भिजुअल कविता

काठमाडौँ — वाईफाई, फेसबुक, युट्युब, गुगलजस्ता शब्दहरू पछिल्लो समय तन्नेरीमाझ प्रिय छन् । यिनै माध्यमको प्रयोगमार्फत मौलिक संस्कृति र ज्ञान प्रवर्द्धन गर्ने ध्येयले बुधबार राजधानीमा ‘दृश्य कविता’ प्रस्तुतिका साथ बहुभाषी कवि गोष्ठी गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागको सहकार्यमा सेलो फाउन्डेसनले गरेको कार्यक्रममा विभिन्न ६ जना स्रष्टाको कवितामाथि बनेको भिडियो देखाइएको थियो ।


भिडियोमा कवि अनिता लामा, बिना थिङ, ङेमा थाङपाल, मिलन तामाङ, सजना गोले, हीरामान वलको तामाङ भाषाको कविता समेटिएको थियो । बहुभाषी कवि गोष्ठीमा भने स्नेह सायमीले नेवार भाषामा, राकेश मायालुले मगर भाषामा, सोम धिमालले धिमाल भाषामा, छविरमण सिलवाल, विकु लामा, देवकी अभिलाषीले नेपाली भाषा कविता सुनाए ।


त्यस्तै अटुट दोङ, ईश्वर थोकर, सिर्जना गोले, शीतल मोक्तान र एनिका ग्लानले तामाङ भाषामा कविता सुनाए । कवितामा समसामयिक राजनीतिक चेतनादेखि मातृभाषा र समुदायप्रतिको समर्पण झल्किएको प्रज्ञा प्रतिष्ठान मात्रृभाषा साहित्य विभागकी प्रमुख एवं प्राज्ञ लक्ष्मी मालीले बताइन् ।


मुलुकभरका मातृभाषा प्रवर्द्धनका लागि प्रतिष्ठानले काम गर्दै आएको बताउँदै मातृभाषा साहित्य अनुसन्धान र लेखनमा प्रोत्साहनमूलक कार्यक्रमहरूको तयारी भइरहेको पनि उनले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?