१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साहित्यमा शान्ति र सद्भाव

काठमाडौँ — साहित्यले मनलाई जोड्छ । मनले समाज र समुदायलाई जोड्छ । शान्ति र सद्भावको सन्देशसहित हरेक बर्ष हुँदै आएको ‘शान्ति कविता गोष्ठी’ मा यस पटक कविहरूले यस्तै भाव प्रकट गरे । 

साहित्यमा शान्ति र सद्भाव

बिहीबार राजधानीको कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्रमा नेपाली साहित्य कला डट कम प्रतिष्ठानले गरेको गोष्ठीमा कविहरूले बुद्धदेखि युद्धसम्मको सन्दर्भ जोडदै सद्भावको वकालत गरे । कविहरूमाझ सबैभन्दा कान्छो सुदेश सत्यालले ‘गाह्रो छ मान्छे हुन्’ शीर्षकको कविता सुनाउँदै मान्छेलाई नै व्यंग्य गरे ।


मान्छेकै प्रवृत्तिका कारण समाज विसंगत बन्ने उनको तर्क थियो । कवि अनिता लामाले वैदेशिक रोजगारको सन्दर्भ जोडदै मान्छेलाई आर्थिक समृद्धि मात्र नभई भावनात्मक समृद्धि पनि चाहिने भाव प्रस्तुत गरे, ‘पसिना’ शीर्षकको कवितामा । २५६३ औं बुद्धजयन्तीको अवसर पारिएको कवि गोष्ठीमा विमला तुम्खेबा, टीकाराम उदासी, महेश पौड्याल, शीतल कादम्बिनी, असीम सागर, अरुणा वैध, हेम प्रभास, निर्भीकजंग रायमाझी, समर्पणश्री, नवीन प्यासी, सविता बेहोसी, रोशन पुन, महेश कार्कीलगायतले कविता सुनाए ।


अतिथि कविका रूपमा दिनेश अधिकारीले सुनाएका ‘देश र जनता’ कवितामा मुलुकको समसायिक सन्दर्भ र राजनीतिक विसंगतिप्रति कटाक्ष गरिएको थियो । अतिथि कविकै रूपमा कवि मञ्जुलले ‘जीवनसँग बाटोको सम्बन्ध जोडदै ‘घर र बाटो’ शीर्षकको कविता प्रस्तुत गरे ।


नेपाली कला साहित्य डट कम प्रतिष्ठानले नै छापेको वार्षिक पत्रिका ‘कलाश्री’ मा छापिएको उक्त कवितालाई उत्कृष्ट ठहराउँदै मञ्जुललाई २०७६ को ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ समेत प्रदान गरियो ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?