१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

इडिपस कम्प्लेक्समा ‘तिर्खा’

लेखनाथ — मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले भनेका थिए, ‘बाल्यकालको कुनै चरणमा विपरीतलिंगीका अभिभावकप्रति उसको यौनभावना जागृत हुन्छ ।’ यसलार्ई उनले इडिपस कम्प्लेक्स भनेका छन् । 

यही इडिपस कम्प्लेक्सलाई पोखरेली दर्शकले रंगमञ्चमा हेर्न पाउने भएका छन् । चे शंकरको निर्देशन र परिकल्पनामा नाटक ‘तिर्खा’ पोखरा थिएटरमा मञ्चन हुँदै छ । २० औं शताब्दीका महान् नाटककार युजिन ओनिलले नाटक लेखेका हुन् ।


नाटकमा पुलिट्जर र साहित्यमा नोबेल पुरस्कार विजेता ओनिलको ‘लङ डेज जर्नी इन टु नाइट’, ‘वियोन्ड दी युनिभर्स’, ‘अ विल्डरनेस’, ‘आना क्रिस्टी’ लगायत नाटक चर्र्चित छन् ।


सन् १९२४ मा न्यु इंग्ल्यान्डको ग्रामीण परिवेशलाई लिएर लेखिएको यो एक दु:खान्त नाटक हो । नाटक एक शताब्दीअघि लेखिए पनि वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको निर्देशक चे शंकर बताउँछन् ।


भन्छन्, ‘मातृत्वको अभावले सिर्जना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रको चाहना, त्यो प्राप्तिका लागि गरिने आसक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ ।’


नाटकको विषयवस्तु र प्रस्तुतिलाई मध्यनजर गर्दै १६ वर्षभन्दा माथिका दर्शकलाई मात्र देखाइँदै छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तन पोखरेली दर्शकले ‘तिर्खा’ मा फरक स्वाद पाउने बताउँछन् ।


नाटकमा पोखरेली कलाकार शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हुनेछ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?