अर्यालबारे सिर्जना संवाद

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यका सार्वजनिक पुस्ताकालय भृकुटीमण्डपले हरेक महिनाको पहिलो बिहीबार आयोजना गर्दै आएको सिर्जना संवादमा यस पटक हास्यव्यंग्यका हस्ती निबन्धकार भैरव अर्यालको ‘शाश्वत व्यंग्यशिल्पी’ कृतिबारे समीक्षात्मक कार्यक्रम गरिएको छ । 

२०३८ मा ‘रचना’ पत्रिकाले भैरव अर्यालबारेमा निकालेका दुई विशेषांकमा भैरव कृति खण्ड र भैरव स्मृति प्रकाशित गरिएको थियो । यिनै दुई कृतिमा अर्यालबारे प्रकाशित थप रचनालाई समेटेर भैरव पुरस्कार गुठीले ‘शाश्वत व्यंग्यशिल्पी’ ल्याएको ‘रचना’ का सम्पादक रोचक घिमिरेले जनाए । उक्त पुस्तकमा समकालीन साहित्यकारले अर्यालका बारे लेखेका लेख, रचना, देशविदेशमा पाइएको उनको फोटो, चिठीमार्फत उनको जीवनी र आनीबानी समेटिएको छ ।

समकालीन सर्जक घिमिरेले अर्यालको चोटिलो र समसामायिक हास्यव्यंग्य साहित्यसँगै उनको जीवनका केही रमाइलो क्षणलाई कार्यक्रममा सुनाए । अर्यालको साहित्यिक जीवनी जति हास्यव्यंग्यले भरिपूर्ण भए पनि उनको जीवन निकै कारुणिक र दयनीय रह्यो । कवि प्रोल्लास सिन्धुलीयले ३५ दिन गुप्तवास बसेर अर्यालको कृतिहरूको अध्ययन गरी उनको ‘मृत्यु चिन्तन’ गर्दा आफैंलाई असह्य पीडा भएको बताए ।

समालोचक गोविन्दराज भट्टराईले गोरखापत्र, हालखबर पत्रिकाका साहित्यकार अर्याललाई जर्मन घुम्न जाने प्रस्तावमा सहकर्मीहरूले अंग्रेजी नजान्ने मान्छे जर्मन घुम्न जाने भनी वचन लगाएपछि उनले पछिल्लो चरणमा अंग्रेजी भाषामा लेखेको रचलाई आफ्नो कृतिमा समेटेको बताए ।

३ सय ५० पृष्ठको अर्यालको जीवनी सँगालो रहेको ‘शाश्वत व्यंग्यशिल्पी’ मा उनको वास्तविक जीवनका खुसीका क्षण, दुःखद पक्ष, आर्थिक अभावले घरमा हुने किचलोदेखि लिएर जागिरमा खेप्नुपरेको अपमानको पीडालाई प्रस्तुत गरिएको छ ।

प्रकाशित : असार ६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

आमा मारिइन्, बाबु फरार, सन्तानलाई कुपोषण

शंकर आचार्य

पर्सा — सरकारले बालबालिकामा हुने कुपोषण रोक्न ठूलो लगानी गरेको छ तर सम्बद्ध व्यक्तिमा त्यो पुग्न नसक्दा लगानी प्रभावकारी बन्न सकेको छैन । वीरगन्ज महानगर २३ प्रसौनीकी डेढ वर्षीया बालिका कुपोषित भेटिनु त्यसैको उदाहरण हो । आमा गुमाएकी सुन्दरमाला दासमा चरम कुपोषण रहेको पाइएको छ । 

वीरगन्ज २३ प्रसौनीकी कुपोषणमा परेकी डेढ वर्षीया सुन्दरमाला दास हजुरआमा शोशिलाका साथ । तस्बिर : शंकर/कान्तिपुर 

बुबाले आमाको हत्या गरेर फरार भएपछि दासले पोसिलो आहार पाइनन् । सुन्दरमालाका ३३ वर्षीय बुबा पन्नालालले ३० वर्षीया पत्नी अञ्जुलाई वैशाख ६ गते कुटपिट गरी हत्या गरेका थिए । घटनापछि फरार उनी प्रहरीको खोजी सूचीमा छन् । ७० वर्षीया वृद्धा हजुरआमा शोशिला दासको पालनपोषणमा हुर्किरहेकी सुन्दरमालाको तौल साढे ५किलो मात्र छ ।

औसतमा डेढवर्षका बालबालिकाको तौल११ किलो वा त्यसभन्दा बढी हुन्छ । अति कमजोर सुन्दरमाला हिँडडुल परको कुरा, राम्ररी बस्नसमेत सक्दिनन् । उनको टाउको ठूलो छ भने शरीर पातलो छ । करङ र शरीरका अन्य हड्डी प्रस्ट देखिन्छन् । दासका बाबु बेपत्ता भएपछि परिवारको बिजोग छ । पन्नालालका सुन्दरमालाबाहेक थप ३ छोराछोरी छन् । १० वर्षीय छोरा रञ्जन, पाँच वर्षीया छोरी रुक्मिणी र ३ वर्षीय छोरा साजनसहितको परिवारको बोझ एकल तथा वृद्धा शोशिलाका काँधमा छ ।

खेतीपाती नभएको तथा आम्दानीका स्रोत पनि नभएकाले उनलाई घर चलाउन धौधौ छ । छुट्टिई बसेका जेठा छोरा देवशरणले केही मद्दत गरे पनि उनकै ९ जनाको ठूलो परिवार छ । ज्यालामजदुरी गर्दै आएका उनलाई पनि दुई घर एकसाथ चलाउन हम्मेहम्मे छ ।
नातिनीले पोसिलो खाना र आमाको दूध खान नपाएकाले कुपोषित भएको शोशिलाले बताइन् ।

बजारबाट पोसिलो खानेकुरा किनेर खुवाउने क्षमताआफ्नो नभएको उनको भनाइ छ । नातिनी आमा सम्झिई रुने र सुत्न नमानेपछि शोशिला आफैंले स्तनपान गराउँछिन् तर उनका स्तनबाट दूध आउँदैन । ‘नातिनीले आमाको काख र दूध चुस्न खोज्छे,’ उनी भन्छिन्, ‘भुल्याउन भए पनि दूध चुसाउँछु ।’

सुन्दरमालालाई कडा खालको कुपोषण लागेको लालपर्सा स्वास्थ्यचौकीका इन्चार्ज अनिशकान्त कुशवाहाले बताए । ‘यसले बालबालिकाको शरीरको इम्युनिटी पावर कम हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा कुनै पनि रोगले च्याप्दा कुपोषित बालबालिको मृत्यु हुन सक्छ ।’

बालिकाको कुपोषण समस्याबारे जानकारी पाएपछि उनलाई नारायणी अस्पतालको पोषण पुनःस्थापना गृहमा भर्ना गर्न प्रयासरत रहेको सामाजिक अभियन्ता प्रकाश थारूले बताए । शोशिलाका अन्य नातिनातिना पनि दुब्ला छन् ।

प्रकाशित : असार ६, २०७६ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्