धनकुटामा दुई देशका स्रष्टा 

कान्तिपुर संवाददाता

धनकुटा — नेपाल र भारतका साहित्यकारबिच धनकुटामा पहिलो पटक संयुक्त साहित्यिक सभा गरिएको छ । सल्लेरी साहित्य संगम धनकुटाले गरेको सभामा भारतका विभिन्न प्रान्त र नेपालका विभिन्न जिल्लाबाट साहित्यकारको जमघट रहेको थियो ।

भारतबाट कोलकातास्थित साहित्य त्रिवेणीका सम्पादक कुँवरवीरसिंह मार्तण्डको नेतृत्वमा ९ जना कवि सहभागी थिए ।

टोलीमा गायत्री साहित्य संस्थान नयाँदिल्लीका अध्यक्ष बब्ली वशिष्ठ, उत्तर भारत साहित्य परिषदका संस्थापक अशोक भाटी, साहित्यकार तथा इन्डियन रेल्वे स्टेसनका प्रमुख सुशील शेली, वरिष्ठ कवि राज ख्यायिला, साहित्यकार योगेश समदर्शी, साग डनिया र मधु सिंह थिए ।

नेपालबाट विवश पोखेरेल, गंगा सुवेदी, गोपाल भण्डारी, राजेन्द्र गुरागाईं, रमेश पौडेल, राधिका गुरागार्इं, गोकुल अधिकारी, खगेन्द्र गिरी कोपिला, राधा भट्टराईलगायत सहभागी थिए । धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्णगोविन्द अधिकारीले ‘नेपाल भारतबिचको भाषिक तथा साहित्यिक स्थिति विषयक’ कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्रमा टिपप्णी गर्दै भारतका साहित्यकार कुँवरवीरसिंह मार्तण्डले भारत र नेपालको साहित्यको अन्तरसम्बन्ध परापूर्वकालदेखि भएकोले साहित्यकारलाई दुवै देशकै साहित्यबारे जानकारी हुनु आवश्यक रहेको बताए । कार्यपत्रले दुवै देशको भाषा, साहित्यको विगत, वर्तमान र भविष्यलाई समेत उजागर गरेको टिप्पणी गरे ।

योगेश समदर्शीले नेपालको पौराणिक सम्बन्ध, साहित्यिक सम्बन्ध र नेपाल भारतबिचको साहित्यिक सभ्यताको चित्रण गरे । गोष्ठीमा दुवै देशका २० भन्दा बढी कविले कविता वाचन गरेका थिए । गोष्ठीमा धनकुटा, मोरङ सुनसरी, झापा, धनकुटा, नेपालगन्ज, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतका साहित्यकारले पनि रचना वाचन गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीको करोलबाग अब पैदलमैत्री

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राजधानी नयाँदिल्लीको चल्तीको बजार हो, करोलबाग । दिल्ली पुग्ने नेपालीमध्ये यो बजार नपुग्ने बिरलै भेटिन्छन् । बाह्रैमास उत्तिकै भीड । बिदाको दिन त झनै घुइँचो लाग्छ । ठेलमठेल । एक पटक बजारमा छिरेपछि कति बेला बाहिर निस्कूँजस्तो । पूरै उकुसमुकुस ।

दिल्लीको करोलबागस्थित सडकमा सवारीसाधन निषेध गरिएपछि पैदलयात्री । तस्बिर : कान्तिपुर

मेट्रो स्टेसनबाट ओर्लेदेखि नै अत्यासलाग्दो भीड र कोलाहल । सडकभरि जथाभावी छरपस्ट राखिएका सामान । त्यही भीडमा रिक्सा, अटोदेखि कारसम्म । ग्राहक र पैदलयात्रीलाई ज्यान जोगाउनै हम्मे ।

झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ, त्यस्तो अत्यासलाग्दो बजार महिनायता एकाएक शान्त छ । पैदलयात्री निर्बाध हिँड्न पाउँछन् । मेट्रो स्टेसनबाट बाहिर निस्कनासाथ फरक अनुभव हुन्छ । पहिले जथाभाबी हुइँकिने रिक्सा, अटो र अन्य निजी सवारीसाधनलाई पूरै प्रवेश निषेध गरेर सडकलाई पैदलयात्रीमैत्री बनाइएको छ । अब त्यहाँ न धूवाँधुलो, न पहिलेको जस्तो कोलाहल छ ।

