आठपहरिया बस्तीमा कुची र कलम

रमेशचन्द्र अधिकारी

धनकुटा — आठपहरिया किराँत समुदायको मुन्धुम मन्दिर, पुर्खाहरूको मूर्ति र भ्युटावरसहितको चुलिवनमा चराहरूको चिरबिर लोभलाग्दो हुन्छ । यही चिरबिर पछ्याउँदै रंगकर्मीहरूले बाँसुरी बजाइरहँदा यत्रतत्र छरिएका स्रष्टामध्ये कोही आसपासका बस्ती, डाँडाकाँडा र तमोर नदी पृष्ठभूमि पारेर क्यानभासमा रंग पोतिरहेका थिए भने कोही चाहिँ घोत्लिएर कविता कोरिरहेका थिए ।

धनकुटाको चुलीवनमा आफ्ना चित्र देखाउँदै जेसुम यात्रामा सहभागी कलाकार । साथमा साहित्यकार झमक घिमिरे ।तस्बिर ः रमेशचन्द्र/कान्तिपुर

स्थानिय संस्कृति र सम्पदाको खोजी गर्दै काठमाडौं, धरान, इटहरीदेखि शनिबार धनकुटा आइपुगेका चित्रकार र कविहरूले यसपटक सदरमुकाम बजार र आठपहरिया बस्तीलाई आफ्नो सिर्जनाको केन्द्रमा राखे ।

जिल्लाको मौलिक संस्कृति र जनजीवन खोज्दै आठपहरिया बस्तीमा पहिलोपटक चित्रकार र कविहरू आइपुगेका थिए । उनीहरूको रहनसहन, इतिहास, राणाशासनको पालामा आठपहरिया समुदायमाथि भएको दमनजस्ता तथ्य खोतल्दै कविहरूले अक्षर र चित्रकारहरूले रंगको माध्यममार्फत आठपहरिया समाजको चित्र उतारे । स्थानीय र आगन्तुक गरेर तीन दर्जन स्रष्टालाई शनिबार बिहान झमककुमारी साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाइँ र वडा अध्यक्ष जंगबहादुर आठपहरियाले रातो टीका लाएर धनकुटा बजारमा स्वागत गरेका थिए । यसपछि चुली वनतिरको हाइकिङ थालेका कवि र चित्रकारहरूले वनको बीचमा रहेको आठपहरिया पुर्खा राम्ली र रिदिमा हाङसँगै मौलिक पोसाकसहितको आठपहरिया युवतीको मूर्ति, धार्मिक मन्दिर र भ्यु टावर अवलोकन गरेका थिए ।

संस्कृतिकर्मी सूर्य आठपहरियाले नेतृत्व गरेको टोलीमध्ये चित्रकारहरू एकातिर तमोर नदी र अर्कोतिर आठपहरिया बस्ती देखिने वनको मध्यतिरै जक्सन जमाएर क्यानभास कोर्न थाले । कवि अनीता लामा र सगरमाथा आरोही देउराली चाम्लिङको टोलीले भने आठपहरिया बस्तीमै झरेर मौलिक घर, खानपान र वेशभूषा अवलोकन गरे । सेलो थिएटरका रंगकर्मी शान्ति वाइबा, सोनाम लामा र सन्तोष तामाङले बाँसुरीको धुनले चित्रकार र कविलाई पार्श्वसंगीतको अनुभूति दिलाए ।

चित्रकार एनबी गुरुङ, उमेशचन्द्र अधिकारी, डिराम पाल्पाली, नरबहादुर बिके, विनोदकुमार गुप्ता, सुरेम देसार, आरपी याकामी, पुण्य तामाङ, डिल्लीकृष्ण आले, श्रीकृष्ण जोशी, धीरेन्द्र श्रेष्ठ, सुशील शाक्यलगायतको क्यानभासमा धनकुटा बजार र आठपहरिया बस्ती देखिए । यही बेला आठपहरिया समुदायको मौलिक परिधान प्रस्तुत गरेकी थिइन् स्थानीय सरकुमारी र जानुकाले । चित्रकलालाई प्रत्यक्ष प्रस्तुतिसँग जोड्दै थिए नरबहादुर बिके । उनले आठपहरिया बस्तीको चित्रलाई जम्माजम्मी १२ मिनेटमा उतारेर युट्युब भिडियोसमेत बनाउन भ्याए ।

