१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लिम्बु ज्ञान महोत्सव सुरु

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले लिम्बु जातिको जीवनपद्धति मुन्धुममा आधारित रहेको बताए । लिम्बु जातिको सामाजिक, सांस्कृतिक, भाषिक स्थितिलाई लिएर काठमाडौंमा आयोजना गरिएको 'याक्थुङ (लिम्बु) ज्ञान महोत्सव' मा पूर्वकुलपति काइँलाले उक्त विचार व्यक्त गरेका हुन् । 

लिम्बु ज्ञान महोत्सव सुरु

'ज्ञान आफैंमा शक्ति हो, त्यसैले सृष्टिको आरम्भदेखि नै ज्ञान प्राप्तिका निम्ति लालयित हुन्छ,' दैनिक जीवनसँग सम्बन्धित मुन्धुम शब्दमा व्याख्या गर्न सहज नरहेको उल्लेख गर्दै काइँलाले भने, 'लिम्बु जातिको ज्ञान मुन्धुम हो, मुन्धुम शास्त्र हो, यसको अर्थ, कथा, आख्यान, सामाजिक, सांस्कृतिक जीवनपद्धतिसँग हजारौं वर्षदेखि सुचारु छ ।' याक्थुङ युवा मञ्चले 'बौद्धिक ज्ञान आदानप्रदान र पुस्तान्तरणका लागि' नारासहित महोत्सव आयोजना गरेको हो ।


नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शुक्रबार महोत्सवको उद्घाटन गरेका थिए । मुन्धुम काइँलाले मुन्धुममा सर्वव्यापक चेतना नै 'माङ' र 'निङवाफु' भनेर पुकारिने उल्लेख गरे । 'सर्वव्यापक चेतना शक्ति हुनेले कठिन काम फत्ते गर्नसक्छ,' मानव जीवनको अन्तिम कडीसमेत मुन्धुम भएको उल्लेख गर्दै काइँलाले भने, 'सतकर्मले मृत्युलाई जित्न सक्छौं । मुन्धुममा तागेरा निङवाफुले गर्नसक्छ भन्ने छ । लिम्बु जातिको सामाजिक, सांस्कृतिक, नैतिक, धार्मिक जीवनपद्धतिको आधार मुन्धुम हो ।' लोप, पाप, आँखी, डाही, व्यभिचार, अभिचार जस्ता क्रियाकलापले मानिसमात्र नभई समयको चक्रमा ईश्वरसमेत समाप्त हुनसक्ने उनले उल्लेख गरे ।


दुई दिने महोत्सवको पहिलो दिन डा. चैतन्य सुब्बा, बालकृष्ण माबुहाङ, शंकर लिम्बु, अमृता थेबे, प्रविण पन्धाक, येहाङ लाओती, अमर तुम्याहाङ, अमृत योन्जन, स्वप्निल स्मृति, हाङयुग अज्ञात, बुद्ध छिरिङ, टंक सेलिङले विविध पक्षमा कार्यपत्र प्रस्तुति तथा समूहगत छलफल गरेका थिए । मञ्चका अध्यक्ष भुपेन्द्र खुदाङका अनुसार दोस्रो दिन 'लिम्बु समुदायमा धर्मबारे बहस', 'लिम्बु गीत र संगीत', 'पहिचानको आन्दोलन', 'लिम्बु समाजको समृद्धि' लगायत पक्षमा बहस हुनेछ ।

प्रकाशित : जेष्ठ २४, २०७६ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?