१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेचिएका चेलीको मुक्ति चाहना

काठमाडौँ — सुनसान र मधुर प्रकाशमा लखतरान भएर लडिरहेका एक दर्जनभन्दा बढी महिला । सबैको मुहारमा निराशा र थकान । मञ्चको अग्रभागमा आएर एक युवक आक्रोश पोख्छन्, ‘हामी सधैं अरूको अपेक्षाअनुसार चल्नुपर्छ । बाबुआमाको अपेक्षा ममाथि छ, अनि मेरो सपना कहाँ छ ? म कसका लागि हो ?’ 

बेचिएका चेलीको मुक्ति चाहना

विकराल समस्या बन्दै गइरहेको महिला बेचबिखन र बेचिएका महिलाले भोगिरहेको यथार्थ समस्यामा अभ्यस्त हुँदै पुरुष पात्रसमेत कसरी रुमलिरहेको छ, नाटक ‘द फ्लाइट’ को यो पहिलो दृश्यले नै प्रश्न चिहन खडा गर्छ । कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा सोलिस पर्फमेन्स आर्ट्स र वान वर्ल्ड थियटरको प्रस्तुतिमा शुक्रबारदेखि तीन दिन मञ्चन गरेको नाटकमा शब्दबिनै नृत्य र शरीरको हाउभाउमार्फत बेचिएर नारकीय जीवन जिउन बाध्य महिलाले भोगेको यौनहिंसाप्रस्तुत गरिएको थियो ।


महिला पशुझैं निरीह भएर आफ्नो शरीर लुटिएको टुलुटुलु हेरिरहेका हुन्छन् । अरूकै लागि उनीहरू सजिएर राम्री बन्नुपर्छ र आफ्नो संसार भुल्नुपर्छ । उनीहरूको चिच्याहट र पीडा कसैले सुन्दैनन् । ग्राहकलाई प्रतिवाद गर्न खोज्दा–खोज्दै शारीरिक यातनाले ज्यान भुईंमा ढल्दासमेत यौन आतंकबाट उनीहरू उन्मुक्त हुन पाउँदैनन् ।


नृत्यमार्फत यस्ता कारुणिक दृश्य प्रस्तुत हुँदै जाँदा दर्शक भावुक बनेका थिए । बीच–बीचमा महिला पात्रले बोलेका संवादले दर्शकलाई नाटकको कथा बुझन सघाउ पुर्‍याएको थियो । ‘म आराम गर्न चाहन्छु । कुनै बाधा अडचनबिनाको संसारमा म आफैंलाई माया गरेर जीवनका लागि बाँच्न चाहन्छु । म शान्त हुन खोज्दा अनेक बाधा आउँछन् र मलाई अस्तव्यस्त बनाई घोचिरहन्छन्,’ नाटकको संवादले आङ सिरिङ्ग बनाउँथ्यो ।


‘महिला सशक्तीकरणका लागि आवाज नै नाटकको मूल मर्म हो,’ निर्देशक एवं फ्रान्सेली रंगकर्मी अलिज विआनिकले भनिन् । उनका अनुसार पुरुषका लागि महिला हिंसा रोकथामका लागि चेतना दिनु नाटकको अर्को उद्देश्य हो ।


पात्रको वेशभूषा, प्रकाश संयोजन र नृत्यका अनेक प्रस्तुतिले नाटकलाई उत्कृष्ट बनाएको थियो । दुई दर्जनभन्दा बढी कलाकारलाई मञ्चमा एकैचोटि देखाउन गरिएको व्यवस्थापन तारिफयोग्य लाग्थ्यो । नाटकमा पशुपति राई, निशिला शाक्य, उषा किरण, सृष्टि महर्जन, निक्की श्रेष्ठ, अनु दाहाल, सियोङ सङ, क्लोई न्युम्यान, सुनील तामाङ, सलमान गुरुङ, सरोज श्रेष्ठ, विक्रम श्रेष्ठ, सुशील भण्डारीलगायत कलाकारको अभिनय रहेको थियो ।

प्रकाशित : असार २३, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?