‘युट्युबबाट आर्ट गर्ने तरिका र रंगबारे सिकुन भन्ने उद्देश्यले पछिल्लो समय कलाकर्मको प्रत्यक्ष भिडियो पनि बनाउँदै आएको छु,’ उनले भने । कला, साहित्य र रंगमञ्चमार्फत स्थानिय कला र मौलिकता प्रर्वद्धन गर्ने ध्येयसहित सुरु ‘जेसुम यात्रा’को आठौं शृंखलाअन्तर्गत आइपुगेका स्रष्टा दिउँसो स्थानीय निजामती स्कुलको परिसरमा भेला भएका थिए ।

उनीहरूलाई साथ दिन साहित्यकार झमक घिमिरे उपस्थित थिइन् । कवि स्नेह सायमी, अनीता लामा, विनाथिङ तामाङ, रमेश कँडेल, हेमन यात्री, सुदीप पाख्रिन, शीतल गिरी, केजी सुब्बा, मुकुन्द प्रयासलगायतले सिर्जना सुनाए । चित्रकारले आफ्नो कलाको प्रदर्शनी गरे । चित्र र कवितालाई छिट्टै प्रदर्शनी र पुस्तकमासमेटिने जेसुम संयोजक अनीताले बताइन् ।

झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले एकै स्थानमा चित्र हेर्न र कविता सुन्न पाउँदा आफूलाई नौलो अनुभूति भएको भन्दै प्रशंसा गरे । प्रतिष्ठान सचिव जनार्दन घिमिरेले कवि र चित्रकारहरूको स्थलगत सिर्जनामा संयोजन गरेका थिए । त्यस्तै प्रतिष्ठानले ३८ औं वर्षमा टेकेकी झमकको जन्मदिनको अवसरमा शनिबार धनकुटास्थित घरमै विशेष कार्यक्रम गर्‍यो ।
‘जीवन काँडा कि फूल’ आत्मवृत्तान्त कृतिका लागि मदन पुरस्कार पाएकी घिमिरेलाई शुभकामना दिन कवि, चित्रकारसँगै धनकुटा नगरपालिकाकी उपमेयर शकुन्तलाबस्नेत, वाटर कलर सोसाइटी अध्यक्ष एनबी गुरुङलगायत पुगेका थिए ।

प्रकाशित : असार २३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

पानी पुनर्भरण 

सम्पादकीय

काठमाडौँ — हामीले ख्याल गर्दागर्दै पानी संकटको दशा बाजा बजाएर आउँदै छ । हिमाल र पहाडमा पानीका मुहानहरू सुक्दै छन् । घना जनसंख्या भएको काठमाडौं उपत्यकामा मात्र होइन, तराईमा पनि भूमिगत पानीको सतह घट्दै गएको छ । परारभन्दा पोहोर बढी, पोहोरभन्दा यसपालि । पछिल्लो दशकमा पानीको सतह उल्लेखनीय घटेको हो । मानव जीवनको मुख्य आधार पानीका स्रोत बर्सेनि यसरी घटिरहनु सन्निकट महासंकटको संकेत हो । 

तराईका कैयौं हाते पम्प सुकेका छन् । पहिले वर्षायाममा जमिनमुनि २०–२५ फिटमै पानी भेटिन्थ्यो । अहिले १ सय ५० फिटसम्म पुग्नुपर्छ । कति ठाउँमा बर्सेनि चैतदेखि जेठसम्म पानी हाहाकार हुन्छ । ढिलो मनसुनले यसपालि असार मध्यसम्म पानी संकट छ ।

केही वर्षअघि बाह्रैमास पानी आउने बोरिङ सुकेका छन् । हाते बोरिङमा पानी आउन छाडेपछि रूपन्देहीको रोहिणी नगरपालिकाले त ठूला पम्पसेट र डिप ट्युबवेलबाट पानी निकाल्न बन्द गराइदिन प्रहरीलाई अनुरोध नै गरेको छ । किसानले सिँचाइ अभावमा धान रोप्न सकेका छैनन् । खानेपानी नपुगेपछि पालिकाले डिप बोरिङ र मझौला बोरिङबाट पानी निकालेर रोपाइँ गर्न बन्द गराएको छ ।