कसरी सम्भव होला त्यस्तो कहालीलाग्दो बजारलाई सवारीमुक्त गरेर पैदलयात्रीमैत्री बनाउन ? यसको अगुवाइ गरेका हुन् दिल्ली सरकार, उत्तर दिल्ली नगर निगम (एनडीएमसी) ले । यी दुई निकायको अग्रसरतामा करोलबाग क्षेत्रको १.७ किमि लामो मुख्य बजार अजमल खान रोडलाई एक महिनाअघि सवारीसाधनमुक्त घोषणा गरिएको हो । दिल्ली सरकारअन्तर्गतको सामाजिक कार्य विभाग (पीडब्लूडी) ले एनडीएमसीसँग मिलेर बजारलाई सवारीसाधनमुक्त बनाएपछि करोलबागको मुहार फेरिएको हो ।

सवारीसाधन बनाउका साथै बजारलाई व्यवस्थित र आकर्षक बनाउन ब्युटिफिकेसनलगाय अन्य कुरामा पनि त्यत्तिकै ध्यान दिइएको छ । सडकको बीचमा आकर्षक डिजाइनका सडकबत्ती ठड्याइएका छन् । सफासुग्घर पनि उस्तै । सवारी निषेध गरिएपछि किनमेलका लागि आएका ग्राहक हुन् वा अन्य सामान्य पैदलयात्री सहजै हिँडडुल गर्न सक्छन् ।

कसैलाई थकाइ लाग्यो भने ठाउँठाउँमा राखिएका कुर्सीमा आराम गर्न सक्छन् । पैदलयात्रीले पहिलेको जस्तो फुटपाथ व्यापारीहरूको तानातान र हैरानी पनि खेप्नु पर्दैन । पसलहरू दुई छेउमा मिलाएर राखिएका छन् । सबैजसो प्रवेश बिन्दुमा सवारीसाधनलाई रोक्न अवरोध बनाइएका छन् र सडकमा सेतो र पहेँलो धर्को लगाइएको छ । फुटपाथ पसल राख्न ६० वटा स्थान छुट्याइएका छन् ।

फुटपाथ व्यापारीका लागि सडकमा सेतो र पहेँलो धर्कोले छुट्याइएको छ । ती धर्को नाघ्न पाउँदैनन् । बाँकी बीचको पूरै भाग पैदलयात्रीका लागि छुट्याइएको छ ।

पैदलयात्रीलाई हैरानी वा असुरक्षा नहोस् भनेर नगरप्रहरी, करोल बाग व्यापारी संघका तर्फबाट सुरक्षाकर्मी पनि केही मिटरको दूरीमा तैनाथ गरिएका छन् । जथाभाबी फोहोर नगर्न र पैदलयात्रीलाई अवरोध नगर्न माइकिङ पनि गर्ने गरिएको छ । त्यहाँ भेटिएका लखनउ, उत्तरप्रदेशका भार्गव शर्मा धेरै पटक करोलबाग आए पनि पहिलो पटक सहज र आनन्द अनुभव भएको बताए । ‘सुरुमा त पत्याउनै सकिनँ, त्यस्तो अस्तव्यस्त बजार पनि यति व्यवस्थित होला भनेर तर जे होस्, पैदल नै बजार घुम्नेका लागि ठूलो राहत भयो,’ उनले भने ।

भारतीय सञ्चार माध्यमले एक महिनाको अवधिमै प्रदूषणको स्तरमा व्यापक गिरावट आएको जनाएका छन् । ‘सेन्टर फर साइन्स एन्ड इन्भ्वाइरेन्टमेन्ट’ ले गरेको एक अध्ययनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले सवारी साधन मुक्त गरिएको क्षेत्रमा प्रदूषणको मात्रा एक चौथाइले घटेको उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्