१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हतुवागढीमा साहित्यिक रौनक

धनकुटा — असारको महिना भित्रिसक्दा पनि भुईं कुहिरोले मौसम ठन्डा बनाएको थियो । झन्डै १४ सय मिटर उचाइको भोजपुरको दक्षिणी क्षेत्र घोरेटार हतुवागढीस्थित फलामढुंगाको मौसमलाई भने गीत, नृत्य र साहित्यिक जमघटले खुबै ततायो । 

हतुवागढीमा साहित्यिक रौनक

हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको चारदिने महोत्सवमा सर्वसाधारणको जमघट खचाखच थियो । त्यस अवसरमा मुलुकभरका मात्रै होइन, भारतका समेत कलाकार, साहित्यकारको प्रस्तुति थियो । विशेष गरी स्थानीय स्तरका कलाकार र हतुवागढी क्षेत्रमा जन्मिएर मुलुकमा स्थापित कला, भाषा र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सहभागी थिए । कार्यक्रमस्थल आसपासका घोरेटार, रानीबास, पूर्णे, वयाङ, सिन्द्राङलगायतका सर्वसाधारणको उपस्थिति बेसी थियो ।


कार्यक्रममा प्रतियोगितात्मक कविता नेपाल तथा भारतका २ सय ५ कविको रचना समावेश गरिएको आयोजकले जनाएको छ । उत्कृष्ट १० कविमध्ये सुर्खेतका विज्ञानराज कार्की सर्वोत्कृष्ट ठहरिए । उनको मौन प्रश्न शीर्षकको कविताले पहिलो स्थान हात पार्दै १५ हजार रुपैयाँ प्राप्त गरेको छ । उनले वाचन गरेका हरफहरू थिए :


भर्खरै सफल भएको छ

बाध्यता मृत्युको हाँगामा झुन्ड्याउन

एक सुस्केरा जिन्दगी

उसरी नै सफल भएको छ एक

जोडी आँखा परेलीमा झुन्ड्याउन

केही थोपा पीडा

के ऊ यसरी आफूलाई झुन्ड्याउन सक्ला ?

अस्तित्वको लहरामा

ऊ अर्थात देशप्रेमी ।


प्रतियोगितामा तेह्रथुमका कवि इन्दु केसीको कफनमा फिरेको देश शीर्षकको कविता दोस्रो भएको छ । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।


यस्तै, भोजपुरका कवि यादव समीर राई तेस्रो स्थानसहित ५ हजार र सुनसरीका किरण शिवाले सान्त्वना प्राप्त गरे । टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अतिथि कवि कुन्ता शर्मा, मायामितु न्यौपाने, राजेश विद्रोहीलगायतले कविता वाचन गरेका थिए ।


कार्यक्रममा गायिका लीला राईले आफ्नो चर्चित ‘गीत भेटैमा भयो सोल्टीज्यू राम्रै छ खबर, धरान धनकुटा भेडेटार सोल्टीज्यू जोडौं न घरबार’ लगायत गीत प्रस्तुत गरिन् । गायक बाबुराम प्रधान, हिरन राई, नृत्यकार प्रतिभा राईलगायतले पनि प्रस्तुति राखेको अध्यक्ष कृपालसिं राईले बताए ।

प्रकाशित : असार २, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?