जमिनमा पर्याप्त पानी पुनर्भरण नहुँदा समस्या सिर्जना भएको हो । कारण मानवीय गतिविधि नै हुन् । तराईमा पानीका लागि ठूलो महत्त्व भएको चुरेमै हामी चकचकी बढाउँदै छौं । जथाभाबी क्रसर उद्योग त्यहीँ खोलिएका छन् । चुनढुंगा उत्खनन उत्तिकै छ । जंगल विनाश उस्तै छ । हुँदा–हुँदा, त्यही भेगमै पूर्वपश्चिम राजमार्ग पनि बनाइँदै छ । यी सबै क्रियाकलापका कारण चुरेबाट तराई झर्ने पानी पुनर्भरण हुन पाउँदैन । फेदीमा बस्ती विकास तीव्र छ । कंक्रिटका भवन र कालोपत्रे सडकका कारण पानी जमिनमा सिञ्चित हुन सक्दैन । सोझै बगेर जान्छ ।

नदीजन्य पदार्थको दोहन, जंगल विनाश र कम वर्षा अरू कारण हुन् । नदीबाट भए जति गिट्टी, बालुवा र ढुंगा निकालिँदा पानी बग्ने गति बढायो । ढुंगाहरूमा ठोक्किँदै, रोकिँदै बग्दा वरिपरि जमिनमा पुनर्भरण हुन पाएन । चुरेका डाँडा जति नांगा भए त्यति नै पानी कम सोस्न थाले । पानी परेपछि भूक्षय हुँदा बगेको लेदो पनि जमिनमा पुनर्भरण हुन सकेन ।

जनसंख्या थपिँदो छ, सहरीकरण व्यवस्थित छैन । घरेलु, औद्योगिक र सिँचाइ प्रयोजनका लागि पानीको प्रयोग बढ्दो छ । स्रोत बर्सेनि घट्दो छ । स्रोत संरक्षणमा सार्थक पहल छैन । खेतीपातीका लागि भूमिगत पानीमा अत्यधिक निर्भरता हुन थालेको छ । पानी दोहनबारे अझै देशव्यापी अध्ययन छैन । सरकारमा विचारको खडेरी छ, कार्यक्रमहरूबीच खाडलै खाडल ।

सञ्चितीकरण योजना नबनाउने हो भने केही वर्षमै पानी संकट भयावह बन्ने निश्चित छ । जल आपूर्ति प्रणालीलाई अक्षुण्ण राख्न पानीका स्रोतहरू संरक्षण जरुरी छ । हामीले जति पर्यावरण र पारिस्थितिक प्रणालीको संरक्षण गर्छौं, यसबाट त्यति नै लाभ पाउँछौं । चालिसको दशकको आधाबाट संरक्षण थालेपछि शिवपुरी जलाधार ६ गुणासम्म बढेको उदाहरण हामीसँगै छ ।

अवाञ्छित मानवीय क्रियाकलापदेखि जलवायु परिवर्तनको सम्भावित जोखिमसम्म विचार गरेर अघि बढ्नुपर्छ । उपयुक्त नियमावली र मापदण्ड ल्याएर भूमिगत पानीको अनावश्यक दोहन रोक्नुपर्छ । कहाँ, कति पानी कसरी तान्ने तोकिनुपर्छ । नदीजन्य पदार्थको दोहन रोकिनुपर्छ । पानी पुनर्भरण बढाउने रणनीति आवश्यक छ ।

संघीय सरकारले दीर्घकालीन नीति ल्याउनुपर्छ । चुरे क्षेत्र संरक्षणमा गम्भीर बन्नुपर्छ । स्थानीय सरकारहरूले पनि अबको चुनाव मात्र होइन, अर्को पुस्ता सोच्नुपर्छ– पानीको स्रोत जोगाउनुपर्छ । ठाउँ–ठाउँ पोखरी बनाउनुपर्छ । सबै तहका सरकार र नागरिक समुदाय मिलेर सन्निकट दशा टार्नुपर्छ ।

प्रकाशित : असार २३, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्