्द्र ढकालअनुसार आजका पुस्ताका पहिलो छनोट अंग्रेजी पुस्तक नै हो । यद्यपि, नेपाली भाषाका पाठक पनि कम नरहेको उनको जिकिर थियो । ‘पाठकमैत्री भाषामा आजकै समाज र जीवन प्रतिविम्बित हुने पुस्तक आयो भने नयाँ पुस्ताले पढ्छ,’ उनले भने, ‘आजका पुस्ताले किताबमा आफ्नो अनुहार पाउनुपर्‍यो । अहिलेसम्मका किताबहरूमा

पुरानै समय र सरोकार रहेकोले पनि नयाँ पुस्ता किताबप्रति आकर्षित नभएका हुन् ।’


हर्कबहादुर छेत्रीको तर्क भने लेखकीय कमजोरीले नै पाठकलाई नेपाली साहित्यप्रति मोहभङ्गतिर आकर्षित गरेको भन्ने छ । यद्यपि, धेरै भारतीय नेपाली लेखकहरूका कृति उनीहरूको लेखकीय प्रतिबद्धता, भाषा र शैलीको कारण पनि अमर रहेको उनले तर्क गरे ।


‘अबका लेखकले गम्भीर विषयतिर पाठकलाई आकर्षित गर्ने भाषाको पनि निर्माण गर्नुपर्‍यो,’ उनले भने, ‘नेपालका लेखक र अंग्रेजीका लेखकहरूबाट पनि यो कुरा पर्याप्त सिक्न सकिन्छ ।’ बहसपछि यसै वर्ष साहित्य अकादमी युवा पुरस्कार पाएका युवा कवि कर्ण विरहलाई सांग्रिला बुक्सले सम्मान गरेको थियो भने कवि सुधीर छेत्री, विशाल नाल्बो, राकेश क्रान्तिकारी र रवि रोदनले कविता सुनाएका थिए ।

प्रकाशित : असार २५, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?