१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थाङ्का कलामा आधुनिकता

काठमाडौं — नेपाली पम्परागत कला विधामा पर्छ थाङ्का  । चित्रमार्फत बौद्ध दर्शनको विस्तारका क्रममा कलाको यो शैली विकास भएको मानिन्छ  । तामाङ, शेर्पा, ह्योल्मोलगायत समुदायमा गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म थाङ्का कलाको प्रयोग हुन्छ । यसलाई फ्युजन गरी समसामयिक बनाउँदा कस्तो हुन्छ होला ? राजधानीमा बहस चल्यो ।

थाङ्का कलामा आधुनिकता

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न ‘कलामा तामाङ सौन्दर्यको खोजी’ शीर्षकको चित्रकला एवं परम्परागत मूर्तिकला प्रदर्शनी क्रममा यस्तो बहस चलेको हो । पछिल्लो समय केही चित्रकारहरूले थाङ्काको प्रभाव ग्रहण गरेर मौलिक कलाकृति बनाइरहेको सन्दर्भ जोड्दै पूर्वप्राज्ञ एवं थाङ्काविद् निमा ग्याम्जो लामाले भने, ‘बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित नै राख्नुपर्छ ।’

सहरका ग्यालरीहरूमा पछिल्लो समय मिथिला चित्रमा पनि आधुनिकता भित्रिँदै गइरहेको भेटिन्छ । प्रभाव मात्रै मिथिलाको राखेर चित्रकारहरूले मौलिकता मिसाएर बनाएका कलाकृतिको व्यापार पनि राम्रै भइरहेको छ । यही सन्दर्भ जोडे थाङ्का कला समीक्षक म्हेन्दो लामाले । उनले थाङ्कामा प्रयोग हुँदै आइरहेको बुद्ध, हरित तारा (भृकुटी), गुरु रिम्पोछे (पद्मसम्भव), ह्वाइट तारा (स्रङचङ गम्पोकी जेठी बुढी), आर्य अवलोकितेश्वरजस्ता फिगरहरूका ठाउँमा समसामयिक फिगर राखेर कोरे कलामा समसामयिक समाज र विषय आउने तर्क गरे । ‘अहिले थाङ्कामा जुन परम्परा चलिरहेको छ, त्यसलाई नबिगारीकनै आधुनिक शैली भित्र्याउन सकिन्छ,’ उनले भने, ‘यसो भयो भने दुईवटा धार निर्माण गर्न सकिन्छ । परम्परागत र समसामयिक ।’ यसका लागि थाङ्का कलामै काम गरिरहेका हस्तीहरू अघि बढ्नुपर्ने उनले बताए ।

बहसमा प्रमुख अतिथि बनेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मुलुकका बौद्ध सम्प्रदायमा प्रचलित थाङ्का कलाको व्यापार अहिले अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गइरहेको बताउँदै यसमा नयाँ र सिर्जनशील कार्य गर्न सकिने औंल्याए । ‘छिमेकी चीनमै थाङ्काको ठूलो बजार छ,’ उनले भने, ‘सिर्जनशीलता ल्याउन सकियो भने थाङ्काको आयाम झन् फराकिलो हुनेछ ।’ अर्का थाङ्का कलाकार एवं प्राज्ञ मानबहादुर दोङले पनि थाङ्का कला तामाङ समुदायको सांस्कृतिक चिनारी भएकाले यसको परम्परागत शैली नबिगारीकन आधुनिकतामा जान सकिने बताए ।


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र परम्परागत शिल्पकला विभागसँगको सहकार्यमा सेलो फाउन्डेसनले गरेको प्रदर्शनीमा तामाङ समुदायमा प्रचलित परम्परागत मूर्तिकला पनि राखिएको थियो । लामो समयदेखि काष्ठकलामा काम गर्दै आएका सिन्धुपाल्चोक लिसंखुका पासाङ दोण्डुप लामा गाउँमै निर्मित मुकुन्डोकला लिएर आइपुगेका थिए । उनका अनुसार ‘पहिले पहिले गाउँमा गुम्बा सजाउन, लामा नृत्य गर्न र जात्रा निकाल्न मात्रै मुकुन्डो प्रयोग हुन्थ्यो ।’

अहिले यो बजारमा राम्रो पैसामा बिक्री हुन्छ । विशेष गरी बौद्ध, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर र ठमेलमा यसको ठूलो बजार छ । ‘मनग्गे आम्दानी भए पनि नयाँ पुस्ता यतातिर तानिन सकेको छैन,’ उनले भने, ‘सरकारी क्षेत्रबाट पनि यतातिर ध्यान पुर्‍याउनुपर्छ ।’ तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको समेत सन्दर्भ बनाइएको प्रदर्शनीमा पेमा ग्याम्जो लामा, अजय लामा, वाङ दोर्जे मिप्चन, कुन्छाङ लामा, मुन्ना लामा र प्रदीप पाख्रिनले ढलौट, माटो र काठ माध्यमका मूर्तिकला राखेका थिए भने टुल्कु मोक्तान, कर्म लामा, कान्छामान लामा, ज्ञानबहादुर तामाङ, रमिता तामाङ, दीपक योञ्जन, कुमार घिसिङ, पदम लामा, राजेन्द्र लामा र राजु लामाले थाङ्का चित्र राखेका थिए ।

प्रकाशित : असार २, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?